

आज विश्व वातावरण दिवस। पृथ्वीको स्वच्छतालाई जीवित राखे मात्रै मानिसको भविष्य सुनिश्चित रहनसक्छ भन्ने चेतनाको बिकास गर्ने संकल्पको दिन। मानिसले धर्तीलाई आमा जस्तै पुज्यो भने मात्रै उसको जीवनको निरन्तरता पृथ्वीमा कायम रहन सक्छ, तर पृथ्वीको शत्रु नै मानिस भैरहेको आजको युगमा पृथ्वीको अनिश्चितता र अनिस्टताको जिम्मेवारी मानिस भन्दा अरु कोहि छैन।
भौतिक उन्नतिको शिखर जति उक्लिए पनि मानिसको वासस्थान पृथ्वी नै हो, जमिन नै हो। धर्ती छोडेर उ कतै भाग्न सक्तैन। त्यसैले पृथ्वीको रक्षा नै मानिसको आफ्नो जीवन रक्षा हो।
हिमालयको काखमा अवस्थित एउटा सुन्दर देश नेपाल, जो सानै भए पनि विश्वको आँखामा हामी हीरा जस्तै छौं। हामीसँग संसारको सबैभन्दा अग्लो पर्वत सगरमाथा छ। हामीसँग जलवायु बिबिधता छ। र सबैभन्दा ठूलो कुरा हामीसँग अथाह पानीको श्रोत छ।
हिमाल छ र त पानी छ। पानी छ र त जगत छ, जगत छ र त हामी छौं। जहाँ पर्वत छ, त्यहाँ जैविक बिबिधता छ। जैविक बिबिधताको हिसाबले हामी सबैभन्दा हाम्रो धर्ती सबैभन्दा उत्तम धर्ती हो। पर्वत भएको कारण नै हो, पर्यटकको नजरमा हामीले एउटा सुन्दर देशको रूपमा परिचय पाएका छौं।
पर्वत र पर्यटन अनि स्वच्छ पर्यावरणका कारण नेपाललाई पर्यटनको दृष्टिकोणले पश्चिमीहरुले असाध्य मन पराउछन्। हामीसँग ६ वटा ऋतु छन्। हरेक ऋतु हाम्रो भूगोलसग अन्योन्याश्रीत छ।
संसारको सात समुन्द्र हामीले नै भरेका हौँ। हाम्रै हिमाल पग्लिएर भरिएका हुन्, ती भिमकाय समुन्द्रका खाडलहरु। संसारको समुन्द्र भर्ने पानी भएको हाम्रो देश, तर हामी आफैंले भने पानीको उपयोग नगरेकै हो। एक पलमा खर्बौं घन मिटर पानी हाम्रा हिमनदीबाट उत्पादन हुन्छ, जो हामीलाई छोडेर बगिरहेका छन्।
हामीलाई छोडेर भागिरहेका ती भागिरथीहरुलाई खै त हामीले उपयोग गर्न जानेको? हरेक पल हामी गुमाइरहेका छौं, त्यो पानीको अनमोल शक्ति। कहि नभएको पानीको मीठो मुहान हामीसँग छ। हाम्रै ओठलाई सुक्खा बनाएर कतै दुर देशमा भागिरहेका छन्, अनमोल कालीगण्डकीहरु।
अबको नेपालको उन्नति पानीको युगिन उपयोगमा मात्रै सम्भव छ। हामीले पानीलाई अमृत मानेर यसको बिश्वउपयोगका लागि संसारसँग हातेमालो गर्न सक्नुपर्छ, जस्तो खाडिमुलुकका तेलका कुवाहरुका कारण आज ती देश सम्पन्न छन्।
आउँदो शताब्दीमा यदि युद्ध भयो भने त्यो पानीको लागि हुनेछ। तेलका लागि कयौ युद्ध भए र अझैसम्म भैरहेका छन्। तेल सकिदै गएपछि तेलको स्थान पानीले लिने छ। एकदिन तेल सकिन्छ र तेलबाट धनी बनेका देशहरूले भोकमरीको सामना गर्नुपर्ने छ।
प्रकृतिमा तेल सकिए पनि पानी भने कहिले सकिँदैन। हामीसँग पानी छ, धेरै पानी छ, त्यसैले हामी धनी छौं। यदि पानीको सहि उपयोग गर्न सकियो भने हामी बिश्वका धनीमा गणना हुने छौं। पर्यावरण र पर्यटन एक अर्कासँग अन्योन्याश्रीत छन्। प्रकृति हराभरा भएको अवस्थामा मात्रै पर्यटन आउने हुन्।
नेपालको जैविक बिबिधता संसारको सबैभन्दा उत्तम र अवलोकन योग्य छ। बिश्व सम्पदा सुचीमा सुचिकृत हाम्रा सांस्कृतिक र प्राकृतिक वैभवताहरुलाई मात्रै हामीले जोगाउन सक्यौ भने त्यो नै हामीलाई सम्पन्न बनाउन सक्ने राज्यको आधार बन्न सक्छ।
हामीसँग भएका लामा-लामा हिमनदीहरु हाम्रो भाग्य निर्माणका अथाह श्रोत हुन्। अब नेपालले उर्जा बेच्ने हो। अब नेपालले पानी बेच्ने हो। प्रकृतिले दिएको यो भन्दा अनुपम उपहार अर्को हुनै सक्तैन। त्रीयासी हजार मेघावाट बिजुली उत्पादन गरेर चीन, भारत र बङलादेशलाई बेच्ने उदेश्य लिएर यदि कोहि नेता यो देशमा अगाडि आउँछ र कार्य गर्छ भने उ नै यो देशको महान नेता हुनसक्छ।
आउँदो शताब्दीमा तेलको विकल्पको रूपमा विद्युत मात्रै सर्वस्वीकार्य हुनेछ। त्यो उर्जाको मुहान नेपाल एकमात्रै देश हुने छ।
पानी त शक्ति हो। हामीसँग कति शक्ति छ भन्ने कुरा बुझेर पनि हामी मौन बसिरहेका छौं। उर्जामा लगानी गर्न खास गरेर दुई छिमेकी देश चीन र भारत हर समय तयारी अवस्थामा छन्। हामीले केवल आव्हान मात्रै गर्न जान्नुपर्छ। चीनसँग नजिक रहेका नेपालका हिमनदीहरुमा विद्युत उत्पादन गर्न हामी चीनलाई नै आव्हान गरुँ र भारतसँग सीमा जोडिएका पहाडी भु-भागका नदीहरुमा बिजुली उत्पादन गर्न भारतसँग सहकार्य गरुँ।