

काठमाडाैं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।
आयोगले परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
आयोगले सामाखुसी कोरिडोरअन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै मुद्दा दर्ता गरेको हो । आयोगका अनुसार सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण सम्बन्धी ठेक्कामा अनियमितता भएको देखिएकाे छ ।
आयोगका अनुसार उक्त ढल निर्माणकाे ठेक्कामा समानान्तर सेवा प्रालिले सबैभन्दा कम मूल्य (करसहित १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा) कबोल गरे पनि मिलेमतोमा सो कम्पनीलाई अयोग्य ठहर गरिएको थियो। त्यसको सट्टा दोस्रो कम कबोल (२२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा) गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरिएको थियो । जसका कारण काठमाडौ महानगरपालिकालाई ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसाको हानि भएको आयोगले जनाएको छ ।
अख्तियारले परियारसहित ७ जनाविरूद्ध ४ करोड ३१ लाख ७२ हजार २ सय ८७ रुपैयाँ बिगो मागदाबी गरेको छ ।
याे पनि…