

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गैरआवासायी नेपाली प्रेम गाहा मगरको एउटा भिडियो अन्तरवार्ता भाइरल छ । एक टेलिभिजनसँगको अन्तरवार्तामा उनले राष्ट्रपति रामचन्द्र पौडेलको छोरा, कांग्रेस महामन्त्री गगन थापासहित थुप्रै नेताबारे बोलेका छन् । उनले विभिन्न देशमा नेताहरुले गरेको लगानीको तथ्य आफूसँग भएको दाबी गरेका छन् ।
एनआरएनए युकेको अध्यक्षको रुपमा उपस्थित मगरले दिएको अभिव्यक्तिलाई धेरैले महत्वका साथ लिए । जुन अभिव्यक्तिलाई आधार मानेर कतिपय सञ्चार माध्यमले समाचार प्रकाशित गरे ।
तर, गाहा मगर स्वयं भने विवादमुक्त नभएको विषय बाहिर आएको छ । मगरले दाबी गरेअनुसार उनी एनआरएनए युकेको अध्यक्षसमेत नभएको खुलेको छ ।
मगरको अभिव्यक्ति चर्चामा आएपछि गैर आवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै मगरलाई ३ वर्षअघि २०७९ भदौ २८ नै पदबाट बर्खास्त गरिएको जनाएको हो । एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
उनका अनुसार तत्कालिन समय पनि संस्थाको हित विपरित कार्य गरेपछि उनलाई बर्खास्त गरिएको थियो ।