

काठमाडौं । जेठ १५ गतेलाई राजावादीले तोकेको जनआन्दोलनमा साथ दिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनआन्दोलन समितिले पत्र पठाएको छ ।
राजतन्त्र पुर्नस्थापनका लागि राजावादीहरूले बनाएको जनआन्दोलन समितिले रास्वपालाई आफ्नो आन्दोलनमा साथ दिन पत्र मार्फत आग्रह गरेको छ।
बुधबार जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई पत्र लेखेर आन्दोलनमा साथ दिन आग्रह गरेका हुन्।
‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ,’ पत्रमा भनिएको छ, ‘राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ। यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु।’
राजावादीहरूले राजतन्त्र पुर्नस्थापनका लागि भन्दै जेठ १५ देखि आन्दोलनको घोषणा गरेका छन्।