

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। यो सँगै प्रधानमन्त्री ओलीसँग संसदमा हुने भनिएको सांसदहरूको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री सोमबारबाटै अस्वस्थ रहेका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना न्युन रहेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले स्वास्थको समस्या देखाएपनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारूढ दुई दल कांग्रेस र एमालेबिच विवाद बढ्दै जाँदा हिजो हुने भनिएको प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्ता र मन्त्रीपरिषद् बैठक समेत स्थगित भयो।
गभर्नर नियुक्तिलाई लिएर कांग्रेससँग टसल बढेपछि प्रधानमन्त्रीले संसदको प्रश्नोउत्तर कार्यक्रम छलेको हुनसक्ने कांग्रेस निकट उच्च स्रोतको दाबी छ।
सोमबारको एक सार्वजनिक कार्यक्रममै आफू अस्वस्थ रहेको भन्दै सम्बोधन छोट्याएका ओलीलाई रुघाखोकी लगायतका स्वास्थ समस्या देखिएको उनको सचिवालयले जनाएको छ।