बदनामित मन्जु संयोजक बनेसँगै उपसमिति नै संकटमा-Sutra News

बदनामित मन्जु संयोजक बनेसँगै उपसमिति नै संकटमा

सोमबार, ५ जेष्ठ २०८२

सोमबार, ५ जेष्ठ २०८२

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मन्जु खाँण आफैंमा निकै विवादित पात्र हुन् । नक्कली भुटानी शरणार्थी प्रकरण उनको नाम जोडिएको छ ।



तत्कालिन समय उनका पति एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै उनी फरार बनेकी थिइन् । उक्त प्रकरणमाथि उनीमाथि करोडौं बुझेको आरोप बयानकर्ताले दिएका छन् ।

तर, यतिबेला सरकार फेरिएसँगै उनी सुरक्षित देखिन्छिन् । उनीमाथिको छानबिन र कारबाही प्रक्रिया रोकिएको छ ।

तर, तिनै संगीन आरोप लागेकी खाँणलाई यतिबेला संसदको सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणबारे भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न गठित उपसमितिको संयोजक तोकेको छ । आइतबार बसेको समितिको बैठकले उनलाई संयोजक तोक्ने निर्णय गरेको थियो ।

तर, निकै विवादित पृष्ठभूमिकी खाँणलाई संयोजक तोकेसँगै उपसमिति नै विवादमा परेको छ । सदस्यका रुपमा तोकिएका सांसदहरु नै समितिमा नरहने अवस्था बनेको छ ।

उक्त समितिमा खाँणसँगै कांग्रेसबाट श्यामकुमार घिमिरेको नाम छ भने एमालेबाट योगेश भट्टराई, अहमत फारुकी र अच्युतप्रसाद मैनालीको नाम छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, राप्रपाका विक्रम पाण्डे र स्वतन्त्र सासद अमरेश कुमार सिंहको नाम छ ।

तर, खाँणको नेतृत्वसँगै उपसमिति नै विवादमा तानिएपछि भट्टराई र अमरेशले नबस्ने घोषणा गरिसकेका छन् भने रास्वपा र राप्रपाका सांसदले पनि बहिस्कार गर्ने जनाएका छन् । एकपछि अर्को सदस्यहरुले बहिष्कारको घोषणा गरेसँगै समिति नै के हुने, अन्योल बनेको छ ।

भैरहवा विमानस्थल निर्माणका लागि जम्मा ८ अर्ब २२ करोड लगानी भएको थियो । तर, विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जामा भने निर्माणका लागि खर्च भएको रकमभन्दा ३ गुणा बढी खर्च भएको छ । जहाँ २२ सय घरधुरीलाई मुआब्जा वापत बाँडिएको २३ अर्ब रुपैयाँमा हिनामिना गरिएको आशंका छ ।

अध्ययनअनुसार साढे ४ सय विघा जग्गा भए विमानस्थल निर्माण गर्न पर्याप्त हुने भए पनि ७ सय विघा अधिग्रहण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट