

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ ।
तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको आइतबार ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन् ।
उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिइन् ।
‘तीनकुने घटनाको विषयमा हामीले रेगुलर इन्भेस्टिगेसन (अनुसन्धान) भन्दा पनि फास्ट ट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले गम्भीरताका साथ लिएको विषय हो । अनुसन्धान शुक्रबार नै सकिएको छ । अहिले प्रिन्ट हुँदैछ,’ उनले भनिन्, ‘सायद अब एक दुई दिनमा हामी सञ्चारकर्मीबीच आउनेछौं । हामीले के देख्यौं, के पायौं । र, हामी राज्यको ध्यानाकर्षण गराउँछौं ।’
उनले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत आउने बताइन् ।
त्यस क्रममा पत्रकार रजककी श्रीमती सुजनले उक्त घटना योजनावद्ध, षड्यन्त्रमुलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानविनका लागि आयोग समक्ष आग्रह गरिन् ।