अमेरिकामा ३७८ वर्षको जेल सजाय तोकिएका नेपालका अजय कुमार देवको दोष प्रमाणित उल्टियो-Sutra News

अमेरिकामा ३७८ वर्षको जेल सजाय तोकिएका नेपालका अजय कुमार देवको दोष प्रमाणित उल्टियो

आइतबार, ४ जेष्ठ २०८२

आइतबार, ४ जेष्ठ २०८२

क्यालिफोर्निया । अमेरिकामा नेपाली मूलका अमेरिकी नागरिक अजय कुमार देवको २००९ मा भएको बलात्कारसम्बन्धी दोष प्रमाणित अमेरिकी अदालतले उल्टाएको छ। योलो काउन्टी सुपीरियर कोर्टकी न्यायाधीश जानीन बेरोनियोले २०२५ मे १६ मा हाबियस कोर्पस (Habeas Corpus) निवेदनको सुनुवाइपछि देवको ३७८ वर्ष ४ महिनाको जेल सजाय रद्द गर्ने आदेश दिएकी हुन्।



देवमाथि आफ्नी अंगीकृत छोरीलाई १९९९ देखि २००४ सम्म पटक–पटक बलात्कार गरेको अभियोग लागेको थियो। उनीमाथि ७६ वटा गम्भीर अभियोगहरू थिए जसमा बलात्कार, यौन आक्रमण, अश्लील कार्य र धम्की समावेश थिए ।

अभियोजन पक्षले देव र पीडितबिचको फोन कुराकानीको अनुवादलाई मुख्य प्रमाणका रूपमा प्रस्तुत गरेको थियो। तर सो अनुवाद पीडितले आफैँ गरेका कारण निष्पक्षता र सटिकतामाथि प्रश्न उठाइयो। नयाँ अनुवादमा देवले कुनै स्वीकारोक्ति नगरेको स्पष्ट देखिएको छ।

साथै, डिजिटल प्रमाण (जस्तै: फेसबुक म्यासेज) मा पीडितले पैसा मागेको र मुद्दा फिर्ता लिने धम्की दिएको जानकारी सार्वजनिक भएको छ। यी नयाँ प्रमाणहरूकै आधारमा अदालतले देवको दोष सिद्धिमा त्रुटि भएको स्वीकार गर्दै पुनरावलोकनको आदेश दिएको हो।

अजय कुमार देवको जन्म नेपालमा भएको हो। १३ वर्षको उमेरमा अमेरिका सरेका उनी क्यालिफोर्नियाको डेविस सहरमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए। नेपाली समुदायमा उनी निकै सक्रिय थिए।

अदालतको पछिल्लो निर्णय सुनुवाइपछि अदालतले देवलाई तत्काल रिहा गर्न आदेश दिएको छ। तर, अभियोजन पक्षले चाहेमा पुनः मुद्दा दर्ता गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट