के फेरि दास या रैती हुन चाहन्छन् युवाहरू ?-Sutra News

के फेरि दास या रैती हुन चाहन्छन् युवाहरू ?

मंगलबार, २७ जेष्ठ २०८२

मंगलबार, २७ जेष्ठ २०८२

व्यक्तिले व्यक्तिलाई सम्पत्तिको रूपमा राख्ने/कजाउने/खरिदबिक्री गर्ने कामलाई दास प्रथा भनियो । अहिलेको २१औँ शताब्दीमा दास प्रथा वा दास शब्दको परिभाषामा परिवर्तन आएको छ । अहिले व्यक्ति/संस्था/पार्टी, समुदाय वा कुनै वर्ग विशेषलाई मानिदिएर उनीहरूको स्वार्थमा आफूलाई बदल्नु वा उनीहरूको आज्ञामा काम गर्नु पनि एक प्रकारले दासत्व स्वीकार गर्नु हो ।



राजाको रैती हुन स्वीकार गर्नेहरूले दासता स्वीकार गरेको भन्दा अतिशयोक्ति नहोला । पार्टी अध्यक्षले बोलेको कुरा नेता र कार्यकर्ताले मन नलागे पनि स्वीकार गर्नु दासता स्वीकार गरेको भन्दा फरक नपर्ला । समाजका हुनेखानेले हुँदा खानेलाई हेपेर कुनै काम गर्न बाध्य बनाउनु पनि दासत्व स्वीकार गर्न लगाउनु हो । अहिले दासताको परिभाषामा फरक आएको छ ।

१०४ वर्षसम्म नेपाली जनता राणाहरूको रैती भयो । राजा महेन्द्रले २०११ देखि २०२८ साल सम्म जनतालाई पञ्चायत व्यवस्था लादेर फेरि जनतालाई रैती बनाए । माओवादीले रैती हुन चाहेन उसले विद्रोह गर्‍यो । २०६२/६३ को जनआन्दोलन बाट अर्को ठुलो जन विद्रोह भो नेपाली जनता राजाको रैतीबाट फेरि स्वतन्त्र नागरिक बन्यो । अहिले फेरि राप्रपा र राजावादीहरू रैती हुनको लागि “राजा आऊ देश बचाऊ” भनेर प्रतिक्रान्ति गर्दैछन् ।

विश्व इतिहासमा क्रान्ति पछि प्रतिक्रान्ति भएका छन् । तर, प्रतिक्रान्तिले स्थायित्व पाएको कमै उदाहरण छन् । फ्रान्स र कतिपय युरोपेली मुलुकमा क्रान्तिबाट स्थापित भएको जनशासन विरूद्धमा प्रतिक्रान्ति भएको छ । कसले प्रतिक्रान्ति गर्छ भने पुरानो राज्यसत्ताबाट फाइदा लिइरहेका व्यक्तिहरू, पुरानो सत्ता स्वादका कारण प्रतिक्रान्तिमा होमिन तयार हुन्छन् ।

इतिहास छोडेर अगाडि हिँड्छ समय । फेरि पछाडि फर्किनका लागि त प्रतिक्रान्ति गर्नेहरूको उमेर पनि पहिलाको जवानी अवस्थामा फर्किन पर्‍यो नि ! त्यसैले बुढो इतिहासको मक्काएको डोरी समातेर बैतर्नी तर्न सकिन्न । सुख सयल समृद्धिको ढोका उघार्न पछाडि होइन, अगाडि बढ्नु छ । कुलीन वर्गको दास थियो मनुष्य । दासबाट मुक्ति भएकाहरूले फेरि दासै बन्न खोज्नु भनेको फेरि जंगली जीवन प्यारो लागे जस्तै हो । किन मन लाग्छ मानिसलाई युगले मेटेको दास प्रथामा फर्किन ?

नेपालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले १९८२ को वैशाख १ गतेबाट नेपालमा कानुनतः दास प्रथाको अन्त्य गरेको घोषणा गरेका थिए । उनले अब उप्रान्त नेपालमा कोही पनि दास/दासी अर्थात् कमरा कमारी नरहने ऐन नै बनाएर दास प्रथाको विधिवत अन्त्य गरे । नेपालमा राणा शासनको १ सय ४ वर्षको इतिहासमा भएका सुधारात्मक काममध्ये यो दास प्रथा अन्त्यलाई निकै सकारात्मक कामको रूपमा लिइन्छ । त्यति बेला यो घटनालाई नेपाली जनताले सर्वाधिक महत्त्व दिएको मानिन्छ । त्यतिबेला यो घटनाले नेपाली समाजमा युगान्तकारी परिवर्तन ल्याएको थियो ।

विश्वमा दास प्रथाको अन्त गराउने श्रेय अब्राहम लिंकनलाई जान्छ । यद्यपि, त्योभन्दा अघि अमेरिकी राजनेता थोमस जेफरसन जो १८०१ देखि १८०९ सम्म संयुक्त राज्य अमेरिकाको तेस्रो राष्ट्रपतिको रूपमा काम गरेका थिए, उनले दास प्रथाको विरूद्धमा सुरूवाती चरणमा काम गरेका थिए ।

यो २१औँ शताब्दीमा हरेक मानिस विचारले/कर्मले/भौतिक रूपले या सामाजिक दायित्व र निर्वाहको उद्देश्यले पूर्ण स्वतन्त्र छ र यसलाई त्यो देशको मूल कानुनले नै परिभाषित गरेको छ कि मानिस स्वतन्त्र छ । यो भन्नुको अर्थ एक स्वतन्त्र मानिस अर्को मानिस वा संघ संस्थाको दासता या दासत्वबाट मुक्त छ है भन्नू पनि हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट