

काठमाडौं । अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमला र पाकिस्तानमा रहेको आतंकवादी शिविरहरूमा आक्रमण गर्न भारतको ‘अपरेसन सिन्दूर’अन्तर्गत बदला लिने कारबाहीपछि दुई छिमेकी देशहरूबिच तनाव बढिरहेको बेला हरियाणाकी हिसारमा बस्ने चर्चित ट्राभल भ्लगर ३३ वर्षीय ज्योति मल्होत्रालाई पाकिस्तानी गुप्तचर एजेन्सीहरूलाई संवेदनशील जानकारी उपलब्ध गराएको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले बताएको छ।
हरियाणा प्रहरीको जासुस–विरोधी विभागले मे १७ मा मल्होत्रालाई हिसारको नयाँ अग्रसेन एक्सटेन्सनबाट पक्राउ गरेको हो। भारतीय मिडियाहरुमा प्राप्त जानकारी अनुसार ज्योतिको मोबाइल र ल्यापटपबाट केही शंकास्पद सामग्रीहरू फेला परेका बताइएको छ । उनलाई आधिकारिक गोप्यता ऐन र भारतीय न्याय संहिताको धारा १५२ सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान (एफआईआर) अनुसार उनले व्हाट्सएप, टेलिग्राम र स्न्यापच्याटमार्फत पाकिस्तानी उच्चायोगका कर्मचारी एहसान उर रहिम उर्फ दानिशसँग गोप्य सम्पर्क राखेकी थिइन्। अदालतले उनलाई पाँच दिनको प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।
यसअघि, पञ्जाब प्रहरीले पाकिस्तानी अधिकारीसँग जोडिएको जासुसी गतिविधिमा संलग्न भएको आरोपमा मालेरकोटलाबाट एक महिलासहित दुई जनालाई पक्राउ गरेको थियो। भारतीय अधिकारीहरूले मे १३ मा पाकिस्तान उच्चायोगमा काम गर्ने एक पाकिस्तानी अधिकारीलाई ‘जासुसी’मा संलग्न भएको आरोपमा निष्कासन गरेका थिए। पक्राउ परेपछि ज्योतिको पाकिस्तान यात्रा व्यापक रूपमा चर्चामा आएको छ। त्यसभन्दा बाहेक उनको अर्को एउटा भिडिओ पनि समाचारमा आएको छ, जुन गत वर्ष भारतस्थित पाकिस्तान दूतावासको डिनर पार्टीको हो।
को हुन् युट्युबर ज्योति मल्होत्रा ?
ज्योति मल्होत्रा ‘ट्राभल विथ जो’नामक युट्युब च्यानल चलाउँछिन् र उनी हरियाणाको हिसारमा बस्छिन् र उनको च्यानलमा ३।७७ लाख सब्सक्राइबर छन्। उनी दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा काम गर्ने एक पाकिस्तानी कर्मचारीसँग सम्पर्कमा रहेको बताइएको छ, जसलाई भारतीय अधिकारीहरूले मे १३ मा जासुसीमा संलग्न भएको आरोपमा निष्कासन गरेका थिए।
मे १६ मा सिभिल लाइन्स प्रहरी चौकीमा दर्ता गरिएको एफआईआर अनुसार, ज्योति २०२३ मा पाकिस्तान उच्चायोगमा एहसान-उर-रहिम उर्फ दानिशको सम्पर्कमा आएकी थिइन्, जहाँ उनी छिमेकी देश यात्रा गर्न भिसा लिन गएकी थिइन्, पीटीआईले रिपोर्ट गरेको छ। एफआईआरमा ज्योतिले दुई पटक पाकिस्तानको भ्रमण गरेकी थिइन् र दानिशका चिनजानका अलि अहवान्लाई भेटेकी थिइन्, जसले उनको त्यहाँ बस्ने व्यवस्था मिलाएका थिए।
पीटीआईले थप रिपोर्ट गरेको छ कि अहवान्ले ज्योतिको पाकिस्तानी सुरक्षा र गुप्तचर अधिकारीहरूसँग भेटघाटको व्यवस्था गरेका थिए र शाकिर र राणा शाहबाजलाई भेटेका थिए। शंका नहोस् भनेर उनले शाहबाजको मोबाइल नम्बर जट्ट रन्धावाको नाममा सेभ गरेका थिए।
एफआईआर अनुसार, उनी व्हाट्सएप, टेलिग्राम र स्न्यापच्याट मार्फत यी व्यक्तिहरूसँग सम्पर्कमा थिइन् र उनीहरूलाई संवेदनशील जानकारी दिइन्। उनले दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा दानिशलाई धेरै पटक भेटेको र पाकिस्तानी गुप्तचर एजेन्सीहरूसँग सम्पर्कमा रहेको उल्लेख गरिएको छ। एजेन्सी