बैँस त यस्तो पो हुनुपर्छ (निबन्ध)-Sutra News

बैँस त यस्तो पो हुनुपर्छ (निबन्ध)

शनिबार, १७ जेष्ठ २०८२

शनिबार, १७ जेष्ठ २०८२

बैँस मुस्कान हो। बैँस जवानी हो। बैँस त बैशाख हो। फूलहरु फुल्छन्। धरती हरियो हुन्छिन्। पालुवा पलाउँछन् हागाहरुमा। मन्जरीमा माहुरी आएर बस्छे। कोपिलामय देखिन्छ यो जगत। रमाइलो लाग्छ। मनको तारमा धरतीको झन्कार मिल्छ। बैँस जवानीको उभार हो। बैँस निर्मल पानीले भरिएको हिमताल हो। हिम चट्टान फोरेर बाहिर उम्किन खोज्छ निर्मल धारा।



तर सम्हालेर राख्छे लहरौ लाख धारालाई धरतीले र फुटदैन हिमताल हम्मेसी। हिमताल फुटेको बहुत कम सुन्नमा आउँछ किनभने प्रकृतिमा पनि अनुशासन छ। चराचर जगत सारा अनुशासनमा आवद्ध छ। पूर्ण जून त पूर्णिमामा मात्रै उदाउँछ। उस्ले कुर्नुपर्छ आफ्नो बैँस देखाउन तीस रात। बैँस आवेग होइन यो त शुभकर्मका लागि प्रकृतिले दिएकी बल हो। यो सम्प्राप्ती हो। यो भविष्यका लागि चाहिने बलको संचिति पनि हो।

तिमी बैँसको प्रबेगलाई दुरुपयोग गर्छौ। संसारका नियोजित विध्वंसहरु बैँसको दुरुपयोग हो। बैँस कोमल किरण जस्तै कल्लोल हुनुपर्ने हो, तर बैँस निरीह नारीको यौन शोषणमा प्रयोग हुन्छ भने तिम्रो त्यो बैँस, बैँस नभएर बलेर निभेको कोइला हो। बैँस ताकत हो। बैँस जोस हो। बैँस आँट हो। बैँस फुर्ती हो।

तर किन मानिसहरू प्रकृतिको यो सुन्दर मुस्कानलाई घृणित कार्यमा प्रयोग गरिरहेछन् ?

बैँसकै कारणले हो हिजो दुर्योधनले द्रौपतीलाई जुवाको खालमा बेश्या भनेको। बैँसकै कारणले हो हिजो हिटलरले ६० लाख यहुदीलाई एउटै चिहानमा पुरेको।

बैँस शक्तिको अर्को रुप हो। त्यही बैँस हो नि हिजो बुद्धमा पनि आयो र त्यही बैँस हो भियतनामका होचिमिन्हमा पनि आयो। त्यही बैँस हो युगान्डाका इदी अमिनमा पनि आयो तर इदिअमिन मानिसका मासु खान्थे। त्यही बैँस हो साउदी अरबका ओसामा बिन लादेनमा पनि आयो तर त्यही बैँस हो भारतका गान्धीजीमा पनि आएको थियो।

बैँस, यो त उन्नतिका लागि खोलिएको सुमार्ग हो। यो त निर्माणका लागि हालिएको पुल हो। यो त अगाडिको कठिन जिन्दगी देखाउने ऐना हो। यो हो बैशाखी सपना जीवन पारी तिम्ले थुप्रैपटक हेमन्त शिशिरको सामना गर्नपर्छ है भनेर दिएको बाटो खर्च पो होत बैँस, तर के थाहा तिमी बैँसलाई उन्मादमा बदल्छौ भन्ने !

के थाहा तिम्रो लागि बैँस सडकमा हिड्ने नारीलाई जिब्रो पडकाउनमा खर्च हुन्छ !, के थाहा तिम्रो बैँस कसैको अपहरण र डन भनेर चिनिनुमा खर्च हुन्छ, के थाहा तिम्रो बैँस ओठको लिपिस्टिकमा मात्रै अनि सुडा्ैल तिघ्रा र नितम्ब देखाएर भाले पुरुषको नजर आफूतिर आकर्षण गर्नमा मात्रै खर्च हुन्छ ! के थाहा तिम्रो बैँस अबैध सन्तानलाई तुहाएर मार्न अहिलेका महङ्गो नर्सिङ होममा गएर टुंगिन्छ भन्ने !

बैँस जानिएन भने खरबारीमा लागेको आगो हो। यो एकैपटक बल्छ र निस्सार निभ्छ। यस्को न्यानोले कसैलाई सेक्तैन। यो सिर्फ ज्वाला हो। खरानी मात्रै रहन्छ जलेर ! तर घरको छानो त उदाङ्ग रहन्छ किनभने खरानीले घर छाइदैन। बैँस जानिएन भने बन्दुकमा भरिएको बारुद हो। सहि निसानामा पर्यो भने यो सुरक्षा कवच पनि हो।

बैँस उर्जा हो र मानिस यो उर्जाशील समयलाई उपयोगी बनाउनतिर भन्दा पनि आफ्नो शक्ति प्रदर्शन तिर लाग्छ। बैशमा मानिस सुबाटाे तिर भन्दा पनि कुबाटाे तिर बढी आकर्षक हुन्छ। बैँस पोखेर पछुताउनेहरुको भिडमा मैले तिम्लाई कहिले पनि भेट्न नपरोस।

बैँस त शक्ति हो, बैँस त आगो हो, बैँस त झिल्को हो, बल्छ धपक्कै। उज्यालो देखाउने शक्ति दिएको हो भगवान (प्रकृति) ले तिमिलाई, मलाई अनि उनीलाई र हामी सबैलाई। बैँस भेल हो। भेल शक्तिशाली हुन्छ। किनार जति सबै बगाएर लैजानी हो भने फेरि कसरी बग्नु र जीवनभरीलाई। किनारा सुरक्षा गर्नुपर्छ बेगले। किनारा भत्काउने होइन भर्नुपर्छ बाढीले। बाटो त समुन्द्रसम्म मिसिने राजमार्ग हो तर प्रबेग र आवेगले थुनियो भने जम्नुपर्छ खुम्चिनु पर्छ।

तिमी एउटा बैँस देउ मलाई। म तिमीलाई सिङ्गै सिर्जनात्मक जिन्दगी दिन्छु। सिङ्गो जिन्दगी भन्दा धेरै उर्जावान हुन्छ एउटा बैँस। मीठो हुन्छ बैँस। स्वादिलो हुन्छ बैँस। बैशमै फुल्छन् धेरै सपनाहरू। बैशाख मेरो जुनेली जीवन। उत्ताउलो भए भने पोखिन्छ।

बैँस मध्याह्न हो। सबैभन्दा उर्जा उत्फुल्लीत पल। मादमा मोहित म, बैँशले झिलिमिली म। के म पनि बैँशमा कुखुराको भाले जस्तै कुर्लिदै, बास्दै, उफ्रिदै सिउर रातो पारेर पोथी बटुल्दै हिंड्नु ? जवानी त किराहरुलाई पनि आउँछ। खोइ के गरेर बैँस बोकेर हिंड्ने कमिलाहरुले यहाँ ? खै के गरि कोइली बाठाे भएर, जब बच्चा कोरल्ने फुल पनि कागको गुडमा गएर पार्छे।

बैँस त मखमली किरण जस्तै कलकल हुनुपर्छ।

बैँस त शीतल शीत जस्तै कोमल हुनुपर्छ। बैँस त बैशाख जस्तै भरिलो र जुन जस्तै शितल शान्त कोमल हुनुपर्छ, सम्यमित र
सम्पोषित हुनुपर्छ। तर हाम्रो बैँस भाले खोज्दै रन्थनिएर हिड्ने पोथी कुखुरी जस्तो पो छ !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट