

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अनुशासन उल्लंघन गर्ने एक नेतालाई तीन दिन निलम्बनमा राखेको छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार एक निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई अनुशासन उल्लंघनको कारबाही गरिएको हो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको कारण निर्वाचन क्षेत्रको पदाधिकारीबाट ३ दिनका लागि निलम्बन गरिएको छ,’ उनले भने, ‘अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रुपमा भिडिओ रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारबाही स्वरूप निलम्बन गरिएको हो।’
निलम्बन जेठ ५ गतेदेखि गरिएको उनको भनाइ छ। रास्वपाले उनको परिचय भने खुलाएको छैन। ‘व्यक्तिगत प्रतिष्ठामा आँच आउन नदिनका लागि पार्टीले निलम्बनमा परेका व्यक्तिको परिचय खुलाएको छैन’ उनले भने।