

काठमाडौं । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गणतन्त्र दिवस, मूल समारोह समितिको बैठक बसेको थियो। तर, उक्त बैठकमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ गएनन्। त्यसपछि रिसाएका प्रधानमन्त्री केपी शर्मा ओलीले समितिबाटै बालेनको नाम हटाउन निर्देशन दिए।
अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका थिएनन्। यसपटक पनि बालेनले बेवास्ता गरेपछि प्रधानमन्त्री ओली रिसाएका थिए।
‘कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउनेले सधैँ बोलाइराख्नुपर्ने। यस्तो हुँदैन। अर्को पल्टदेखि त्यो नाम (बालेन) हटाइदिनु,’ ओलीले भनेका थिए।
ओलीको निर्देशनपछि मूल समारोह समितिको पदेन सदस्यमा महानगरको मेयर रहने व्यवस्था हटाउने तयारी छ ।
हुन त, बालेन पनि के कम ? यो समाचार सार्वजनिक भएपछि बालेनले ‘सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम’ भन्दै ओलीलाई जवाफ फर्काउन भ्याइहाले।
उनले फेसबुकमार्फत लेखेका थिए, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?’
त्यसो त बालेनले ओलीलाई टेर्न छोडेको लामो समय भएपनि पछिल्लो एउटा यस्तो घाउ, जुन बालेनलाई दुखिरहन्छ, त्यो हो- प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं प्रकरण।
काठमाडौं टावर निर्माणमा अनियमितता गरेको भन्दै बालेनले कारबाही गरेका महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई संघीय सरकारले हाजिर गर्न पठाएको थियो। त्यसपछि उपमेयर सुनिता डंगोलको नेतृत्वमा चैत २१ गते ढोका फोडेर कार्यालय भित्र्याएपछि ओलीले बालेनमाथि थप दबाब सिर्जना गरेका थिए।
त्यसयता प्रमुख प्रशासकीय अधिकृत र उपमेयर डंगोलसँग बालेनको बोलचाल बन्द छ। हुँदाहुँदै अब त वडाध्यक्षहरूले समेत बालेनले तोकेको जिम्मेवारी अस्वीकार गर्न थालेका छन्। जसको कारण महानगरको बजेट नै अलपत्र पर्नसक्ने देखिएको छ।
पहिलो पटक हैन, बालेनले ओलीलाई बेवास्ता गरेको
गएको साउन २२ गते प्रधानमन्त्री ओलीले उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँगको सहकार्यबारे छलफल गरे। तर, त्यस छलफलमा पनि बालेन गएनन्। उनको सट्टा उपमेयर सुनिता डंगोल सहभागी थिइन्।
‘मेयर्स फोरम’ काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख-उपप्रमुखहरूको साझा थलो हो। उपत्यकाको फोहोर व्यवस्थापनको प्रमुख दायित्व काठमाडौं महानगरको काँधमा छ। तर, कार्यकारी भूमिका रहेका बालेन नै संघीय सरकारसँगको त्यो महत्वपूर्ण छलफलमा भाग लिन सिंहदरबार गएनन्।
बालेन नगएपछि सुकुम्बासी बस्तीमा डोजर चलाउने, सडक विस्तारको नाममा फुटपाथ व्यापारीलाई दुख दिने लगायतका उनका कामबाट असन्तुष्ट ओलीले त्यही बैठकमा आफ्ना असन्तुष्टि दोहोर्याए।
‘हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन। सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन्। सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्,’ बालेनलाई कटाक्ष गर्दै ओलीले भनेका थिए।
यो प्रसंगको सुत्रपात भने धरहराको स्वामित्व लिने विषयबाट सुरू भएको थियो। त्यसबेला प्रधानमन्त्री ओलीले धरहराको स्वामित्व काठमाडौं महानगरको नभएको भन्दै बालेनको आलोचना गरेका थिए।
‘धरहरा कुनै पालिका विशेषको होइन। बेसमेन्टमा पार्किङ बनिसकेको छैन, निःशुल्क पार्किङ भनेको छ, सरकारले त्यत्रो पैसा खर्च गरेको, अलिकति शुल्क लिए त निर्माणको पैसा उठ्छ नि !’ साउन १५ गते ओलीले सचिवहरूलाई निर्देशन दिने क्रममा भनेका थिए।
ओलीले यसो भन्नुको कारण पनि अन्ततः बालेनसँगै जोडिन्थ्यो। धरहराको बेसमेन्ट पार्किङ भने काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरिरहेको थियो। न्युरोड क्षेत्रलाई ‘नो पार्किङ जोन’ घोषणा गरेर त्यसको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र काठमाडौं टावरमा ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको थियो। यसको श्रेय आफू लिने पक्षमा थिए बालेन तर, ओली त्यो चाहँदैन थिए।
कसरी सुरू भयो ओली-बालेन टकराब ?
काठमाडौं महानगरको मेयर निर्वाचित भएपछि बालेन एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे। आफूलाई भेट्न आएका बालेनलाई ओलीले तबला उपहार दिएका थिए। त्यसबेला बालेन एमालेमा प्रवेश गर्ने चर्चासमेत चल्यो।
तर, अलि पछि ओलीले सुकुम्बासी बस्तीमा डोजर लगाउनु गलत भएको भन्दिएपछि बालेन ओलीप्रति रुष्ट भएको देखिन्छ।
२०७९ को मंसिर १३ गते एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘तपाईंहरूले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरूलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए उनीहरुलाई पराजित गर्थ्यौ हामी, त्यो के गरेको?’
त्यसपछि त ओली र बालेनले सार्वजनिक रूपमै एकअर्कालाई खुइल्याउने खालका अभिव्यक्ति दिन थाले। ओली सार्वजनिक कार्यक्रमबाट उखान-टुक्का भर्दै बालेनलाई कटाक्ष गर्न थाले भने त्यसको प्रतिवादमा बालेनले फेसबुकमा स्टाटस लेख्न थाले। यो क्रम लामो समय चल्यो।
ओलीले ‘कर्कलो फाँड्न बन्चरो लागेको’ भन्दै बालेनप्रति कटाक्ष गरे। लगत्तै बालेनले गिरीबन्धुको प्रकरणमा ओलीले १० हजार बिगाहा जमिनको विषय उठान गरे। ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नुभएछ,’ उनले लेखेका थिए।
हुँदा-हुँदा यो विवाद संसदसम्मै पुग्यो। एमाले सचिव योगेश भट्टराईले बालनले ‘गिरीबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको’ भन्दै संसदबाटै आपत्ति जनाए।
अघिल्लो जेठ २२ गतेको संसदमा उनले भनेका थिए, ‘म भन्न चाहन्छु बालनजीलाई, पैसा कति चाहियो? सरकारले दिन्छ। हामी दिन्छौँ। हामी अर्थमन्त्रीलाई भनौँला, प्रधानमन्त्रीलाई भनौँला। उत्तेजना फैलाएर, उच्छृङ्खल गतिविधि गरेर, तपाई मार्फत लाखौँ युवाहरूले यो देशको भविष्य खोजेका हुन्। पछिल्ला दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि धोका दिँदै हुनुहुन्छ, मुलुकलाई धोका दिँदै हुनुहुन्छ। यस ढङ्गले अगाडि नबढ्न पनि म भन्न चाहन्छु।’
ओली-बालेनबीच अनेक विषयमा आरोप-प्रत्यारोप भएपनि मुख्य विषय भने फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले न्युरोडमा सडक भत्काए पछिको विवाद हो। उक्त सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्दै थियो। बालेनले पनि फुटपाथ बढाउन खोज्दै थिए तर, तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ र ओलीले त्यसको विरोध गरेपछि बालेन ओलीप्रति थप आक्रोशित बने।
त्यसपछि महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्यायो। त्यसपछि झन् ओली-बालेन एक अर्काप्रति लक्षित कटाक्ष, आक्रोश, आरोप-प्रत्यारोपमा उत्रिए।
बालेनको उक्त कदमपछि एमाले पार्टी कार्यालयमा भएको एक बैठकमा ओलीले भनेका थिए, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने? यो कुनै सभ्यता हो? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन?’
त्यसपछि बालेन पनि के कम? अघिल्लो वर्षको असारमा कांग्रेस-एमाले गठबन्धन बनेपछि ओली प्रधानमन्त्री बन्ने चर्चा सुरू भयो। तत्काल बालेनले त्यसको कटाक्ष गरिहाले। बालेनले ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्बिर राख्दै भनेका थिए, ‘यो समय गिरीबन्धु चियाको हो, काले काले मिलेर खाऊँ भाले।’
यो स्टाटसले त अझ बालेनविरुद्ध ओलीमात्र हैन, एमाले नै लागिरहेको देखिएको छ। त्यसको एक उदाहरण हुन्- पूर्वमन्त्री महेश बस्नेत र अनेरास्ववियु अध्यक्ष समिक बडालले गर्ने फेसबुक पोस्टहरू।