

एजेन्सी । ब्रह्माण्डमा जीवनको सम्भावनाबारे चासो राख्नेहरूका लागि नयाँ खोज उत्साहजनक देखिएको छ। नासाको जेम्स वेब टेलिस्कोपले पृथ्वीबाट १५५ प्रकाश वर्ष टाढा रहेको ताराको वरिपरि पानीको क्रिस्टलीय बरफको घेरा फेला पारेको छ- जुन वैज्ञानिकहरूका अनुसार ग्रह निर्माणको प्रारम्भिक संकेत हो।
एचडी १८१३२७ नामक यो तारा अझै बाल्यकालमै रहेको बताइएको छ- यसको आयु मात्र २३ मिलियन वर्ष हो, जबकि हाम्रो सूर्यको उमेर ४.६ अर्ब वर्ष छ। वैज्ञानिकहरूका अनुसार उक्त ताराको वरिपरि बरफ र धुलोले बनेको ‘डस्ट डिस्क’ नामक संरचना फैलिएको छ, जसलाई ग्रह निर्माणको आधार मानिन्छ।
“हामीले पत्ता लगाएको पानीको बरफ पूर्णरूपमा क्रिस्टलीय छ, जसरी शनि ग्रहको छल्ला वा सौर्यमण्डलको कुइपर बेल्टमा पाइन्छ,” अनुसन्धानमा संलग्न वैज्ञानिक क्रिस्टिन चेनले भनिन्, “हामीले त्यहाँबाट संकलन गरेका तथ्याङ्कहरू हाम्रो आफ्नै सौर्यमण्डलका वस्तुसँग मेल खान्छन्।”
विशेषगरी जीवनको लागि आवश्यक तत्व- पानी- यसरी टाढाको ताराको प्रणालीमा फेला परेको यो पहिलो प्रमाण हो, जसले वैज्ञानिकहरूलाई पृथ्वीबाहिर जीवनको सम्भावनाबारे गहिरो चिन्तनमा डुबाएको छ।
जेम्स वेब टेलिस्कोपले यसअघि पनि धेरै ताराहरूको अध्ययन गरिसकेको छ, तर यस्तो स्पष्ट रूपमा क्रिस्टल जस्तै स्वच्छ पानीको बरफसहितको डस्ट डिस्क भेटिएको घटनाले पृथ्वीबाहेक अन्य ‘बसोबासयोग्य’ संसारहरूको खोजलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
यो खोजले अब जीवनको सम्भावना खोज्ने वैज्ञानिक दृष्टिकोण मात्र होइन, भविष्यमा ब्रह्माण्ड बुझ्ने हाम्रो आधारभूत सोचलाई समेत पुनःपरिभाषित गर्न सक्छ।