अमेरिकाको सपना बोकेर उडेका रोनक सुबेदी अस्पतालको बेडमा जीवन र मृत्युसँग लड्दै-Sutra News

अमेरिकाको सपना बोकेर उडेका रोनक सुबेदी अस्पतालको बेडमा जीवन र मृत्युसँग लड्दै

बुधबार, ७ जेष्ठ २०८२

बुधबार, ७ जेष्ठ २०८२

क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक सुबेदी, अमेरिकाको टेक्सास राज्यमा भएको एक भयानक कार दुर्घटनामा परेपछि गम्भीर अवस्थामा छन्। उनी अहिले डलासको मेथोडिस्ट मेडिकल सेन्टरको न्यूरोक्रिटिकल केयर युनिटमा कोमामा छन्।



सन् २०२२ मा उच्च शिक्षाको लागि अमेरिका आएका रोनक, एक होनहार छात्र मात्र होइन, क्यान्सर रोगले आमा गुमाएपछि एक असल छोराका रूपमा जिम्मेवारीको भार बोकिरहेका थिए।

तर मे १४ को रात, डल्लासको I-30 हाइवेमा उनी सवार गाडी दुर्घटनाग्रस्त भयो। एयर ब्याग नखुल्दा गम्भीर चोट लाग्यो—मस्तिष्कमा रक्तस्राव, अनुहार र छातीको हड्डी भाँचियो, फोक्सोमा वायु पिण्ड बन्यो।

उनको अवस्था अहिले पनि गम्भीर छ। चिकित्सकहरूले कम्तीमा ६० दिन अस्पतालमै राख्नुपर्ने बताएका छन्।

एक जना रोनकको पीडा, हजारौँ प्रवासी नेपाली विद्यार्थीको प्रतिनिधित्व गर्दछ । यो घटना केवल रोनकको कथा होइन। यो त विदेशको सपनाका पछाडि लुकेको कठोर यथार्थ हो। त्यही यथार्थ जसले हरेक रात निन्द्रा खोस्छ, अनि बिहान भिसा, बिल, काम र कक्षाको चिन्तामा घण्टौँ सताउँछ।

ठुलो सपना देखेर आएका प्रवासी विद्यार्थीहरू कोही विद्यार्थी हस्पिटलको बेडमा छटपटाइरहेका रोनक जस्तै कहिले त मानसिक तनावमा, कहिले आर्थिक संकटमा अनि कहिले आफन्त गुमाउँदाको शोकमा एक्लै रोइरहेका छन् ।

रोनकका पिता, बिश्वतारा सुबेदी, काठमाडौंमा छन्। एउटा पितालाई पत्नी गुमाइसकेपछि सन्तानको यो अवस्थाले कति मुटु पोलेको होला । पिताजीलाई त छोरो विदेश पठाएपछि छोराले डिग्री लिएर फर्किन्छ भन्ने आस हुन्छ तर अब रोनकका पितालाई अब त ऊ फर्किएला कि नफर्किएला भन्ने डर छ।”

रोनकको उपचार खर्च दिन प्रतिदिन बढ्दो छ। उनका साथीहरूले GoFundMe अभियान सुरु गरेका छन्। सानो सानो सहयोगले एउटा जीवन बाँच्न सक्छ, एउटा परिवार फेरि एकताबद्ध हुन सक्छ। प्रवासमा कोही आफन्त हुँदैनन् । जे जति गर्छन् सबै साथीहरूको सहयोग मिलाएर गर्छन् ।

रोनक आज हामी सबैका लागि एउटा सन्देश हुन्, कि विदेश सुनौलो भए पनि सजिलो छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट