

हिँड्दा हिँड्दै गल्तीले एउटा अर्कै गल्लीमा छिरेछु । गल्ली भित्र घरहरू यति जोडिएका छन् कि कतै देख्दिन एउटा सानो दुलो, जहाँबाट अलिकति हावा छिरोस्, अलिकति घाम छिरोस्, अनि अलिकति जुनको उज्यालो छिरोस् । गल्ली छिरेपछि मलाई त श्वास नै फेर्न गाह्रो जस्तो भो। कसरी बस्लान् यहाँका मानिसहरू यस्तो अँध्यारो गल्लीमा।
गल्लीमा छिर्दै गर्दा अन्दाजी साठी नाघेको कम वयमै यति बुढो देखिएको मानिस फुत्त साइकल चढेर आयो । मेरो पछाडि घण्टी बजायो। म अलिक सडक बिचमै रहेछु। होस नै भएन। गल्ली भित्र छिरेको मात्रै के थिए, पार्दापार्दैको नयाँ रक्सीको गन्ध आयो। यस्लाइ खासै गन्ध भनिहाल्न पनि मिल्दैन आखिर खाने चिज न पर्यो य पनि ।
त्यो मान्छे साइकल लिएर म भन्दा करिब बिस हात अगाडि रोकियो। साइकल अड्यायो। टोपी झिकेर मुहारको पसिना पुछ्यो र फुत्त भित्र छिर्यो। गल्ली निकै लामो छ । मानौँ एउटा अँध्यारो पुरानो सुरुङ जस्तो
उज्यालोले पर मूल सडक देखि नै पछ्याउँछ जो यो गल्ली भित्र छिर्छ। मानिसहरूको आवतजावत पनि त्यति छैन । सानो आवाजले बोल्यो भने पनि यहाँ ठुलो सुनिदोरहेछ। एउटा अग्लो घरको छिडि मुनि छिरेको त्यो साइकिलवाला केही खानेकुरा चपाउँदै अकस्मात् बाहिर निस्कियो। म बिस्तारै बिस्तारै त्यहाँको मौनता निहाल्दै हिँडिरहनु उसलाई अचम्म लागेछ र सोधे -” ए छौ नेवा : ख ? मैले बुझिन र अलमल परे । फेरि उनले नेपालीमा सोधे-
“तपाईँ नेवार हो कि जस्तो लागेर बोलेको” खोइ किन पो मलाई मुसुक्क हाँस्न मन लाग्यो भित्रैबाट । हाँसिदिए फिस्स र भने- “म नेवार त हु तर नेवारी बोल्न नआउने पहाडी नेवार” ती पनि फिस्स हासे।
म रोकिए । उनी पनि रोकिए। हामी दुवै आमनेसामुने भयौ। अलिक वर आएर कुरा गर्न थालेपछि उनको मुखबाट आलो रक्सीको हरक आयो। तर त्यति धेरै नमिठो गन्ध चैँ होइन है ।
तिनको मुखबाट अघि सडक नै मगमगाउने गरेर आएको नयाँ रक्सीको बासनाले मलाई पनि तलतल जगायो। दिउसै छ के पिउनु जस्तो पनि लाग्यो। “तातो रक्सीले अलिकति मजा दिइरहेको छ”
उन्को कुराले मेरो मुखमा पानी आयो। मलाई पनि पिउन मन लागेको छ भनेर भन्न सकिन। मन मनले सोचे यिनी गल्लीबाहिर निस्केपछि म त्यही छाडिमा खुसुक्क छिर्छु र तातो रक्सी पिउँछु।
उनी साइकल डाेर्याउदै गल्ली बाहिर निस्किए। म त्यो गल्लीको छिडि अगाडि उभिन पुगे।
कस्तो रमाइलो दृश्य देखे…..वा.. रे.. वा
नेवारी खाना । छोयला, कचिला, मम, मासको बारा, गेडागुडीको क्वाटि, राँगोको जिब्रो फ्राई, हरियो लसुन सराबरी गरेर सादेको भटमास आहा ! बाहिर बसेर एक छिन टोलाएको मात्रै के थिए एउटी भर्खरै एक्काइस बाइस वर्ष लागेकी बैश भएकी नेवार्नी मैचाले बोलाइन।
-” छौ नेवा ख दाजु ” मैले अघि नै ती दाजुसँग कुरा गर्दा यसको अर्थ बुझिसकेको थिए। फेरि त्यही कुरो दोर्याए।
-नेवा ख तर पहाडी नेवा ।
तिनी मुसुक्क हाँसिन र भनिन ए हाम्रै जातभातको पो हुनुहुदोरहेछ। आफ्नो जात मिल्यो भने यो सहरमा अर्कै स्नेह मिल्दिरहेछ। भित्र छिरे। त्यहाँको खानेकुराले असाध्य लोभ्यायो। अनि सबैभन्दा लोभ्यायो यी नेवा नारीको मीठो बोलिवचनले। यिनको नव यौवनाले। यिनको मीठो मिजासले। अपनत्वको सजीवताले झनै नजिक पुर्यायो। मानौँ यीनिसँगको मेरो दोस्ती धेरै पुरानो हो । दसैँ नजिक आएकोले घरमा मरमसला र मिल्यो भने एउटा सानो खसी डाेर्याउला भन्ने सुरले कान्तिपुर आएको।
लामो मेच थियो। हाम्रो पहाडी स्कुलमा बसेर पढ्ने बेन्च जस्तै । अलिकति थकाइ पनि लागेको थियो। आजै गाउँबाट आएको। भोकै थिए। क्षेत्रपाटिको सुकुमानको भात होटेलमा खाना खान्छु भनेको सुकु भेट भएन।त्यसकी बुहारीको मिजास अलिक छुचो छ । बुहारी चैँ अलिक महङ्या पनि छे। भादगाउँलेको पसलमा लुगाफाटो किन्नु थियो। नजानेर एक्कासि यो गल्लीमा छिरे …। मेरो कुराले नेवा: नानीलाई छोएछ। म:म एक प्लेट चिउरा कचिला र छोयला अगाडि ल्याएर राखिदिइन। खास त मैले मागेको पनि होइन उनले नै “तपाईँलाई बेस्सरी भोग लागेको छ यो खादै गर्नु” भनिन। यस्तो भोक लागेको रहेछ कि हरेक परिकार यति मीठो थियो कि बयान गर्न सकिन…
– यति मीठो खानेकुरा जिन्दगीमा खाकै थिन, कस्तो हात होला है!
– यी हात त यस्तै हो नि हाहाहा”…तिनले हातै देखाइदिन।
तिनी रमाइलो रहेछिन् । मलाई हात देखाइन। सेता कोमल हात। सलक्क परेका गोडा । फराकिलो निधार। गोल मिलेको पाखुरा । निदार पनि ठुलो । आँखामा अलिकति नजानिँदो पाराले गाजल लाएकी। कपाल धागोले बाँधेर पछिल्तिर फर्काएकी। लामो कालो कपाल । कतै घुगुरु परेको पनि थिएन। डम्म परेका राता ओठ ।
लाली त होइन तर कस्तो रक्तवर्णकि ! खासै शृङार त केही गरेकै होइन र पनि कस्तो राम्री। धपक्क बलेजस्तो उज्यालो मुहार। नेवा: भैकन यति राम्री केटी आज पहिलो चोटि देखे मैले।
– के हेरिरहनु भाको मम खानुन सेलाउँछ अहिले
त्यो एक्कासि आएको मीठो आवाज मेरो कानबाट हुइँकिएर गयो। झसङ्ग भए । कस्तो मधुर कण्ठ बोली । एकै छिन चुप लागे। निःशब्द भए । बोल्न मन लागेर पनि बोलिन। त्यही अघि वातावरणमा झङ्कृत भएको उन्को मधु मिश्रित ध्वनिको प्रकम्पनले उछालिरहे आफै केही बेर।
मेरो मौनता देखेर तिनी फेरि बोलिन।
– किन नबोलेको नि
– बोल्न भन्दा नि सुन्न मन लागेर
– अघि मात्रै आमाले तातो रक्सी पार्नु भएको छ पिउनुहुन्छ ? ”
– अघि सडकमै यो रक्सीको वासनाले म मोहित भएको नि ”
– हो र सडकमै पुगेछ वासना ?
– हजुर
एउटा गिलास लिएर नेवा: केटी भित्र गइन। तिनी हिँडेको पनि कस्तो सुहाउँदो । म हेरेको हेरै भए । अगाडि नि राम्रो, पछाडिको चाल पनि त्यतिकै राम्रो। कस्तो मिलेको सबै कुरो। पृथ्वीमा यति राम्री सुन्दरीको पनि जन्म हुदोरहेछ । मम खाएर म चिउरा चपाउँदै थिए। खाना सबै मीठो लाग्यो । उनी भित्रबाट गिलासमा हल्का बाफै आइरहेको रक्सी लिएर आइन र हातमा दिएर अलिकति झुकिन ।
– सगुन हो पैसा तिर्न पर्दैन यसको । फेरि पिउनु भो भने मात्रै पैसा लिन्छु है !
धेरै अघि आमा जीवितै हुँदा आमाले दिने न्यानो स्नेह जस्तो पो पाए मैले । यो नेवा: केटीमा हुर्किएको आदरता कस्तो मायालु ।
कतै कहीँ नबिझाउने मान्छे पहिलो चोटि देखे जस्तो अनुभूति भो। म आमा बुवा नभएको एउटा टुक्रे अविवाहित केटो थिए। कहिलेकाहीँ काम विशेष सहर आइरहनुपर्छ। असन, इन्द्रचोक, ठहिटि, वसन्तपुर क्षेत्रपाटि, ठमेल हाम्रो बा हजुरबाको पालादेखी किनमेल गर्नी ठाउँ ।
बा बितेको दुई वर्ष भो। नत्र म प्रायः बासँगै आउँथे सहर। दुई भाइ बहिनी थिए मेरो जिम्मामा। सौतेनी आमा पनि हुनुहुन्छ साथमा । भाइ सानै छ। बहिनी १४ वर्षकी भै। पढ्न स्कुल हालेको स्कुल टाढाभो भनेर बिचमै छोडेर कान्छी आमालाई घरधन्दा सघाउँछे।
मेरो बिहे भएको छैन। दुई चार वटा खेत छन्। अरूको ज्याला मजदुरी गर्न पर्दैन। सालको सय मुरी जति धान बेच्छौ। दुख त छ तर दुख अनुसार उब्जनी पनि छ। गाउँका सबैलाई परेका बेलामा दिन ख्वाउन सकिन्छ । खान लाउन र परेका बेलामा खर्च गर्न सक्छु । आफूले खासै नजोडे पनि बाउले मनग्गे जोडिदिएका छन्। हुन त पुर्खाको सम्पत्तिमा के गर्व गर्नु त्यो जोड्दा उहाँहरूको पसिना कति झरे होलान् । आजसम्म इज्जतमा बसेका छौ। कहिलेकाहीँ यसो जातैले पाएको त हो नि भनेर एक दुई गिलास रक्सी चैँ पिउँछु । नत्र भने अरू त्यस्तो नराम्रो बानी केही छैन। कसैको दुस्मनी पनि हुनपरेको छैन……
नेवा केटीले मेरो कुरालाई धेरै चासो दिएर सुनिरही । गफ गर्दागर्दै कति धेरै खाइसकेछु पत्तै भएन। अब त मज्जाले अघाए। अघिसम्म शून्य र नीरस लागेको गल्ली अहिले किन यस्तो रमाइलो लागेको मलाई । यति धेरै मीठा खानेकुरा, श्रद्धा र मायाले ख्वाउने यी राम्री नवयौना नेवा केटी बिहे गरेर घरजम गर्न पाए म यो धरतीलाइ स्वर्ग बनाउँथे…। तर सहरमा हुर्केकी केटी पहाड जान के मान्ली खै ?
मैले उसको उमेर सोधे –
– कति वर्ष हुनु भो
– बाइस वर्ष
– म भन्दा तीन वर्षले कान्छी हुनुहुदोरहेछ
– तपाईँ पच्चीस हुनु भो ?
– बिहे कहिले गर्नी त अब ?
– बिहे भइसक्यो नि मेरो
– ओहो होइन होला पत्याइन
– हो नि अघि भर्खरै साइकल चढेर आउने मेरो श्रीमान् हो नि रक्सी खान आएको । असाध्य रक्स्या छ। झगडा मात्रै गर्छ। रक्सी खान मात्रै आएको होइन म भट्टीमा बसेर कोको केटासँग बोल्छे भनेर चियो गर्न पनि आएको । उसले अरू केही गर्न सक्तैन खाली चियो मात्रै गर्छ। खै उसलाई पनि रक्सीले टिबी पो भैसकेको हो कि । यता आको बेलामा खोक्छ अचाक्ली !
– उफ् ! ए अघि साइकलमा जाने ती बुढा दाइ तपाईँको लोग्ने हुन?
– हजुर
म मुर्छा परे। छाती दुख्यो। सारा गल्लिनै भैचालोले हल्लिए जस्तो लाग्यो। दुखी भए । मन चिसो भयो। यो कस्तो अनमेल बिहे हो ।
यसरी नि बिहे हुन्छ र ? बाबु भन्न सुहाउने लोग्ने मान्छेलाई कसरी श्रीमान् भन्दिहुन यी नेवा केटी? म मौन भए । मलाई खलखली पसिना आएको देखेर तिनले बोलाइन..
– के भो एक्कासि चुप लाग्नु भो नि?
– खै के भो भो छाती अवरुद्ध भो, नसोचेको भो, जे भो नजाती भो
– मेरो बिहेको कुराले हो ?
– हजुर
– लामो कथा छ मेरो जिन्दगीको । तपाई सुन्न सक्नु हुन्न। फेरि कथा भन्दा भन्दै रक्सी खाने निहुँले मलाई छड्के हान्न आउनु हुन्छ। मेरो कथा अधुरो नै होला। तपाईँलाई दुख्ला । किन दुखाऊ तपाई एक छिन आउनु भएको ग्राहकलाई ।
– यो घरमा तपाईँ बाहेक अरू को को छन्?
– म सासू र श्रीमान् तीन जना मात्रै
– कति वर्ष भो बिहे गरेको ?
– बिहे गरेको होइन मलाई उहाँले किनेको
– कति हजारमा
– खै मेरो बाउले यहीँ छोडेर गए । कतिमा पो बेचे के जानू?
– माइती कहाँ हो तपाईँको?
– बन्दिपुर
– कति वर्ष भो बिहे गरेको?
– दुई वर्ष
– सन्तान भएको छैन?
– छैन । मैले बच्चा नपाउने सर्तमा बिहे गरेको। उहाँको जेठीका दुई छोरा छन्। र उहाँले मलाई बिहे गरेपछि नियोजन गरेको ।
– यो घरमा सासू र म मात्रै बस्छौ । उहाँ उतै जेठी स्वास्नीसँग बस्नुहुन्छ। मैले कमाएको पैसा मात्रै लानुहुन्छ।
– के नाम हो तपाईँको ?
– मिना श्रेष्ठ । अनि हजुरको नि ?
– मधु श्रेष्ठ
करिब तीन घण्टा बित्यो, एघार बजे यो गल्लीमा झुक्किएर छिरेको म। अहिले दुई बज्यो। सारा जगत् घुमेजस्तो लाग्यो। उनी कसरी बेचिइन ? त्यो कथा मलाई सुन्न मन लागेन। उनी प्रति असाध्य माया लाग्यो।
मलाई असन जानुथ्यो। जिरा र अरू मरमसला किन्न। मिनालाई एउटा कुरा भन्न मन लाग्यो। भनूँ पनि कसरी । अर्काको श्रीमती । छोरी बेच्ने बाबुलाई मन मनले धिक्कारे। म बसुन्जेल त्यहाँ अरू कोही ग्राहक पनि आएनन् । हामी दुई मात्रै भयौ। सासू दमको बिमारी रहिछन्। त्यही दमग्रस्त बिमारी सासूलाई स्याहार्नु र रक्सी बेच्नुको विकल्प रहेनछ तिनको।
एउटा कलिलो घाम पूर्वबाट उदाइरहेको जस्तो मुहार लिएर जीवनलाई सहजसँग पार लाउँदै गरेकी मिना देखेर म बेचैन बने कहिबेर।
तिनी मसँग नजिक भइन। मैले भने-
तपाईंको जीवन देखेर मलाई कस्तो माया लाग्यो अनि लोभ पनि । आज कुन साइतमा म यो गल्ली भित्र पसेछु । एउटा कुरा भन्न मन लाग्यो भनुम ?”
– भन्नुन
– गाली नगर्ने भए मात्रै भन्छु
– गर्दिन किन गाली गर्नु र यति राम्रो मान्छेलाई
– मलाइ तपाईँको असाध्य माया लाग्यो। म भगाएर लान्छु जानी?
– खै के भनूँ । तपाईँलाई पहिलो चोटि देखिरहेछु। कसरी विश्वास गरूँ? आफ्नो बाउले त यहाँ बेचेर गए। म कसको विश्वास गरूँ?
जिन्दगी नै एउटा प्रश्न भएर उभिएको छ यति बेला । दुखमा छु भनूँ भने पनि कसैले पत्याउँदैन, अनि सुखमा छु भनूँ भने पनि बाबुद्वारा बेचिएको छु।”
– मैले तपाईँलाई तपाईँको बाबुले बेचेको मूल्य त्यो मानिसलाई तिरे भने के तपाई यो घरबाट मुक्ति पाउनुहुन्छ त ?
– मलाई उसले उसको श्रीमती भन्छ अनि के गरूँ?
– सँगै बस्नु भएको छ आजसम्म कहिले ?
– तपाईँको मतलब ?
– तपाईँ र ती दाइ सँगै रात काट्नु भएको छ कहिले ?
– छि त्यस्तो गन्हाउने रक्स्याहा बुढोसँग को सुत्छ?
– त्यसो भए तपाईँ आजसम्म पवित्र हुनुहुन्छ
– म बिटोलिएकी छैन।
यति सुनेपछि मेरो आत्मा यति प्रसन्न भो कि सीमा नै रहेन। कहिबेर म त खुसीले भक्कानिए। मलाई मन परेकी स्त्री चोखी भएकीमा। कहिबेर अँध्यारो लागेको गल्ली त एउटा कुनै भव्य दरबारको आँगन जस्तो लाग्यो। खुसीले यति गदगद भए कि एक गिलास रक्सी मागे। सारा खुसी उनलाई दिऊ जस्तो लाग्यो। मन मनले सोचे अब मौका यही हो यिन्लाइ भगाउँछु। घरमा लिएर जान्छु । धूमधाम सँग बिहे गर्छु। यति राम्री दुलही कसरी पायौ भन्लान् गाउँलेले अनि मेरो फुर्ती अर्कै हुनेछ र म भन्ने छु- हाम्रो धेरै वर्ष देखि प्रेम थियो। ज्यान नै तातो भएर आयो। भोक फेरि लाग्न थाल्यो। मन खुसी र उमङ्गले गदगद हुन थाल्यो।
केहिबेरपछी आधा गिलास रक्सी लिएर मिना बाहिर आइन। साथमा ती असी हिउँद बिताएकी अस्थिपञ्जर भएकी सासूलाई लिएर। म झस्किए । ओहो यस्ती वृद्ध सासूलाई यति मायाले पालेकी छिन यिनले। रक्सी टेबुलमा राखिन। आमा रोगी हुन तर जुन जस्तै उज्यालो मुहार। काटीकुटी मेरै आमाको जस्तो अनुहार पाए मैले । यस्ती ममतामयी आमाको दर्शनले आज धन्य भए ।
ती आमाले स्नेहले मेरो कपाल सुमसुम्याइन। म भावुक भए ।
आफ्नी आमालाई सम्झेर । मिनालाई मैले भगाएर लगे भने यी आमै एक्ली दुखी होलिन् । यिन्लाइ कसले एक गाँस तातो पकाएर ख्वाउला नि ! उफ् ! सम्झिदा नि श्वास फुलेर आउँछ। यिनी त अन्धकारमा फसेको एक्लो जुन जस्तै होलिन् हरे !
यस्ती आमाको हातबाट मैले उनको जीवन रक्षक नै भगाएर लगे भने मलाई कति पाप लाग्ला है ?। आमाको मुहार हेरे । एउटा निर्दोष फूल अन्तिम वसन्त कुरिरहे जस्तो हाँगाबाट झर्नलाई।
चित्त जल्यो। आमाको त्यो आद्र करुणा देखेर खै किन पो हो सात वर्ष अगाडि बितेकी आमाको याद फेरि बेस्सरी आयो। काटीकुटी आफ्नै आमाको मुहार । सेतै चामल जस्तै भए पनि फुलेका कपालमा धागो लाएर बाटिदिएकी ! नुहाएर सफा राखिदिएकी । असी वर्षको मान्छे कतै शारीरिक खोट र चोट छैन। यसरी त आफ्नै छोरी भए पनि के पाल्थे र । अझ छोराको त कुरै नगरूँ !अघि देखेको त्यो स्वप्न लोकबाट म झरे। म खसे जिन्दगीको एउटा यथार्थ सत्यको पोखरीमा। मनमनले सोचे ….भो आमा ! यो अशक्त उमेरमा मिनालाई तपाईँको साथबाट खोसेर त्यस्तो क्रूर अपराध म किन गरूँ ?। बरु म जिन्दगी भरी अविवाहित नै बसुँला । किन चाहियो र मलाई श्रीमती तपाईँ जस्ती आमालाई रुवाएर।
आमा भित्तातिर फर्किएर खोक्न थालिन। तिनको मुखबाट रगतका फाल्सा आइरहेको देखे । मिनाले हात थापिन ती आमाको रक्त खकार र माथि ओछ्यानमा लिएर गइन। आमा दैलो भित्र छिरेपछि एउटा उज्यालो ज्योति पनि भित्र छिरेजस्तो लाग्यो ।
मिना तल आइन। मेरो मुड बदलियो। अर्कै लाग्यो यो विश्व जगत। बिल तिरे। फेरि त्यही गल्ली हुँदै बाहिर निस्किँदै थिए। ती दाजु अर्थात् मिनाका श्रीमान् अघिकै बाटोमा भेटिए। यति बेला तिनले थामिनसक्नु गरेर रक्सी पिइसकेका रहेछन् । मलाई देखे । यो समय भने तिनले मलाई चिनेकी चिनेन थाहा छैन। तर फेरि एउटा पहाडी केटो देखेर त्यही वाक्य दोर्याए-
– ए बाबु ! छ नेवा ख : ? बिहान पनि र बेलुका पनि किन यिनले मलाई नेवार हो भनेर सोधे मैले केही बुझिन। म असनतिर लम्किए। सूर्य चन्द्रागिरिको डाडामाथी अस्ताउन ठिक परेका थिए। यस्तो लाग्दैथ्यो कि मैले मेरो सपनाकी दुलही ससुरालीमै छोडेर एक्लै एक्लै रित्तै घर फर्किँदै छु…..