

काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार थापा, माेक्तानसँगै निलम्बित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कानुन अधिकृत गोकुल भुजेल, इन्जिनियर निरन्जन लामिछाने, नगरपालिकाका इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई विपक्षी बनाइएको छ।
अख्तियारकाे अभियोगपत्रअनुसार सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रुपमा उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरिएकाे थियाे ।
अख्तियारले उनीहरूबाट ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गरेकाे छ ।