

कान हाम्रो शरीरको अत्यन्त महत्त्वपूर्ण अंग हो । कानमा फोहोर जम्मा हुनु या कानेगुजी उत्पन्न हुनु सामान्य कुरा हो । ईयरभ्याक्स वा कानको फोहोर धेरै मानिसलाई घिन लाग्छ। तर, यसबाट घिन मान्नु पर्दैन । किनकि कानको फोहोर हाम्रो शरीरबाट निस्किने एक प्राकृतिक पदार्थ हो। जसको एक महत्त्वपूर्ण काम हुने गर्छ। कानमा कानेगुजी जम्मा हुँदा हुने क्षति कहिलेकाहीँ हल्का हुन्छ, तर यदि यो अत्यधिक भयो वा लामो समयसम्म सफा गरिएन भने, यसले धेरै समस्याहरू निम्त्याउन सक्ने डाक्टरहरू बताउँछन्।
धेरै मानिसहरू कानेगुजी जम्मा हुने समस्याबाट पीडित पनि हुन्छन्। कतिपयको कान सफा गर्दा पनि त्यसमा फोहोर जम्मा हुने समस्या हुन्छ । जसका कारण मानिसहरूमा कान कसरी सफा गर्ने वा कानको फोहोर कसरी हटाउने भन्ने प्रश्नहरू उब्जन थाल्छन् । जसको उत्तर तपाईँले सोचेजस्तो सजिलो पक्कै छैन । न त घरेलु विधि नै उपयोगी छ । किनकि तपाईँले जबसम्म यस्ता समस्याहरू भोग्नु पर्दैन तबसम्म कानेगुजी हुनु स्वाभाविक मानिन्छ । तर धेरै कानेगुजी जम्दा भने विभिन्न समस्याहरू निम्त्याउन सक्छन् । जस्तै:
१. कानमा इयरवाक्स जम्मा हुँदा सुन्ने क्षमता गुम्ने
२. कान दुख्ने वा भारी हुने
३. कान चिलाउने वा जल्ने
४. कानबाट दुर्गन्ध आउने
५. कानबाट पानी बग्ने वा सङ्क्रमण हुने
६. कानमा सिट्ठी बज्ने वा गुन्जने
माथि उल्लेखित समस्याहरूबाट सजिनै छुटकारा लिन तपाईँले सधैँ डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ । डाक्टरको सल्लाहको विकल्पमा धेरैले इयरवाक्स सफा गर्न कोही कोही कानमा इयरपिन लगाउँछन्, कोही कपासको बड प्रयोग गर्छन्, र कोही तेल वा पानी हाल्छन्। केही मानिसहरू सडकमा घुम्ने कान सफा गर्नेहरूबाट आफ्नो कान सफा गर्छन्। यी विधिहरू प्रयोग गर्दा कानमा सङ्क्रमण हुन सक्छ। यति मात्र होइन, कानको जालीमा पनि प्वाल पर्न सक्छ। त्यसैले यस्ता विधि अपनाएर कान सफा गर्दा ध्यान पुर्याउनुहोला ।
कानेगुजी जम्दा कहिले समस्या निम्त्याउँछ ?
कानेगुजी कुनै बाह्य फोहोर होइन। यो कानको ग्रन्थिबाट मात्र बन्छ। जब तपाईँ केही चपाउनुहुन्छ वा मुखले कुनै पनि चाल चलाउनुहुन्छ, त्यो कानबाट बाहिर निस्किरहन्छ। डाक्टरले भने अनुसार जब तपाईँलाई फोहोरका कारण दुखाइ महसुस हुन थाल्छ, सुन्न गाह्रो हुन्छ, कान भित्र चिलाउने महसुस हुन्छ, कानमा घण्टी बज्ने आवाज आउँछ, कानमा दुर्गन्ध आउँछ वा कानमा सङ्क्रमण हुन्छ, यी संकेतहरू हुन् जसको लागि तपाईँले कानको डाक्टरसँग परामर्श लिनुपर्छ।
यी चीजहरूले कान सफा नगर्नुहोस्:
डाक्टरले कान सफा गर्न कानमा घिउ, तेल हाल्नु हुँदैन भन्छन् किनभने यसले कानमा फंगल सङ्क्रमण हुन सक्छ। यसबाहेक, कानमा पानी नहाल्नुहोस्, इयर क्यान्डल प्रयोग नगर्नुहोस्, इयर बड आदि पनि प्रयोग नगर्नुहोस् किनकि यसले कान भित्र गहिरो फोहोर जान सक्छ। यसबाहेक, कानमा हाइड्रोजन पेरोक्साइड नराख्नुहोस्, यसले कान सुन्निने र छाला निम्त्याउन सक्छ। कान भित्र कुनै पनि धारिलो वस्तु घुसाउनु हुँदैन, यसले कानको जाली फुट्न सक्छ।