…अनि भयाे गभर्नरमा सहमति-Sutra News

…अनि भयाे गभर्नरमा सहमति

मंगलबार, ६ जेष्ठ २०८२

मंगलबार, ६ जेष्ठ २०८२

काठमाडौं । साढे २ महिनादेखि अल्झिएको गभर्नर नियुक्तिको विवाद टुङ्गिएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मङ्गलवार भएको छलफलसँगै नयाँ बन्ने गभर्नरको नाममा सहमति जुटेको हो ।



ओली र देउवाले राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्न सहमति गरेको कांग्रेस उच्च स्रोतले जनाएको छ ।

नाममा सहमति जुटेसँगै प्रक्रिया मिलाउन आज नै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ । जुन बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

अहिलेसम्मको सहमति कायमै रहेमा साँझ बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय लिने स्रोत बताउँछ ।

वैशाख २९ मा नै नियुक्त गर्ने सहमति भएको थियो…

यसअघि ओली–देउवाबिच भएको प्रारम्भिक सहमतिकै आधारमा वैशाख २८ मा पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका थिए । तर, सो सहमति कार्यान्वयनमा प्रधानमन्त्री ओलीले भने आनाकानी गर्दै आएका थिए ।

जुन आलटालपछि ओली र देउवाबिच विवाद बढेको थियो । देउवाको असन्तुष्टि पछि नै कांग्रेसका नेताहरूले सरकारविरुद्ध संसद् र सार्वजनिक मञ्चबाटै बोल्न थालेका थिए ।

कांग्रेस स्रोतका अनुसार यसअघि ओली र देउवाबिच वैशाख २९ गते नै मन्त्रिपरिषद् बैठकमार्फत निर्णय लिने सहमति भएको थियो । तर, ओलीले जेठ १ गते निर्णय लिने भन्दै टारेका थिए ।

त्यसयता ओलीले जेठ ५ को बैठकबाट निर्णय लिने कुरा देउवालाई सुनाएका थिए । तर, वैशाख ५ मा स्वयं अस्वस्थ भएको बताउँदै बैठक नै नबोलाएपछि देउवा थप आक्रोशित बने ।

“वैशाख २९ मा नै नियुक्त गर्ने सहमति भएको थियो तर, उहाँले मिति सार्दै जानु भयो, अनि अस्वस्थ भएको बताउँदै बैठक नै रोकिदिनु भयो”, कांग्रेसका एक नेता भन्छन्, “सहमति पालना नभएपछि असन्तुष्टि हुने कुरा स्वाभाविक हो ।”

जसपश्चात् तय गरिएको भेट पनि देउवाकै अनिच्छाले स्थगित भएको ती नेताले बताएका छन् । जुन घटनापछि ओली र देउवाबिच संवादसमेत भएकाे थिएन ।

तर, ओलीको निरन्तर आग्रहपछि नै मङ्गलवार देउवा भेट्न सहमत भएका थिए । निकै छोटो समय चलेको छलफलमा देउवाले यसअघिको सहमतिको जवाफ खोजेका थिए ।

‘असाध्यै भो, सहमति कार्यान्वयन गर्न नसकिने हो भन्ने विकल्प खोजौँ’, देउवाको भनाई उद्धत गर्दै ती नेताले भने । आक्रोशित देउवाको जवाफसँगै ओलीले आजै टुंग्याउने बचन दिएका हुन् ।

जसअनुसार नै सिफारिस समितिको बैठक बोलाउँदै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

महाप्रसाद अधिकारीको बिदाइसँगै गत चैत २४ देखि नै नेपाल राष्ट्र बैंक कामुको भरमा चलिरहेको छ । गभर्नर नियुक्त हुन नसकेपछि अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर निलम ढुंगाना कामुको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट