

काठमाडाैं । आइतबार भक्तपुरको सुर्यविनायकमा मृत अवस्थामा फेला परेकी रोशनी शाहीले लेखेको सुसाइड नोटमा छोराको लागि सम्बोधन गरिएको पाइएको छ। घटनास्थलमा भेटिएको दुई पेज लामो नोटको ‘परीक्षण’ गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेले बताए।
शाही जेठ ११ मा दिउँसो सुर्यविनायक नगरपालिका–३ स्थित आफू बस्ने फ्ल्याटमा मृत अवस्थामा फेला परेकी थिइन्। बालकोट वृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा शवसँगै भेटिएको नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गरेकी छन्।
उनले सुसाइड गर्दा पति चित्रजंग शाही एक गैरसरकारी संस्थाको जागिरका क्रममा विराटनगरमा थिए।
छोराको लागी केही गर्न नसकेको भन्दै उनले लेखेकी छन्– ‘जीवनदेखि हार खाएँ।’ उनका एकमात्र छोरा अहिले अमेरिकामा छन्।
नोटमा लेखिएको छ– ‘छोरा, मैले तिम्रो भविष्यको लागी केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ, तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु सोचेको थिएँ। खुशी भएर बाँच्नु।’ उनले बाँकेको कोहलपुरमा भएको १७ कट्ठा सम्पत्तिबारे पनि उल्लेख गरेकी छन्।
डिप्रेसनको औषधी खाने हुनाले ढोका फोडेर हेर्न चित्रजंगले नै आग्रह गरेपछि घरधनीले प्रहरीलाई खबर गरे। परिसर भक्तपुरका डीएसपी नेउपाने भन्छन्– ‘हामीले जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर हेर्दा उहाँ मृत अवस्थामा हुनुहुन्थ्यो।’
५० वर्षीया रोशनीले ओभर डोज औषधी खाएको आशङ्का गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।