

करिअरको तीन दशक लामो यो यात्रामा अभिनेता राजेश हमालकै वरिपरी घुमेको छ, नेपाली फिल्मक्षेत्र। विवादभन्दा परै रहेका हमालले फिल्म बाहेक पनि आफ्नो छुट्टै पहिचान बनाएका छन्, व्यक्तित्वको कारण। २८-३० वर्ष नेपाली फिल्मलाई काँधमा बोकेर हिँडेका हमाल विगत ८ वर्षदेखि फिल्मबाट टाढा थिए। तर, अहिले उनी जेठ ९ गतेबाट प्रदर्शन हुन लागेको नयाँ फिल्म ‘नरसिंहा अवतार’ बाट फेरि अभिनयमा फर्किँदै छन्। यही मेसोमा पहिलो फिल्म ‘युगदेखि युगसम्म’ बाट ‘नरसिंहा अवतार’ सम्म आइपुग्दा हमालले पाएका सफलता र गुमाएका अधुरापनहरूबारे सुत्रन्युजकर्मी सुबिन विश्वकर्मासँग कुरा गरेका छन्।
‘युगदेखि युगसम्म’ बाट ‘नरसिंहा अवतार’सम्म आइपुग्दा, राजेश हमालको यो ३ दशक लामो यात्रा अनि ८ दशक लामो नेपाली फिल्मक्षेत्रको यात्रा। यो दुवैलाई हेर्दा, पछिल्लो समय अलिअलि पुस्तान्तरण हुन खोजेको जस्तो देखिए पनि, फिल्म क्षेत्र चाहिँ राजेश हमालकै काँधको वरिपरि घुमेजस्तो लाग्छ। एउटा व्यक्तिका रूपमा, तीन दशकदेखि फिल्म क्षेत्रलाई एक्लै काँधमा बोकेर हिंड्दा यो काँधको भारी साँच्चिकै भारी लाग्दैन ?
भार भन्दा पनि एउटा जिम्मेवारी महसुस हुन्छ। मैले सुरुवातका दिनबाट एउटा चरणबाट चलचित्र थालें, जुनबेला यतिधेरै चलचित्र पनि बन्दैन थिए। निरन्तरताको संकेत समेत थिएन। त्यहाँबाट अभिनय गरेको, दर्शकहरूले चलचित्रलाई नै आत्मसात गर्ने चरणसम्म म पुगें। मैले धेरै चलचित्रहरूमा आम नेपालीहरूकै प्रतिनिधि पात्र भएर खेलें। त्यसले पनि दर्शकहरूसँग एकखाले भावानाकै नाता हुँदै गयो। त्यही आत्मियाताकै कारण पनि होला, नेपाली दर्शकमाझ गहिरो जग बस्न गएको हो। यसको लागि मैले आफूलाई एकदमै भाग्यमानी पनि ठान्छु।
- तपाईंका समकालीनका सन्तान समेत चलचित्रमा आइसके। एक किसिमको छाप छोडे। फेरि पनि राजेश हमाललाई नेपाली फिल्मको पर्यायकै रुपमा लिने दर्शक पनि उत्तिकै छन्। यी दुवै तथ्यलाई जोडेर हेर्दा, नेपाली फिल्ममा पुस्तान्तरण हुन नसकेकै हो, के देख्नु हुन्छ ?
पुस्तान्तरण नभए पनि नेपाली फिल्मले निरन्तरता चाहिं पाइरहेको छ। जुन निरन्तरतालाई थेग्ने काम अहिलेको नयाँ पुस्ताले गरिरहनु भएको छ। म यो आठ वर्षसम्म चलचित्रबाट ओझेल रहँदा पनि चलचित्रहरू त बनि नै रहे नि।
म थोरै तपाईंको इनिसियल फेजतिर फर्किन चाहन्छु-
तपाईंले आफ्नो बुवालाई सबैभन्दा बढी आदर्श पात्र मान्नुहुन्छ। एमोसनली जोडिएको पनि बुवासँगै। तर त्यो एउटा यस्तो मोड, जहाँ तपाईंले बुवा र फिल्ममध्ये एउटा रोज्नुपर्थ्यो, तपाईंले फिल्म रोज्ने निर्णय गर्नुभयो। तर तपाईंलाई यो निर्णय यति भारी भयो कि, अन्तिम समयमा पनि बुवालाई भेट्न पाउनु भएन। त्यो बेला एकातिर संसारकै सर्वप्रिय व्यक्ति र अर्कोतिर फिल्म। यो अन्तर्विरोधलाई चिर्न कत्तिको गाह्रो थियो ?
त्यो त सबैभन्दा बढी गाह्रो थियो नि। अब अहिले यत्रो समयको निरन्तरतापछि पनि फिल्ममै सहज भएको छ। त्यो बेला, आफ्नो प्यासनलाई फलो गर्दा बुवालाई गुमाउनु पर्यो। तर मेरो बुवाले भन्नुहुन्थ्यो, ‘व्यक्तिले जेसुकै पेसा गरे पनि, ऊ त्यो पेसामा सफल हुनसक्छ भने, व्यक्तिले जे पनि पेसा गर्नसक्छ।’ त्यही सोचेर पनि मैले विस्तारै नेपाली चलचित्र विकसित हुँदै जाला नि भन्ने आशाले निरन्तरता दिइरहें। बुवाले नचाहँदा-नचाहँदै पनि यसमा लागें।
तर अफसोच, बुवा अल्पायुमै बित्नुभयो। मेरो खासै सफलता देख्न सक्नु भएन। १/२ वटा फिल्म गरेको थिएँ, उहाँ बित्नु भयो। त्यो चाहिं खड्किएको कुरा हो। सायद उहाँले आज देखेको भए, उहाँलाई खासै खराब लाग्दैन थियो होला। (भावुक हुँदै) आखिर, जीवन आफ्नो सफल पार्नु त होनी व्यक्तिले।
- आजको दिनमा तपाईंले पाउनुभएको यो सफलता, महानायकको पदावधि, यो सबै कुरा मैले मेरो बुवालाई देखाउन पाएको भए भन्ने त्यो अधुरोपन त रहेछ नि ?
छ नि। त्यो त खड्किरहन्छ। अहिले त बुवा बित्नुभएको उमेर भन्दा पनि मेरो उमेर बढी भइसक्यो। तर अझै पनि अभाव खड्किन्छ। किनकी उहाँसँग फिल्म क्षेत्रलाई लिएर मनमुटाव भए पनि, हामीबीचको आत्मीयता, स्नेह, मेरो आदर्शको व्यक्ति, मैले सम्मान गर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो। उहाँको मप्रति पनि त्यस्तो थियो। तर बाहिरी हिसाबमा हाम्रो संवाद हुन छाड्यो, मेरो फिल्म क्षेत्रको रोजाइले। मलाई चाहिं, मैले सावित गरिसकेपछि कुराहरू सुल्झिन्छ भन्ने थियो। तर त्यो हुन नपाउँदै उहाँको मृत्यु भयो।
तपाईंले गरेका ती ३ सय बढी फिल्म र तपाईंको व्यक्तित्व हेर्दा, नेपाली फिल्म क्षेत्रले तपाईंलाई न्याय गर्न नसकेको भन्ने गरिन्छ। तपाईंको व्यक्तित्व अनुसारको फिल्म बन्न नसकेको जस्तो तपाईंलाई लाग्दैन ?
लाग्दैन। मैले जुन किसिमका चलचित्रहरू गरें, त्यसप्रति मेरो कुनै गुनासोहरू पनि छैन। पछुतो पनि छैन। आजको चस्मा लगाएर विगतको मूल्यांकन गर्नु पनि जायज हुँदैन। किनकी विगतको आफ्नै परिस्थिति थियो, समस्या थियो। जुन बेला म आएँ, त्यो बेला चलचित्र बन्नु पनि ठूलो कुरा थियो। त्यो बेला म आफू चलिरहेको बेला मैले अर्कै ढंगका चलचित्र बनाउनुपर्ने रहेछ भन्ने पनि लाग्दैन। बाहिरका व्यक्तिहरूले विभिन्न कोणबाट मूल्यांकन गर्नुहुन्छ तर, वास्तविकता बुझ्न त त्यही परिस्थतिसँग डुबेको हुनुपर्यो नि। आजको चस्मा लगाएर विगतको मूल्यांकन गर्नु पनि जायज हुँदैन। किनकी विगतको आफ्नै परिस्थिति थियो, समस्या थियो। जुन बेला म आएँ, त्यो बेला चलचित्र बन्नु पनि ठूलो कुरा थियो। अनि जुन किसमको पात्रहरू गरियो, हामीले सुनियोजित हिसाबले नै गरेको हो।
पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ लभस्टोरीमै आधारित थियो। त्यसपछि लाग्यो- नेपाली चलचित्र आम नेपाली दर्शककै रूचीकै हुनुपर्छ। हामीले ‘अर्को राष्ट्रमा यस्तो बनिराखेको छ’ भन्ने सोचेनौं। नेपाली फिल्म नेपाली दर्शकलाई प्रतिनिधि गर्ने खालको हुनुपर्छ भन्ने सोच्यौं। नेपाली चलचित्रले नेपाली दर्शकको रहनसहन, भावना, सामाजिक परिस्थिति कहीं न कहीं झल्केको हुनुपर्छ। अनि मैले त्यो बेला धेरैजसो विद्रोह, आक्रोशका पात्रहरू गर्नुको कारण पनि, त्यो बेला हाम्रो समाजमा थिचोमिचो, युवाहरूको आक्रोशलाई अतिरन्जित नै भए पनि फिल्ममा देखाउन सकिन्छ भनेर नै हो। जुन उहाँहरूलाई मन पनि पर्यो। बरू अहिले चाहिं चलचित्रको विषयको दायरा फराकिलो हुँदै अगेको छ। हामीले ९० को दशकमा लगभग एउटै फ्रेममा चलचित्र निर्माण गर्यौं। तर अब त्यो रहेन। जुन एकदमै सकारात्मक हो।
यो बीचमा दर्शक फेरिए, कथा फेरिए, क्यारेक्टर फेरिए। तर ‘युगदेखि युगसम्म’ बाट ‘नरसिंहा अवतार’ सम्म आइपुग्दा राजेश हमालको चरित्र उस्तै छ। त्यसमा पनि हिरोकै भूमिका भन्दा पर देख्न पाइएको छैन। भारतका अमिताभ बच्चनको उदाहरण दिएर राजेश हमाललाई हिरोइज्मको ह्याङओभर चाहिं कहिले निस्किने होला, भनियो भने ?
अझै केही वर्ष पख्नुस् न। अनि आउला नि, अहिलेसम्म त जोश छ (हाँस्दै)। उदाहरण त धेरै दिन सकिन्छ। भारतमा कसैले आफ्नो एउटा ट्रयाकबाट गयो होला, हामी यसबाट गइरहेका छौं। तर चाहना त मेरो पनि छ, आज यस्तो भूमिका (नरसिंहा अवतारको) गरेको छु, भोलि अन्य अरू भूमिकामा आउन सक्छु। बेग्लाबेग्लै भूमिका गर्ने मेरो पनि इच्छा छ नि। अहिलेको परिस्थितिले त्यो मौका दिएको पनि छ। कथा, प्रस्तुति, अभिनय हेरेर व्यक्ति जस्तोसुकै पात्रमा आउनुपर्छ। दर्शकको सोच पनि फराकिलो हुँदै गएको छ।
जबकी पहिला-पहिलाका दर्शकले फाइट किन भएन, नाचाघान किन भएन, राजेश हमालको स्लो मोसन किन भएन भन्नुहुन्थ्यो। मलाई त्योबेला दर्शकहरूले ‘दाइ, यो फिल्ममा तपाईंको कपाल किन हल्लिएन ?’ भन्नुहुन्थ्यो। अब अहिले चलचित्र हेर्ने संस्कृति पनि बद्लिएको छ। त्यतिमात्र हैन, प्रविधिले गर्दा दर्शकले धेरै प्राविधिक पक्ष बुझ्नु भएको छ। उसलाई कसरी डब गर्ने, इडिट गर्ने, अभिनय कसरी गर्ने सबै थाहा छ। ऊ आफैं पनि कलाकार बनेको छ। त्यसकारण आज यही पेसामा लागेका हामीजस्ता कलाकारलाई त अझ थापा चुनौती छ नि। त्यसैले हाम्रा सामाग्री थप स्तरीय हुनुपर्छ।
अन्त्यतिर,
तपाईंले धेरै फिल्महरूमा अन्याय-अत्याचार विरूद्ध ‘हेऽ हेऽऽ’ भन्दै पर्दामा लड्नुभयो। धेरैले ताली पिटे। तारिफ गरे। ‘महानायक’कै पद दिए। अब जीवनको उत्तारार्धतिर पर्दाबाहिर पनि अन्याय-अत्याचार विरूद्ध लड्नुपर्छ, त्यसका लागि राजनीतिको ढोकाले बोलाइरहेको छ जस्तो लागेको छैन ?
राजनीतिप्रति मेरो चासो छ। समाजमा असन्तुष्टि छ। जनताले चुनेर पठाएहरूबाट भनेजति डेलिभरी हुन सकेको छैन। हामी आफैंले छानेका व्यक्तिहरूबाट निराश छौं। फेरि छानेर ल्याएको त हामीले नै हो, उहाँहरू ढोका ढोका फोडेर आएको त हैन। तर उहाँहरूले हाम्रो अपेक्षा अनुसारको कार्य गर्न सक्नु भएन। ‘केही व्यक्तिलाई तपाईं केही समय झुक्याएर राख्न सक्नुहुन्छ, तर तपाईं सबै व्यक्तिलाई सधैं झुक्याएर राख्न त सक्नु हुन्न’ भनेजस्तै अहिले नेपाली जनताले विकल्प खोजेको छ। यस्तो बेतिथीविरुद्व आफ्नै स्थानबाट सचेतता गराइरहुँ जस्तो लाग्छ। फेरि यसैमा, सिनेमामा मानिसले कल्पनामा चाहेको कुरालाई नाटकीय ढंगबाट यथार्थमा पुर्याएको देखाउँछौं। तर यथार्थमा त जटिल नै छ नि। सिनेमामा जादुको छडीले समस्या समाधान गरेपनि वास्तविकतामा त्यो सकिंदैन।
पूरा भिडिओ यहाँबात हेर्नुहोस् :