

काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)का सचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली महिला क्रिकेट टिमप्रति गहिरो सम्मान र समर्थन व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै उनले नेपाली महिला क्रिकेटरहरूको संघर्ष र समर्पणको प्रशंसा गरेका छन्। उनले लेखेका छन् “क्रिकेट खेलेर के हुन्छ र ?” भन्ने मानसिकता राख्ने जमातबीच ती सबै चुनौतीहरू पार गर्दै हुर्किएर महिला क्रिकेटमा लाग्नु भएको बहिनीहरूप्रति सम्मान र कृतज्ञता ।
नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने इच्छा राख्नु नै ठूलो कुरा हो, र अझै पनि ती सपनाहरू जीवित छन्। समाजमा फैलिएका नकारात्मक धारणा र प्रतिक्रियाहरूलाई एकछिनको लागि बिर्सेर, राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन यो खेलप्रति समर्पित गर्नु साँच्चै सजिलो कुरा होइन।
त्यसैले नेपाली महिला क्रिकेट टिमलाई दिन सक्ने सबैभन्दा ठूलो समर्थन हौसला रहेको भन्दै सचिव पारसले समाजमा फैलिएका नकारात्मक धारणा र प्रतिक्रियाहरूलाई एकछिनको लागि बिर्सेर, राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन यो खेलप्रति समर्पित गर्नु साँच्चै सजिलो नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा गाली गर्नु जत्तिको सजिलो मैदानमा दौडिन नभएको उल्लेख गरेका छन् ।
नेपाली महिला क्रिकेट टिमको आजको जित कुनै आकस्मिक परिणाम होइन, यो त तपाईंहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो।
अडिग भएर अघि बढ्नुस्। आगामी दिनहरूका लागि हाम्रो राष्ट्रिय महिला क्रिकेट टोलीलाई हार्दिक शुभकामना।