

नेपाली गीत/सङ्गीतलाई आधुनिकतामा परिवर्तन गर्न त्यस बेलाका प्रसिद्ध समकालीन गायक/ सङ्गीतकारहरूमा नातिकाजी,नारायण गोपाल, प्रेम ध्वज प्रधान,बच्चु कैलाश, भक्तराज,योगेश वैद्य,पुष्प नेपाली, तारादेवे, अरुणा लामा आदि व्यक्तित्वहरूको महत्त्वपूर्ण योगदान छ।
दार्जिलिङबाट सङ्गीतकार गोपाल योन्जनको प्रवेश पछि नारायण गोपाल अझै चम्किए। नारायण गोपाल चम्किनुपुर्व प्रेम ध्वज प्रधानको स्वरलाई “गोल्डेन भ्वाइस अफ नेपाल” भनेर नेपाली जनताले नामाङ्कन गरिसकेको अवस्थामा बच्चु कैलाशको गीतले साधारणको घरबार देखि दरबारसम्मलाई अत्यन्तै प्रभावित बनाइसकेको थियो।
समकालीन गायकहरूको भन्दा एउटा पृथक स्वर थियो बच्चु कैलाशको, त्यसैले उनी थोरै गाएर पनि अमर बने । बच्चु कैलाशका धेरै गीत रेकर्डिङ भएका छैनन् । जति छन् ती आफैमा जीवन्त छन्, आफै गीत रचना गर्ने, आफै आफ्नो गीतमा सङ्गीत भर्ने, र आफै गाउने गला पाएका बच्चु कैलाश नेपाली साङ्गीतिक आकाशका तारा हुन जो हरेक साँझ धर्तीमाथिको आकाशमा झुल्किने गर्छ र हरेक मिर्मिरेमा क्षितिजमा डुब्ने गर्छ । एउटा पृथक जादु छ उनको स्वरमा जो अरुसग थिएन र अझैसम्म पनि छैन। त्यही फरकपनले हो उनलाई नेपाली जनताले कहिल्यै बिर्सिन नसकेको।
उनका गीतहरूले प्रायः फरक दृष्टिकोणबाट विषयलाई उजागर गर्छ र त्यो अद्वितीय स्वरको अमरताले उनलाई अत्यधिक लोकप्रिय बनायो त्यति बेला नै। समकालीनहरुसग यदि उनी प्रतिस्पर्धामा नै लागेर गुणात्मक, कलात्मक र सङ्ख्यात्मकमा ध्यान दिएका भए आज ८७ वर्षको दीर्घ जीवन पाएका बच्चु कैलाशले स्वर सम्राट भनेर चिनिएका नारायण गोपाललाई पनि माथ गर्न सक्ने थिए। फरक यति थियो कि समकालीनहरूले प्रगतिको भर्याङ उक्लँदै गर्दा उनी प्रगतिको धुरी उक्लनेहरूलाई आफू धरातलमा बसेर हेरेर रमाए र आफ्नो गतिलाई ब्रेक लगाए।
उनले किन गाउन छोडे ? आजसम्म यो रहस्यमय नै छ। त्यति बेला दरबारको शक्ति भन्दा माथि देश पनि थिएन। दरबारीयालाइ सङ्गीत सिकाउने व्यक्ति हुन बच्चु कैलाश। तर गायनलाई उनले निरन्तरता दिन रुचाएनन्। भक्तराजले जिब्रोमा क्यान्सर लागेर जिब्रो काटिँदासम्म गाउन छोडेनन्। बच्चु कैलाश त ती भाग्यमानी कलाकार हुन जो अभाव र दबाब बिना फक्रिरहेको लेकाली फूल थिए जसको हरेक पत्रमा युगिन सुगन्ध थियो।
बच्चु कैलाशको जन्म विक्रम सम्बत १९९५ साल साउनमा सापतेल, छोरम्बु गाउँ विकास समिति, खोटाङमा भएको थियो। उनी कर्णबहादुर बस्नेतका ६ भाइ छोराहरूमध्येका जेष्ठ सुपुत्र हुन। आफू जन्मिएको १३औँ दिनमा उनले आफ्नी आमा कृष्ण कुमारी बस्नेत गुमाएका थिए। र बाबुले बिहे गरेका सौतेनी आमाले सानैदेखि हुर्काइन बच्चु कैलाशलाई । बच्चु कैलाश आफू ५ वर्षको हुँदामा नै सङ्गीतको रसमा भिजिसकेका थिए तर आफ्ना पिता, सौतेनी आमा र काकाहरूले आफ्नो गाउने रुचिलाई मन पराइदिएनन् र गायन क्षेत्रमा घरायसी सहयोग पनि पाउन सकेनन् । त्यसैले पनि उनमा यो बिरक्ती पन सानैदेखि उब्जिएको हुनुपर्छ र गायकीलाई एउटा चुचुरोसम्म सफल अवतरण नगराई विश्राम लिइदिएको हुनसक्छ ।
युवा उमेरमा उनी आफ्नो मीठो स्वरका कारण आफ्ना समकालीन साथीहरूबिच निकै लोकप्रिय थिए र पछि आठ कक्षामा पढ्दा रेडियो नेपाल गएर स्वर परीक्षा दिएका थिए “निरस न हौ साथी, आँसु आँसुमै डुबेको छ जीवन” भन्ने गीतमा । यो गीतको रचना सङ्गीत र स्वर उनको आफ्नै थियो । त्यति बेला सबैलाई आफ्नो प्रतिभा देखाउने माध्यम भनेको रेडियो नेपाल नै थियो। यसै सिलसिलामा त्यति बेलाका नाम चलेका गायक मास्टर रत्नदास प्रकाशसँग पनि उनको सङ्गत भयो। रत्नदासले बच्चु कैलाशको गायकीलाई खुलेरै प्रशंसा गर्थे।
‘कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन’, यो गीत बच्चु कैलाशको आफ्नै सङ्गीत र स्वरमा गीतकार सुरेन्द्र शाहको शब्दमा गुन्जिएको प्रसिद्ध गीत हो।, ‘टाढा टाढा जानु छ साथी एक फेर हाँसिदेऊ’,यो गीतमा बच्चु कैलाशको शब्द र सङ्गीत रहेको छ, उनले गाएको सबैभन्दा लोकप्रिय गीतको कोटिमा पर्ने मध्यको गीत थियो यो। त्यति बेला नारायण गोपालका गीत भन्दा बच्चुका यस्ता गीत हिट थिए। अनि आफ्नै संगीत र शब्दमा अर्को गीत ‘जुनेली रातमा दिल खोलि दोहोरी गाउन मन लाग्यो’ जस्ता अविस्मरणीय गीतले त्यति बेला का श्रोताको मन मुटु नै हल्लाउँथे ।
‘यो हो गीत तिमीलाई, यो हो प्रीत तिमीलाई’, बच्चु कैलाशको आफ्नै स्वर सङ्गीत रहेको यो गीत पनि असाध्य मीठो छ। शान्ति शाहको शब्द,रहेको ‘त्यो आँखाले लौ न मलाइ मार्यो, त्यो बोलिले लौन लठ्ठ पार्यो’, भन्ने बोलको गीत आजका युवा ढुकढुकीले गाउने गीत बनेको छ।
‘बिर्सेको भए बितेका कुरा पापीको मनले’ आफ्नै स्वर सङ्गीत र एम.बी.बी.शाहको शब्द रहेको यो गीतमा माया र प्रेमको उच्चतम स्वर बिम्बित भएको छ।, नातिकाजीको संगीत रहेको ‘तिमिले तै हैन तिम्रा भाकहारुले मेरो मुटु छोइसकेछन्’, गीतकार क्षेत्र प्रताप अधिकारीको शब्दमा उनिएको अर्को यो गीतले प्रेमील हिर्दयलाइ नै झङ्कृत तुल्याउँछ।, ‘लर्के जोबन गएन माया नलाई भएन’, पुष्प नेपालीसँगको दोहोरीमा गाउनु भएको त्यति बेलाको यो लोकगीत खुबै रमाइलो पाराको छ।
बच्चु कैलाश सङ्गीतमा पनि उतिकै उत्कृष्ट थिए र त्यति नै राम्रो सङ्गीत शिक्षक थिए। उनले कवि म. बी. बी. शाह र गीतकार जी शाहलाई सङ्गीत सिकाएका थिए। जीवनको लगभग १५-१६ वर्ष जति मात्रै उनले नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो जादुगरी कला देखाए र विश्राम लिए। उनले पछिल्लो रेकर्ड गरेको गीत चाहिँ कवि कन्चन पुडासैनीको शब्द र सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीतमा रहेको
” हिर्दयमा बाटा हुन्छन् ” भन्ने जानकारीमा आएको छ। त्यो भन्दा अगाडि उहाँको रेकर्डेड गीत २०४७ साल मा भूपेन्द्र रायमाझीको संगीत गरेको चलचित्र मनकामनामा “फुल टिपेर मायाको” भन्ने गीत गाउनुभएको हो।
त्यसपछि उनको स्वरमा अर्को कुनै नयाँ गीत रेकर्डिङ भएको जानकारीमा आएको छैन। उनी प्रचारप्रसारबाट बिलकुलै अलग छन्। उनी कुनै टेलिभिजन पत्रकारलाई अन्तर्वार्ता दिदैनन। उनी मौन छन्। उनी राजनीतिक गोष्ठी, प्रचारबाजी, सभा,सम्मेलन, भाषण, विमोचन, व्याख्यान देखि टाढा रहन चाहन्छन्। समग्रमा भन्नुपर्दा गायक बच्चु कैलाश नेपाली सङ्गीतका मौन आकाश हुन । सर्वत्र छ,सर्वव्यापक छ तर ! चुपचाप छ त्यो आकाश अनि ती आकाश हुन गायक बच्चु कैलाश !
उनले स्वरबद्ध गरेका केही अमर गीतहरू:
१.कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
२.तिमिले त हैन तिम्रा आँखाहरूले
३.टाढा टाढा जानु छ साथी एक फेर हाँसिदेऊ
४.त्यो आँखाले लौन मलाई मार्यो
५.कसरी टुक्री गई गएन यो कुरा बिन्ती नभन
६.म फूल हैन मानिस भई विरह बोल्दछु
७.हृदय भरिको मेरो, शुभकामना तिमीलाई
८.हाँस खेल गर्दा बसेछ दिल, सम्झाउने कसरी
९.बिपनीका सारा कथा, सपनीमा आई रोलान्
१०.भो भो नरो जुनेली चरी हाम्रो पालो आइपुग्यो अब त
११. फूल टिपेर मायाको
१२. हिर्दयमा बाटा हुन्छन्
सूचना श्रोत : बच्चु कैलाश फेसबुक पेज, गायक बच्चु कैलाशसँगको प्रत्यक्ष भेट र छोटो अन्तर्वार्ता बि सं २०४८ साल फागुन । टेलिफोन वार्ता सङ्गीतकार न्ह्यु बज्राचार्य, भूपेन्द्र रायमाझी र गायिका लोचन भट्टराई मिति २०८२ जेष्ठ २३ गते