

एजेन्सी । साउथ सुपरस्टार विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाको सम्बन्धको बारेमा मिडियामा समाचारहरू आइरहेका हुन्छन् । हालै विजय र रश्मिकाको इन्गेजमेन्टको खबर पनि प्रकाशित भएको थियो ।
हालै एक अन्तर्वार्तामा विजयले इन्गेजमेन्टको खबरलाई अफवाह भनेका छन् । फिल्मफेयर पत्रिकासँगको अन्तर्वार्तामा उनले रश्मिकासँगको सम्बन्ध, आफ्नो विवाह लगायतका विषयमा कुराकानी गरेका छन् । उनले भने, ‘मैले रश्मिकासँग धेरै फिल्म गरेको छैन । मैले उनीसँग अझै धेरै फिल्म गर्नुपर्छ । उनी उत्कृष्ट अभिनेत्री हुन् ।’
‘उनी निकै सुन्दर पनि छिन् । त्यसैले केमेस्ट्रीमा कुनै पनि समस्या नहुनुपर्ने हो । उनी निकै मेहनती पनि छन् । आफ्नो इच्छाशक्ति र आत्मविश्वासले कुनै पनि कुरालाई हराउन सक्छिन् । उनी दयालु छिन् र आफूभन्दा पनि अरूको खुसीलाई प्राथमिकता दिन्छिन्,’ विजयले भने ।
अन्तर्वार्तामा उनले रश्मिकासँग डेट गरिरहेको कुरालाई न त स्वीकार गरे न त अस्वीकार नै । उनले भने, ‘म विवाह गर्न चाहन्छु । तर, अहिले म पार्टनरको खोजीमा छैन ।’ विजयलाई ‘के रश्मिका तपाईंले खोजेको आदर्श पत्नीको भूमिका फिट हुन्छिन् ?’ भनेर सोधिएको थियो । जवाफमा उनले भने, ‘कुनै पनि राम्रो हृदय भएको महिला यसमा फिट हुन्छिन् ।’
रश्मिका र विजय प्रायः सँगे देखिन्छन् । दुवै कयौँ पटक डेटमा जाँदै गरेको देखिएका छन् । त्यसैले दुवै प्रेम सम्बन्धमा छन् भन्ने हल्ला चल्ने गरेको छ । तर, दुवैले आफ्नो सम्बन्धलाई औपचारिक रूपमा स्वीकार भने गरेका छैनन् ।