कालो हरिण शिकार प्रकरण : सलमान मात्र होइन, सैफ, तब्बु र सोनाली पनि कानुनी घेरामा-Sutra News

कालो हरिण शिकार प्रकरण : सलमान मात्र होइन, सैफ, तब्बु र सोनाली पनि कानुनी घेरामा

आइतबार, ४ जेष्ठ २०८२

आइतबार, ४ जेष्ठ २०८२

एजेन्सी । कालो हरिण शिकार प्रकरण झन बल्झिने संकेत देखिएको छ, जसले अभिनेता सलमान खान मात्र होइन, यसअघि सफाइ पाइसकेका सैफ अली खान, तब्बु, नीलम र सोनाली बेन्द्रेलाई समेत फेरि कानुनी झमेलामा पार्ने सम्भावना बढाएको छ।



राजस्थान उच्च अदालतमा गत शुक्रबार भएको सुनुवाइमा राज्य सरकारले ‘लिभ टु अपिल’ दर्ता गर्दै ट्रायल कोर्टले दिएको सफाइको निर्णयविरुद्ध पुनरावलोकनको माग गरेको हो। न्यायाधीश मनोजकुमार गर्गको इजलासले सबै मुद्दाहरूलाई एकैपटक सुनुवाइका लागि सूचीबद्ध गर्न आदेश दिएको छ। अदालतले अब आउँदो जुलाई २८ मा दुवै पक्षको पुनरावेदन एकसाथ सुन्ने तयारी गरेको छ।

सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङका क्रममा जोधपुरको कानकनी गाउँमा सलमान खानसहित अन्य कलाकारले प्रतिबन्धित कालो हरिणको शिकार गरेको अभियोग लागेको थियो। यस प्रकरणमा ट्रायल कोर्टले सन् २०१८ मा सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो। तर सैफ, तब्बु, नीलम, सोनाली र दुष्यन्त सिंहलाई भने प्रमाणको अभाव भन्दै सफाइ दिएको थियो।

तर अहिले उक्त सफाइविरुद्ध सरकारी अधिवक्ता महिपाल बिश्नोईले पुनः अपिल गर्दै मुद्दालाई पुनरावलोकनमा ल्याएका छन्। “दुवै मुद्दा एउटै घटनासँग सम्बन्धित भएकाले एउटै इजलासबाट संयुक्त सुनुवाइ आवश्यक छ,” बिश्नोईले बताएका छन्।

योसँगै, यसअघिको सजायविरुद्ध उच्च अदालतमा जमानतमा रहेका सलमान खानमाथिको फैसला पनि पुनः विश्लेषणमा पर्ने भएको छ। अदालतले लिएको पछिल्लो मोडले कालो हरिण शिकार प्रकरणलाई नयाँ मोडमा पुर्‍याएको छ, जहाँ अब सबै आरोपी फेरि कानुनी चुनौतीको सामना गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट