

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र निकै उकुसमुकुस र छटपटाहटको अवस्था भएको बताएका छन् । सोमबार बीपी कोइरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले यही उकुसमुकुसभित्र अवसर पनि भएको बताए । “नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर, एउटा अवसर पनि छ भनेर म भनिरहेको छु”, उनले भनेका छन् ।
अहिलेको परिस्थितिबाट कांग्रेसजनले निकास खोजिरहेको थापाको भनाई छ ।
‘यो पटकको घटनाले हामीलाई के देखाइदिएको छ, चुनाव जितेका छौं । नेपालको ठूलो पार्टी हौं हामी । हामी सबैतिर सरकारमा छौं । नभएको ठाउँ नै छैन । अहिले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो,’ महामन्त्री थापाले भनेका छन्, ‘सबै हाम्रो । गभर्नर हाम्रो, उ, हाम्रो त्यो हाम्रो । जताततै हाम्रो । यस्तो बेलामा खुसी हुनुपर्ने हो नि कांग्रेस । सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त ? यसले के देखायो भने हामीले खोजेको यो होइन ।’