

हालै, कैलालीको टिकापुरमा नाबालकलाई स्कुटर चलाउन किन दिएको भन्दै ट्राफिक प्रहरीले प्रश्न गर्दा स्कुटर धनी महिलाले प्रहरीलाई
“तँ” सम्बोधन गरेको बदलामा दुवै पक्षबिच हात हालाहाल भयो र दुवै झगडामा उत्रिए।
राजकुमारी शाह नाम गरेकी महिलाले नाबालकलाई बिना लाइसेन्स स्कुटर चलाउन दिनु सरासर गल्ती थियो। यति प्रश्न सोधपुछ गर्दा बर्दीमा रहेका राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक स्थलमा तथानाम गाली गर्नु महिलाको गल्ती देखिन्छ र आवेगमा संयमता अपनाएर कार्वाही प्रक्रिया अगाडि बढाउन पर्ने प्रहरीले उल्टाे महिलालाई हातपात गर्नु बर्दिधारी प्रहरीको पनि गल्ती देखिन्छ।
सबैभन्दा दुखको कुरो चाहिँ यो झगडालाई भिडियो बनाएर भाइरल बनाउने मनसाय कस्तो हो भन्ने प्रश्नमा प्रश्न तेर्सिन्छ। बर्दीका प्रहरीले भिडियो खिच्नुको उदेश्य थियो होला, गल्ती कस्को हो र कसरी गल्ती भो भन्ने प्रमाणका लागि।
ट्राफिक भएको सडकमा नाबालकलाई स्कुटर चलाउन दिनु चालकको लापरबाही हो। सडक सुरक्षा नीति नमान्नु हो। जोसुकै होस्, ट्राफिकले सडक सुरक्षा नीति उल्लंघन गर्नेलाई कार्वाही गर्छ नै।
हिजोआज हामी सोसल मिडिया चाहे टिकटक होस्, चाहे फेसबुक होस्, चाहे युट्युब होस् या अरू सामाजिक सन्जालमा के गर्दा आफू भाइरल होइन्छ भन्ने कुरामा धेरै ब्यस्त देखिन्छौ।
अहिलेको युवा मात्रै होइन, युवावय पार गरिसकेका प्रौढ वयमा पुगेकाहरुको पनि सन्जाल मोह थामिनसक्नु हुँदै गएको छ। अहिले राम्रो र असल कर्म गर्नेलाई कसैले चासो दिनन्, जो-जो खराब छ तिनीहरुनै चम्किरहेका हुन्छन्।
हामी बिपत्तिमा उद्दार र मद्धतको हात होइन, मोबाइलको क्यामरा तेर्स्याउछौ र भिडियो खिचेर सामाजिक सन्जालमा हाल्छौ। हामीलाई त्यो गर्दा किन आनन्द मिलिरहेको छ अहिलेको सबैभन्दा दु:खद कुरो त्यही हो।
बीभत्स दृश्य आफ्नो मोबाइलमा कैद गर्न ब्यस्त हामी कति जंगली छौ, यस्तै कुराले प्रमाणित गर्छ। सहयोगको लागि मानिस रोइरहेको हुन्छ। सहयोग दिनुपर्ने हातहरुले उल्टो याचना गर्ने मानिसको आँसुप्रती व्यंग्य गर्दै भिडियो खिच्न ब्यस्त देखिन्छ ।
यो अनिश्चितताको मानव जीवनमा कुनै पनि कुरा सूचना दिएर आउदैन। हरेक पल दुख र बिपत्तिका लागि हामी तयारी रहनुको विकल्प छैन।
जिन्दगी भनेकै नियमित आकस्मिकता हो। कुनै पनि बेला भैचालो आउन सक्छ। बाढीले सारा बस्ती बगाउन सक्छ। अनेकौं प्राकृतिक बिपत्ति आउन सक्छन्। हिंड्दै गरेको मानिस हिर्दयघातका कारण ढल्न सक्छ, घरमा आगो लाग्न सक्छ। कुनै अग्लो स्थानबाट मानिस लड्न सक्छ। कुनै पनि बेला मनुष्यले नचाहेको दुर्घटना वा भवितव्य हुन सक्छ। यसैलाइ भनिन्छ नियमित आकस्मिकता।
यस्ता बिपदका बेला मानिसहरूलाई सहयोग र उपचारको आवश्यकता हुन्छ नकि भिडियो र फोटो खिच्ने हुल ? वरिपरि झुम्मिएका मानिसहरु मोबाइल ठाडाे बनाउन थाल्छन् र भिडियो खिच्छन थाल्छन्। हामी सहयोग लागि तयार छैनौं तर दुर्घटना र भवितब्यको भिडियो र फोटो खिच्न भने हमेशा तयार छौं।
यो भन्दा अरु जंगली र बर्बरता के हुन सक्छ होला र ? आदिम प्रवृत्ति हो यो, जतिबेला मनुष्यहरु जंगली जिन्दगी भोग गर्थे। शिकारी युगमा मनुष्य पशुको मासु खोसाखोस गर्दै खान्थे। यो प्रवृत्ति त्यही युगको बिम्ब हो।
हामीमा माया, दया, सहयोग, सान्त्वना र सद्भावनाको भाव किन दिन दिनै मर्दै गएको छ ? आदिम युगमा मनुष्यले मनुष्यलाई चिर्पटले हिर्काएर मार्थे। अनि त्यो दारुण दृश्य हेर्न उपस्थित रहेका आदिम मानवहरु त्यो दृश्य देखेर, हेरेर आनन्द लिन्थे।
मनुष्यको यो आदिम प्रवृत्तिको अवशेष अहिलेसम्म पनि उस्तै छ। अहिले भिरमा खसेको मानिसहरूको कारुणिक दृश्य खिच्न ब्यस्त छौं, हामी उद्दारमा होइन। कति सेल्फिस छौं, हामी उद्दार र सहयोगको अपेक्षाले रोइरहेको मानिसको आँसु हाम्रो कमाइ खाने भाडाे बनेको छ वा भाइरल हुने बाटो बनिदिएको छ।
मनुष्य जातिमा प्रेम र दयाको भाव धेरै पछाडि बिकसित भएको हो। हामी जति आधुनिक र भौतिकताले सम्पन्न हुँदै गयौं, त्यतिनै स्वार्थन्धताले ग्रसित हुँदै गएका छौं।
हामी यति रमिते बन्न थालिसकेका छौं कि सत्यतथ्य कुरो बुझ्ने क्षमतामा नै हामीमा ह्रास भइसकेको छ। बिहान आँखा खोलेदेखि बेलुकी आँखा नचिम्लिएसम्म भिड, नाराजुलुस, जिन्दावाद र मुर्दावाद, सरकारको बिरोध, गालीगलौज, हत्या, बलात्कारका खबर, भ्रष्टाचारका आवाज, हिंसा र मनुष्यका आततायी क्रियाकलाप मात्रै देख्नुपर्ने र सुन्नुपर्ने बाध्यता छ।
हामी कसरी खराब मनुष्यलाई देवत्वकरण गरिरहे छौं र कसरी असल मान्छेलाई राक्षस बनाइरहे छौं भन्ने कुरा अहिलेको डिजिटल समयले आफै भनिरहेको छ।