

काठमाडौं । सरकार गठबन्धनभित्र तीव्र असहमति विकास भएको चर्चाका बिच शनिवार कांग्रेस संसदीय दलको बैठक बस्यो । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा बहुसंख्यक सांसदहरूले गुनासो टिपाए । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसप्रति हेपाइको व्यवहार गरेको भन्दै असन्तुष्टिसहित नेतृत्वलाई सचेत बनाए ।
सरकार नेतृत्वबाट एमालेले आफ्नालाई जोगाउने र अरूलाई सिध्याउने शैलीमा अघि बढेको भन्दै सांसदहरूले गुनासो पोखेका छन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटीमा छुटेकी सांसद माया राई बैठकमै रोएकी थिइन् । उनले आफूलाई फसाइएको बताइएकी छिन् ।
“ममाथि अन्याय भयो । मेरो कुनै संलग्नता छैन”, उनले भनेकी थिइन्, “अरूले सदस्य बनाइदिएको हो । बैठकमा मात्रै गएको हो । कहीँकतै देखियो वा सही गरेको फेला पार्नुभयो भने कारबाही गर्नुस्”, राई रुँदै भनेकी थिइन् ।
सांसदहरूले लेखा समिति सभापति ऋषिकेश पत्नी अन्जलालाई एकै दिनमा प्रक्रिया पूरा गरेर निकाल्ने तर, कांग्रेसका सांसदलाई मिलाइ–मिलाइ फसाइएको भन्दै आक्रोश पोखेका थिए । “साथीहरू अन्यायमा परेका छन्, रोइरहेका छन्, धेरै पीडादायी छ । यसमा सभापति गम्भीर बन्नुस्, साथीका आँसु र पीडा हेरिरहने स्वीकार्य हुँदैन”, सांसद शंकर भण्डारीले भनेका छन् ।
बैठकमा टेरामक्स प्रकरणमा मुख्यलाई जोगाएर नीतिगत निर्णय गरेको र कार्यान्वयनमा समेत भूमिका नखेलेको मोहन बस्नेतलाई मुख्य आरोपित मानेर मुद्दा प्रक्रिया अघि बढाइएकोमा सांसदहरूले आपत्ति जनाएका थिए । टेरामक्समा सिधा–सिधा बस्नेतलाई फसाइएको आरोप कांग्रेस सांसदहरूको छ ।
सांसद हृदयराम थानीले गठबन्धनबारे पुनर्विचार गर्न सुझाएका थिए । “म्याजिक नम्बर, उथलपुथल बाहिर हुनुहुन्छ । उहाँहरूलाई धेरै बेर बाहिर बस्न गाह्रै भएको होला । यस्तोमा विचार पुर्याउने कि रु प्रजातान्त्रिक विचार भएका दलसँग दूरी कायम नगरे हुन्थ्यो । ठिकै ठाउँमा राख्ने हो कि ?”, थानीले भनेका थिए ।
यद्यपि, सभापति शेरबहादुर देउवाले सरकारबाट भएका निर्णयहरूलाई पूर्वाग्रही र राजनीतिकरूपमा नहेर्न सुझाएका छन् । उनले सबै कुरा छलफलबाट विवाद टुङ्ग्याउने आश्वासन दिएका छन् ।
सँगै, सभापति देउवाले तत्काल गठबन्धन फेर्ने अवस्था पनि नभएको कुरा सांसदहरूलाई प्रस्ट्याएका छन् । उनले नमिलेका कुराहरू मिल्दै जाने भन्दै देउवाले बाहिरी हल्लाको पछि नलाग्न सांसदहरूलाई सुझाएका छन् ।
“माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना छैन, सरकार परिवर्तनको कुरा सोचेका छैनौँ”, बैठकपछि सञ्चारकर्मीसँगको छलफलमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भनेका छन्, “माओवादी नेताहरूसँग छलफलपनि संयोग मात्रै हो, त्यसको त्यस्तो अर्थ छैन ।”
यद्यपि, शनिवारको बैठकमा स्वयं देउवाबाटै दिइएको प्रष्टीकरण अस्पष्ट भएको नेताहरूको भनाई छ । गठबन्धनभित्रको विवादलाई सल्टाउँछु भनेका देउवाले के–कसरी सल्टाउने भन्ने योजना नदेखाएको नेताहरू बताउँछन् ।
मुख्यगरी गभर्नर नियुक्तिको सन्दर्भमा देखिएको विवादबारे देउवाले ‘हामीले नै चाहेअनुसार हुन्छ’ भन्ने पनि जवाफ स्पष्ट नभएको एक सांसद बताउँछन् । बैठकमा सांसद रामहरि खतिवडाले ‘गभर्नरमा के–कस्तो कार्ड खोलिएको हो, स्पष्ट हुनुपर्ने’ बताएका थिए ।
१० महिनाको सत्ता सहकार्यको बिचको कांग्रेस–एमालेबिच थुप्रै विषयमा असमझदारी विकास भएको छ । विशेषगरी सरकारबाट हुने नियुक्ति र निर्णय प्रधानमन्त्री ओलीले एकलौटी हिसाबले गर्दै आएको भन्ने गुनासो कांग्रेसभित्र देखिन्छ । तर, देउवाले भने गुनासोलाई दबाउँदै गठबन्धनप्रति बफादार शैलीमा आफूलाई उभ्याउँदै आएका थिए ।