तर, विकल्प खोज्ने पक्षमा छैन कांग्रेस…-Sutra News

तर, विकल्प खोज्ने पक्षमा छैन कांग्रेस…

सोमबार, ५ जेष्ठ २०८२

सोमबार, ५ जेष्ठ २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारलाई लिएर असन्तुष्टि भने क्रमशः चुलिँदो छ । जुन असन्तुष्टि पार्टी बैठकमा मात्रै होइन, सार्वजनिक रूपमै प्रकट भइरहेका छन् ।



आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि कांग्रेसका सांसदहरूले सरकारमाथि प्रश्न तेर्स्याएका थिए । जनअसन्तुष्टि चुलिएको भन्दै केही सांसदले सरकारको विकल्प खोज्न ढिला गर्न नहुने धारणा बैठकमै राखे ।

“अहिले जुन सरकारमा हामी छौँ, तर सरकार सरकार जसरी चलेको अनुभूति गर्न सकेको छैन । अहिले संसद् संसद् जसरी पनि चल्न सकेको लाग्दैन । कता–कता न्यायपालिकाप्रति पनि आशा मर्दै गएको देखिन्छ”, बैठकमा बोल्दै कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भनेका छन्, “अब धेरै ढिला भइसकेको छ, अब शीर्ष नेताहरू एक ठाउँमा आउनुपर्छ, मुलुकले एउटा नयाँ राष्ट्रिय सहमति खोजेको छ ।”

गौतमले प्रस्ट भाषामा वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । अहिलेको सरकारले जनतामा चरम निराशा बढाएको बताएका गौतमले यही सरकारको कारण राष्ट्रिय संकट चुलिँदै गएको धारणा राखेका छन् ।

यसअघि, शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकमा पनि सांसदहरूले सरकारको खुलेरै आलोचना गरेका थिए । कता–कता कांग्रेस एमालेको योजनामा फस्दै गएको त होइन ? भन्ने चिन्ता सांसदहरूको छ ।

“प्रधानमन्त्रीले गरिरहेको कार्यले कांग्रेसप्रति नकारात्मक दृष्टिकोण बन्न सक्छ, अहिले के हो भन्ने अन्योल छ”, सभापति शेरबहादुर देउवालाई प्रश्न तेर्स्याउँदै सरिता प्रसाईंले भनेकी थिइन्, “तपाईं पनि धेरै सोझो हुनुहुन्छ, कतै धोका त हुँदैन, ख्याल गर्नुस् सभापतिज्यू !”

अर्का सांसद हृदयराम थानीले प्रधानमन्त्री ओलीले कांग्रेसलाई पाखा पन्छाउने खतरा बढेको भन्दै आशंका व्यक्त गरेका थिए । “सत्ता परिवर्तनबारे बाहिर पनि चर्चा हुँदै छ । म्याजिक नम्बर, उथलपुथल बाहिर हुनुहुन्छ । उहाँहरूलाई धेरै बेर बाहिर बस्न गाह्रै भएको होला । यस्तोमा विचार पुर्‍याउने कि ?”, बैठकमा बोल्दै सांसद हृदयराम थानीले भनेका थिए, “प्रजातान्त्रिक विचार भएका दलसँग दूरी कायम नगरे हुन्थ्यो । ठिकै ठाउँमा राख्ने हो कि ?”

टसमस छैनन् देउवा

विशेषगरी कांग्रेस सभापति देउवाको वैशाख दोस्रो साता भएको बैंकक भ्रमणसँगै नेपाली राजनीतिमा सत्ता समीकरण फेरबदलको चर्चा चुलिएको थियो । जससँगै केही नेताहरूले खुलेर विकल्प खोज्ने शैलीमा बोलेका थिए ।

हुन पनि सतहमा देखिएका घटनाक्रम प्रश्न उठाउने खालका छन् । सामान्य गभर्नर नियुक्तिको विषयले गठबन्धनबिच असामान्य विवाद निम्त्याएको छ ।

सँगै, कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ ‘कान्छाराम’को बर्खास्ती र पूर्व मन्त्री मोहनबहादुर बस्नेतविरुद्ध दायर मुद्दाले आशंका थपेको छ ।

तर, समग्र घटनाका बिच सभापति देउवा भने स्थिर देखिन्छन् । उनले सरकार विरुद्ध बोलेका छैनन् । बैंकक भ्रमणबाट फर्किए लगत्तै पनि उनले सरकार छलफलबाटै अगाडि बढेको बताउँदै असन्तुष्टि नरहेको टिप्पणी सुनाएका थिए ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पनि देउवाले गठबन्धन परिवर्तनको सम्भावनालाई ठाडै नकारेका थिए । “…सदनमा कसैको पनि बहुमत पुग्न गाह्रो छ, सबैभन्दा ठूलो पार्टी भएर पनि हामीसँग बहुमत छैन, यसैले बहुमत नभएपछि समीकरण बनाउनुपर्ने बाध्यता छ, यही कारण हामीले एमालेसँग सरकार बनायौँ”, देउवाले भनेका छन् ।

देउवाले ओलीप्रति अथाह विश्वास पनि देखाउने गरेका छन् । ओली गोलघरदेखिको साथी भएको बताउँदै देउवाले अविश्वास गर्ने अवस्था नरहेको बताउने गरेका छन् ।

“ओलीजी र हाम्रो पार्टीको बिचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबिचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ”, चैत १२ मा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा देउवाले भनेका थिए ।

अर्थपूर्ण कुलेश्वर बैठक

सरकारबारे प्रश्न उठिरहेको बेला कांग्रेसमा केही शीर्ष तहका नेताहरू आइतबार (जेठ ४) पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवास कुलेश्वरमा जम्मा भए । श्रेष्ठ निवासको बैठकमा नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र डा. प्रकाश शरण महत सहभागी थिए ।

नेता श्रेष्ठका अनुसार झन्डै ३ घण्टासम्म चलेको बैठकमा समसामयिक राष्ट्रिय राजनीतिदेखि पार्टीभित्रको राजनीतिबारे गहन समीक्षा भएको छ । “हाम्रो भेटघाट एउटा परम्परा हो, यद्यपि राष्ट्रिय राजनीति कता जाँदै छ, पार्टीभित्रको राजनीति कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा हामीले छलफल गरेका छौँ”, बैठकबारे श्रेष्ठले भनेका छन् ।

श्रेष्ठका अनुसार सरकार सही ढंगबाट अगाडि नबढेको निष्कर्ष बैठकको छ । यद्यपि, बैठकले यही सरकारलाई नै प्रभावकारी बनाएर जानुपर्छ भन्ने निर्णय पनि गरेको छ ।

“सरकार सामान्य अपेक्षाअनुसार पनि अगाडि बढ्न सकेन, सामान्य नियुक्तिकै विषयमा अल्झियो, यस्तो शैलीले जनतामा आशा होइन, निराशा बढ्छ भन्ने निष्कर्षमा पुग्यौँ”, उनले भनेका छन्, “तर, भएका गल्तीलाई सुधार गर्नै पर्छ, सत्ता साझेदारबिच थप छलफल गरेर सहमतिलाई अक्षरशः कार्यान्वयन गर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने साझा धारणा हाम्रो छ ।”

बैठकले कांग्रेस–एमालेबिचको सहमतिलाई अक्षरशः कार्यान्वयन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ । “कांग्रेसले एउटा विश्वासको संस्कृति बनाएको छ, जसअनुसार हामीले कसैलाई धोका दिनु हुँदैन, यसमा सभापति पनि स्पष्ट हुनुहुन्छ, हामी पनि स्पष्ट छौँ”, बैठकबारे श्रेष्ठले भनेका छन्, “सहमति कार्यान्वयनमा कहाँ बाधा देखिए, त्यसको समीक्षा गर्नुपर्छ, तर सहमति कार्यान्वयनमा तलमाथि गरिनु हुँदै भन्ने हाम्रो साझा धारणा हो ।”

कुलेश्वर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गरेको प्रस्तावबारे पनि छलफल भएको छ । जसलाई नेताहरूले ठाडै अस्वीकार गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

“प्रचण्डप्रति विश्वास मान्ने अवस्था छैन, विगतमा उनीबाटै हामीलाई धोका भएको हो, फेरि पनि धोका हुँदैन भन्ने अवस्था छैन”, श्रेष्ठले भनेका छन्, “हामी प्रस्ट छौँ, असार १७ को सहमतिलाई तोडेर अगाडि बढ्न सकिन्न, प्रचण्डलाई भर मान्न सकिन्न ।”

कुलेश्वर बैठकमा जम्मा भएका नेताहरू देउवा निकटस्थ हुन् । पार्टी नेतृत्वको रूपमा देउवालाई सहयोग गर्ने गरी नै माहौल बनाउन नै छलफलमा जुटेको नेता श्रेष्ठको स्वीकारोक्ति छ ।

सम्बन्धित समाचार

रुँदै-रुँदै एमालेसँगै सहकार्य !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट