ओली–भण्डारी आमनेसामने हुँदा एमाले विभाजित-Sutra News

ओली–भण्डारी आमनेसामने हुँदा एमाले विभाजित

बुधबार, २८ जेष्ठ २०८२

बुधबार, २८ जेष्ठ २०८२

काठमाडौं । गएको २९ चैतमा एमालेको लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधनका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– केपी ओलीबिनाको अभियान चलाउनेले १५/२० वर्ष पर्खिनुपर्छ, अनि भेटिन्छ केपी ओलीविनाको एमाले ।



ओलीको यो बोली, त्यतिबेला आएको थियो जतिबेला पूर्वराष्ट्र विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन गतिविधि बढाउँदै थिइन् । जसको प्रभाव केन्द्र मात्रै होइन, प्रदेश तहका गतिविधिमा पनि देखिन थालेको थियो ।

जसबाट असन्तुष्ट ओलीले यस्तो अभिव्यक्ति दिएका थिए । उनले यसअघि पनि पार्टी बैठक र सार्वजनिक कार्यक्रमका मञ्चबाट ‘अनावश्यक महत्वाकांक्षा’ नराख्न भण्डारीलाई सुझाव दिँदै आएका थिए ।

तर, ओलीको चेतावनीयुक्त भनाइपछि पनि उनको गतिविधि भने रोकिएन ।

पछिल्लो समय भण्डारीले थप सक्रियता बढाएकी छिन् । उनी पार्टीका गतिविधिसँगै चीनसम्मको भ्रमणमा पुगेकी छिन् । चीन भ्रमण जाँदा उनले आफ्ना विश्वासिला नेताहरूलाई पनि सँगै लिएर गएकी थिइन् ।

चीन भ्रमणबाट फर्किएपछि उनको गतिविधि थप बढेको छ । उनले पूर्वी तराईका जिल्लाहरूलाई केन्द्रित गरी छलफल तथा भेटघाट कार्यक्रम गरेकी छिन् ।

जुन गतिविधिपछि ओली र भण्डारीबिच ‘वाक युद्ध’ चलेको छ । ओलीले भण्डारीको गतिविधिलाई ‘पार्टी विरोधी’ भन्दै विरोध गरेका छन् भने भण्डारीले ‘जनता र कार्यकर्ताको आकांक्षाअनुसार अगाडि बढ्नु आफ्नो कर्तव्य भएको’ भन्दै जवाफ फर्काएकी छिन् ।

ओली र भण्डारी ‘वाक युद्ध’मा देखिँदै गर्दा एमाले पार्टी पंक्ति भने क्रमशः विभाजित हुन थालेको छ । नेताहरू क्रमशः कित्ता समाएर धुव्रिकृत हुन थालेका छन् ।

नेता महेश बस्नेतले सार्वजनिकरुपमै पूर्व राष्ट्रपति भण्डारीलाई अध्यक्षको आकांक्षा नपाल्न चेतावनी दिएका छन् । भण्डारीको गतिविधि ‘लाजमर्दो’ भएको उनको टिप्पणी छ ।

“विद्या भण्डारीले राष्ट्रपतिको ८ वर्षे कार्यकालपछि फेरि सक्रिय दलगत राजनीतिमा फर्किने चाहना राख्नुभएको हो भने उपयुक्त हुँदैन, उहाँ त समग्र मुलुकको अभिभावक हो, नसके सम्पूर्ण वाम आन्दोलनको मार्गदर्शक वा एमालेको अभिभावकको भूमिका निर्वाह गर्नु नै शोभनीय हुन्छ”, बस्नेतले भनेका छन्, “सगरमाथा चढिसकेपछि लिपुलेक चढ्न तम्सिनुजस्तो अवस्था राजनीतिक व्यक्तित्वका लागि लाजमर्दो हुन सक्छ । बेलैमा सोचेर कदम चाल्नु उचित हुनेछ, नत्र इतिहासले गिज्याउनेछ ।”

यता अर्का नेता कर्णबहादुर थापा भने भण्डारीको विरोध गर्ने उछितो काढेका छन् । उनले ओलीको भक्तिभाव गाउनेको विरोध गरेका छन् ।

“नेपालको राजनीतिक इतिहासमा भीमसेन थापा र जङ्गबहादुर राणाजति शक्तिशाली मानिस कोही थिएनन्/छैनन् । यी दुवै व्यक्तिको मृत्युबारे समेत इतिहासकारका अलग–अलग धारणा रहेका छन् । सत्ताको भक्तिमा गीत गाउनेहरू हिजो पनि थिए । आज पनि छन् । सत्ताका सबै शक्तिलाई पराजित गरेर लोकतान्त्रिक व्यवस्था स्थापना भएको हो”, थापाले भनेका छन्, “आफ्नो स्वार्थका लागि विवेक शून्य हुनेहरूले अरू विवेकशीलहरूलाई आफ्नो पंक्तिमा उभिएन भनेर तथानाम नगरेको राम्रो हुन्छ ।”

महेश बस्नेत र कर्णबहादुर थापासँगै नेताहरू विष्णु रिमाल, गोकुल बास्कोटालगायतले पनि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । जसले तल्लो तहसम्मै नेता तथा कार्यकर्तालाई विभाजित बनाएको छ ।

७० वर्षे उमेर हदले बहस

ओली–भण्डारीबिच विवाद चल्दै गर्दा सतहमा ७० वर्षे उमेर हद र कार्यकालको एजेन्डा उठेको छ । जसमा नेताहरूले खुलेर विचार राख्न थालेका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उमेरहद कायम गरेर जानुपर्ने पक्षमा आफूलाई उभ्याएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, “७० वर्षे उमेर हद र दुई कार्यकालपछि डिस्कन्टिनिउ हुनपर्छ भन्ने हामीले लामै छलफल गरेर तय गरेको विषय थियो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा म छु ।”

पोखरेलले आउँदो अधिवेशनबाट ओलीलाई पार्टीबाट बिदा हुन आग्रह गरेका छन् । “तपाईं केपी ओली पनि आउँदो कार्यकालमा अध्यक्ष नहुनुहोस् । म पनि उमेरको हिसाबले ७० कटिसकेँ । यो मैले व्यक्तिगत रूपमा उठाएको मुद्दा होइन”, उनले अगाडि भनेका छन् ।

पोखरेलसँगै अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि ७० वर्षे उमेरहदको पक्षमा द्धढतापूर्वक देखिएका छन् । उनले विगतमा केही कारण निलम्बन गरिएको भए पनि उक्त व्यवस्था कायमै रहेको र जसलाई आवश्यक भएको तर्क गरेका छन् ।

“नेकपा एसबाट मुकुन्द न्यौपानेजीलाई प्रवेश गराउन तत्कालका लागि निलम्बन गरेर बाधा अड्काउ फुकाइए पनि महाधिवेशनले गरेको कार्यकारी पदमा ७० वर्षको उमेरहद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था अहिले पनि कायमै छ”, ज्ञवालीले भनेका छन् ।

२०७८ मंसिरमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनमा ओलीकै निम्ति पार्टी विधान–२०४९, लाई संशोधन गरिएको थियो । ‘महाधिवेशन हुँदा ७० वर्ष ननाघेको’ भन्ने व्याख्या गरेर ओली अध्यक्षमा दोहोरिएका थिए ।

जसलाई आधार बनाउँदै १९ जेठ ०८० मा बसेको सचिवालय बैठकले नेकपा एसका वरिष्ठ नेता मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउन ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गर्ने निर्णय गरेको थियो । जसमा विधान महाधिवेशनले निर्णय गर्ने भनिएको थियो ।

एमालेमा आगामी २० देखि २२ भदौमा पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । यदि विधान महाधिवेशनले यसअघिको प्रावधानलाई नै कायम गराएमा ओली स्वतः एमालेको राजनीतिबाट बिदा हुनुपर्नेछ । त्यस्तो अवस्थामा भण्डारी वा अर्को कुनै व्यक्तिको लागि माहौल बन्न सक्छ ।

याे पनि…

भण्डारी सक्रिय हुँदा किन बेचैन बने ओली ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट