‘महाभोज’ : गोली ठोकेर मान्छे मार्नु मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हो-Sutra News

‘महाभोज’ : गोली ठोकेर मान्छे मार्नु मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हो

आइतबार, ४ जेष्ठ २०८२

आइतबार, ४ जेष्ठ २०८२

काठमाडौं । जेठ १५ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार क्युएफएक्सको राइजिङ हलमा आयोजित पत्रकार सम्मेलनमा झण्डै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।



ट्रेलरले सहकारी ठगीका पीडितको मर्मस्पर्शी कथालाई झल्काएको छ। सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र नभई ज्यान नै गुमाउन पुगेका बचतकर्ताको समस्यालाई कथाको रुपमा देखाइएको छ। त्यस्तै, आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिक रूपले चलखेल गर्नेहरूको दम्भलाई ट्रेलरमा देखाइएको छ।

समस्याग्रस्त सहकारीले निक्षेपकर्ता र उनीहरूलाई पारेको असरको कथा यसमा छ। सहकारी प्रकरणलाई लिएर हालै मुलुकमा भएका घटनालाई पनि फिल्मले चित्रण प्रयत्न गरेको छ। झट्ट हेर्दा रास्वपा सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको घटना पनि ट्रेलरमा प्रस्तुत भएको छनक देखिन्छ।

सहकारी संस्थामा पहुँच राख्नेले आफ्नो पद र पदवीको फाइदा उठाउँदै कसरी सर्वसाधारणको रकमलाई निजी विलासी जीवनमा प्रयोग गर्छन् भन्ने कथानकलाई ट्रेलरले उजागर गरेको छ।

निर्देशक दिनेश राउतले भने, ‘हाम्रो समाजका माथिल्ला स्तरका केही मानिसहरूले तल्लो स्तरका मानिसहरूलाई प्रयोग गरी कसरी आफ्नो बिलासी जीवन जिउँछन् भन्ने कथा यो चलचित्रको हो, सहकारीको कथा एक कारक मात्र हो।’

फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायत कलाकारको अभिनय छ।

विकास सुवेदीले पटकथा लेखेका हुन्। फिल्मलाई क्लक वर्क क्रियसन र पिक्चर फ्रेमले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट