

चलचित्रको कथा लेख्नका लागि सामान्यतया तीन वटा तरिका हुन्छन् । पहिलो कथाकारले फिल्मको ‘विषय’ वा ‘विचार’ बताउँछन्। यदि निर्माता वा निर्देशकलाई मन पर्यो भने उसलाई कथा विकास गर्न भनिन्छ। कथाकारले विस्तृत रूपरेखा तयार गरी निर्माता-निर्देशकलाई सुनाउँछन्। मन पर्यो भने कलाकारलाई सुनाइन्छ र स्वीकृति पाएपछि । स्क्रिप्ट तयार गर्न लगाइन्छ।
अर्को तरिका भनेको निर्माता वा निर्देशकले आफूले यस्तो कथामा फिल्म निर्माण गर्न चाहेको भनी स्क्रिप्ट लेखक/कथाकारलाई ‘विचार’ वा ‘विषय’ दिन्छ। जसको माध्यमबाट कथाकारले कथाको रूपरेखा विस्तृत तयार गरी सुनाउँछ। निर्देशक वा निर्मातालाई कथाको विस्तृति मन पर्यो भने कुरा अगाडि बढ्छ।
तेस्रो तरिका हो- कथाकारसँग कथाको रूपरेखा तयार हुन्छ। सुनेपछि निर्माता–निर्देशकलाई मन पर्यो भने या उनीहरूलाई चित्त बुझ्यो भने प्रोजेक्ट अगाडि बढ्छ। एउटा निर्माता–निर्देशकलाई कथा मन परेन भने अर्कोलाई पनि मन नपर्ने भन्ने अवश्य हुन्न, किनभने निर्देशकले कथा मन पराउँदा धेरै कुरालाई ध्यानमा राख्नुपर्छ, जस्तै उक्त कथामा को को पात्र अर्थात् चलिरहेको कुन कुन कलाकारलाई त्यो कथामा उसको भूमिका सुहाउँदो हुन्छ भनेर कल्पना गर्नुपर्ने पनि हुन्छ। कथा चयनमा सिङ्गो फिल्मको चरित्र को को हुन सक्छ भनेर सम्भावनाको कल्पना गरिन्छ। त्यो सम्भावना लेखकले सोच्दैन किनकि उसको काम कथा निर्माण गर्ने हो, चरित्र निर्माण गर्ने हो, पात्र चयन होइन । पात्र चयनको काम निर्देशकको हो।
कतिपय निर्माता र निर्देशक कथाकारसँग बसेर कथा निर्माणमा आफैँ योगदान पुर्याउछन। अहिले चलेका कतिपय नेपाली फिल्मका कथाहरू कसैले नि नभनेका कथा भने होइनन् । फिल्मी कथाहरूमा, पात्रहरूको वास्तविकतासँग कुनै सम्बन्ध हुँदैन । मिलेको जस्तो लाग्नु स्वाभाविक हो। दुनियाँ ठुलो छ। कुनै न कुनै कथा कुनै न कुनै मानिसको जिन्दगीसँग अवश्य मेल खान्छ ।
धेरैजसो फिल्ममा यस्तो ‘स्थिति’ बनाइन्छ जुन वास्तविकताभन्दा धेरै टाढा हुन्छ र केही अनौठो पनि हुन्छ। हामीले पुराना नेपाली फिल्महरूमा पनि यो कुराहरू पाउँछौ । कथाहरू कम लेखिने र फिल्महरू कम बनिने ‘कुमारी’, ‘सिन्दूर’ र ‘जीवन रेखा’को बेलामा एउटा फिल्म ४-५ महिनासम्म हलबाट उत्रँदैनथ्यो। अर्को हलमा लाउने फिल्म नभएपछि, लगाइरहेको फिल्म उतार्नु पो किन ? चले पनि चल्थ्यो अनि नचले पनि चल्थ्यो।
फिल्मका कतिपय कथाहरू काल्पनिक वर्गमा पनि पर्छन्। नेपाली फिल्म अझैसम्म पनि भारतीय सिनेमाबाट प्रभावित छन् भन्दा शिर झुकाउनु पर्ने केही कुरा छैन। सन्सारको साहित्य सन्सारले पढ्छ। प्रभाव पर्छ। ठुलो कुरा गरेर केही हुन्न। हिन्दी धारावाहिक टेलिफिलिम ‘रामायण’को कथा नै फिल्मको कथाको आधारभूत आधार थियो त्यति बेला निर्माण भएका नेपाली चलचित्रमा समेत । संस्कृत कथामा रामजस्तो आदर्श नायक जो फिल्ममा पनि नायक हुनुपर्ने युग थियो, नायिका चाहिँ सीता जस्तै आदर्श नारी हुनुपर्ने भन्ने कुराले पनि लामो समयसम्म प्रभाव जमाइरह्यो।
राम सीतासँग हनुमानजस्तै वफादार सहयोगी र रावण जस्तो खलनायक थियो। साहित्यको यो प्रभाव पचासौँ वर्षको फिल्म निर्माणको इतिहासमा परिरह्यो।
रामायण र महाभारत साहित्यको सबै घटनाहरू पात्रहरूको प्रभाव फिल्मी साहित्यमा लामो अवधिसम्म परिरह्यो। भारतीय चलचित्रमा सत्य जित रे को उपस्थिति र प्रविधिमा आएको परिवर्तनको कारण फिल्म निर्माणमा परिवर्तन आउन थाल्यो। युग परिवर्तन , समाज परिवर्तन , मानिसका निजी चरित्रमा आइरहेको व्यापक परिवर्तनले केही वर्ष यता निर्माण भएका चलचित्रको कथाले नयाँ मोड लिएको छ । जसमा अहिले चलचित्रको कथाको नायक वा नायिका प्रायः अपराधी, तस्कर वा तस्कर वा अपराधीको बिचमा फसेका साहसी युवा युवती हुन थालेका छन्।
बदला लिने चलचित्र बन्न थालेदेखि अदालत वा समाजबाट न्याय नपाएमा वा न्याय नपाउने अवस्था आएमा अपराधीबाट यातना भोगेका नायक–नायिकाले आफैँ अपराधीबाट बदला लिन्छन् । आजकल नयाँ मोड आएको छ, जसमा राजनीतिक सामाजिक पृष्ठभूमिमा पनि प्रतिशोधात्मक फिल्म बन्न थालेका छन्। प्रेम पृष्ठभूमि मा थुप्रै नेपाली चलचित्र निर्माण भएका छन्। प्रेम विषय पुरानो लाग्न थालेका छन्।
अब फिल्म सामाजिक कथामा र राम्रो कन्टेन्टमा बन्नु जरुरी छ । अहिलेको समाज कस्तो अवस्थाबाट गुज्रिएको छ? र सिनेमाको पर्दामा देखिएको कथा त्यो मेरो आफ्नो कथा हो भन्ने कुरा हरेक दर्शकले महसुस गर्नु जरुरी देखिन थालेको छ। कुनै बेला रामायण र आदर्श पात्रमा बन्ने फिल्म पछि आएर बदला र फाइट बेसमा बनेका फिल्म चले। अब फिल्मले धार बदलेको छ । अब हिरो बेसमा, माया प्रेमको बेसमा बनेका फिल्मलाई दर्शकले नरुचाउने भइसके। दर्शक फरक स्वाद चाहन्छन् अब ।
काल्पनिक नै सही फिल्म गतिशील हुनुपर्छ , केही वर्ष फिल्म उद्योग ध्वस्त बन्यो। खास गरेर कोभिड पछि विश्व अर्थतन्त्र धेरै समय मुर्झायो। मानिसहरूका आय आजको गतिमा तीव्र ब्रेक लाग्यो। यो बिचमा केही फिल्म बने तर बक्स अफिसमा फ्लप भए । पारिवारिक सामाजिक चलचित्र निर्माण पनि भएको हो तर तिनले पानी पनि पिउन पाएनन् । अहिले मनोबिनोदी, सामाजिक हास्य रसमा र यथार्थवादमा आधारित भई बनिने फिल्महरू चल्छन् । यसको उदाहरण छक्का पन्जाका सबै शृङ्खला लगातार हिट हुनुले पनि प्रमाणित गर्छ।
कहिलेकाहीँ, कथा बनाउनको लागी, केही प्रकारको क्यारेक्टरहरूको निर्माण गरिन्छ र घटनाहरूलाई आधार मानिन्छ। फिल्मको कथाका लागि एउटा सूत्र बनाइएको हुन्छ । त्यसमा केही नाटक तत्त्व , केही खुसी–दुःख, पिडाको अवस्था र केही उतारचढाव कार्य अनिवार्य मानिन्छ । ‘क्लाइम्याक्स’ पनि फिल्मको कथाको अत्यावश्यक अङ्ग हो । नेपाली चलचित्र उद्योगमा लेखकहरूलाई खासै महत्त्व दिइएको छैन र उनीहरूलाई राम्रो पारिश्रमिक दिइएको पनि छैन। पारिश्रमिकले मिहिनेतमा प्रभाव पार्छ नै तर यो कुरा फिल्म निर्माताले बुझिसकेको अवस्था छैन।
कथा फाइनल भएपछि यसको स्क्रिप्ट लेखिन्छ । यसलाई ‘स्क्रिन प्ले’ वा ‘सेनारियो’ पनि भनिन्छ। पटकथा लेखकले मूल कथानक विस्तार गर्दछ। प्रत्येक दृश्य अलग-अलग लेखिनु पर्ने हुन्छ। यो कामका लागि क्यामेरासँग सम्बन्धित ज्ञानका साथसाथै दर्शकलाई कस्तो किसिमको दृश्यले प्रभाव पार्छ भन्ने कुरा पनि जान्नु जरुरी छ । पटकथा लेखकले पनि विभिन्न दृश्यबिच समन्वयताको बारेमा थाहा पाउनु जरुरी हुन्छ । एउटा स्क्रिन प्ले लेखकले आफ्नो सिर्जनात्मक क्षमताको भरपुर उपयोग गर्नु जरुरी छ। फिल्मको सुरुवात र अन्त्य निकै प्रभावकारी हुनुपर्छ भन्ने कुरामा पनि त्यतिकै ध्यान दिनुपर्छ ।
पटकथा लेखनको प्रक्रिया अनुसार सबैभन्दा पहिले निर्माताले पटकथा लेखकसँग सम्झौतामा हस्ताक्षर गर्छ। कथाकार आफैँले पनि पटकथा लेख्न सक्छ निर्माताले पटकथा लेखनमा हस्तक्षेप नगर्दा नै राम्रो हुन्छ।
यसपछि कथाकार, पटकथा लेखक, निर्देशक, निर्माता र संवाद लेखक तय भएपछि दुई चार पटक विस्तृत छलफलमा बस्नुपर्छ । सबैभन्दा पहिले कथाकारले आफ्नो कथालाई विस्तृत रूपमा भन्नुपर्छ । त्यसपछि कथामा के राम्रा र के कमजोर पक्षहरू छन् त्यसबारेमा बहस चलाउनुपर्छ । अनि कथाका कमजोर बिन्दुहरू हटाइन्छ। त्यसपछि निर्देशक र निर्माताले आ-आफ्ना आवश्यकताहरू छलफल गर्छन् र कथामा अन्य कलाकारहरू समावेश गर्ने बारे पनि छलफल हुनुपर्छ । कलाकारहरूका लागि पात्रहरू सिर्जना हुन्छन् र उनीहरूले कथामा कस्तो योगदान दिने भन्ने कुरा तय हुन्छ। उदाहरणका लागि सामाजिक कमेडियन खालको कथा छ भने सामाजिक हास्यव्यङ्ग्य फिल्मका लागि उपयुक्त पात्र पनि उक्त छलफलमा रहनुपर्छ । कहिलेकाहीँ एउटा नायकको कथामा अर्को नायक पनि समावेश गर्नुपर्छ । अब यही बिचमा कति वटा गीत हुनेछन् ? कस्तो खालको गीत हुनेछ भन्ने पनि सोचिएको हुन्छ । कथाले गीत माग्दैन। गीत जवर्जस्त राख्ने चलन पनि छ। गीतले हिट भएका चलचित्र पनि छन्।
दोस्रो चरणमा कथालाई कसरी निर्देशन गर्ने भन्ने टुंगो लगाइन्छ । त्यहाँ दुई वटा कुराले प्रमुखता पाएको हुन्छ। एउटा प्रत्यक्ष कथन र अर्को फ्ल्याशब्याक कथन हो। फ्ल्यासब्याक र फ्ल्याश फरवार्डहरू पनि कहिलेकाहीँ शृङ्खलाहरूमा प्रयोग गरिन्छ। फ्ल्यास ब्याकमा नायक वा पात्रको परिचय हुन्छ र त्यो पात्रले अर्को चरित्रलाई वर्णन गर्दछ कथाको बिचमा पनि कथामा पहिले भएको घटनालाई सम्झाउन प्रयोग गरिन्छ र एउटै पात्रको साथ समाप्त हुन्छ। फ्ल्यास फर्वार्डको अर्थ पात्रले गरेको कुनै पनि कार्यको परिणाम र त्यसको माध्यमबाट चरित्र र कथामा चरम नाटक सिर्जना गर्नु हो।
तेस्रो चरणमा पटकथा लेखन सुरु हुन्छ। यसमा सबैभन्दा पहिले फिल्म कहाँबाट सुरु हुन्छ र त्यसपछि एकपछि अर्को दृश्य कस्तो हुन्छ भन्ने कुरा तय हुन्छ । फिल्मको क्लाइमेक्स कहिले यो चरणमा तय हुन्छ त कहिले पछिका लागि छोडिन्छ। यो लिपि धेरै लचिलो हुनुपर्छ , जुन समय र स्थान अनुसार परिवर्तन गर्न सकिन्छ। पटकथा लेखनका दुई ढाँचा हुन्छन्, एउटा ‘वन लाइन स्क्रिन प्ले’, यसमा दृश्यहरू विस्तृत रूपमा लेखिएका हुँदैनन्, दृश्यमा के भन्नु पर्ने मात्रै लेखिन्छ र सुटिङको योजना बनाउँदा लेखक, निर्देशक, निर्माता बसेर दृश्य विस्तृत रूपमा सिर्जना गरिन्छ र संवाद लेखकलाई संवाद लेख्न दिइन्छ। खास गरेर हिजोआज निर्माण हुने चलचित्रमा कथा लेख्नेलाइ नै पटकथा र संवाद समेत लेख्न लगाइन्छ। यसो गर्दा कथा र दृश्यमा एकरुपता आउन मद्दत मिल्छ। यसो गर्दा फिल्म कमजोर हुने सम्भावना पनि कम हुन्छ । दोस्रो तरिका हो जसमा स्क्रिप्ट र दृश्यहरू पूर्ण र विस्तृत रूपमा लेखिएको हुन्छ।
पटकथा लेखनमा दृश्य परिवर्तनका केही विशेष प्रविधिको ज्ञान पनि आवश्यक हुन्छ। यी मध्ये प्रमुख हुन् विघटन, फेड-इन, फेड-आउट, ब्लर र लामो विघटन आदि। दृश्य परिवर्तनको लागि, जब एक दृश्यबाट अर्को दृश्य उत्पन्न हुन्छ, यसलाई विघटन भनिन्छ। जब कुनै दृश्य पूर्ण रूपमा गायब हुन्छ, यसलाई ‘फेड आउट’ भनिन्छ । पछि, नयाँ दृश्य देखा पर्दा, यसलाई ‘फेड इन’ भनिन्छ।
स्क्रिप्ट लेखन सुटिङको दौरानमा समेत इडिट गर्न सकिन्छ र यो नै फाइनल हो भनेर भन्दा पनि सुटिङ स्पटको सिचुएशनले परिवर्तन ल्याउन पनि सक्छ। यसमा केही थप्न सकिन्छ, केही काट्न सकिन्छ । सेटमा सुटिङ गर्दा अन्तिम मिनेटसम्म परिमार्जन हुन सक्छ। स्क्रिप्ट सुटिङ नगरेसम्म यो एउटा कच्चा पदार्थ हो। नपाकुन्जेल चामललाई खिर बनाए पनि भो भात बनाए पनि भो जाउलो बनाए पनि भो तर जब एक रूपमा पाक्छ अनि परिवर्तन हुँदैन । जति मिहिनेत गर्ने हो कथामा स्क्रिप्टमा संवादमा नै हो। फिल्मको प्राविधिक पक्षमा कुनै कम्प्रोमाइज गर्नु हुँदैन ।
यतिका बाबजुद पनि फिल्महरू असफल हुन्छन् । जनताले कुन फर्मुला स्विकार्ने र कुन फर्मुलालाई अस्वीकार गर्ने भन्ने कुरा भन्न सकिने अवस्था छैन। कहिले सामान्य बजेट सामान्य कथामा बनेको फिल्म नपत्याउदो पाराले हिट भइदिन्छ। फिल्म बुझेकाहरूले फिल्म हेरिदिएर फिल्म हिट हुने होइन । फिल्मको व्यापारबाट करोडौँ रुपैयाँ कमाउन सकिन्छ यो एउटा लकको कुरा पनि हो । रंगीन चलचित्र निर्माण सुरु भएपछि विश्व जगतमा करोडौँ फिल्म बनिसकेका छन्। मनोरञ्जनको क्षेत्र व्यापक हुँदै गएको छ। नेपालमा कयौँ वर्षसम्म हिन्दी फिल्मको प्रभाव रह्यो। हामीले फिल्म निर्माणका प्राविधिक कामदेखि कला क्षेत्रका काम समेत हिन्दी फिल्मबाट नै सिक्यौ। भारतमा कला चलचित्र निर्माणमा सत्यजित रे को भूमिका सदा सम्मानित रहेको छ। नेपाली चलचित्रको इतिहास निर्माणमा प्रकाश थापा देखि तुलसी घिमिरेसम्मको योगदान अतुलनीय छ।
सत्य जित रेले विभिन्न शटहरूको स्केच पनि पहिल्यै बनाइदिन्थे र त्यसैको आधारमा सुटिङ गर्थे। यसको कारण उनी चित्रकार पनि हुन् । पटकथा लेखकलाई क्यामेराको ज्ञान हुनु आवश्यक नभए पनि क्यामेराको मुभमेन्टको ज्ञान भएमा पटकथा लेखनमा धेरै सहयोग पुग्छ ।
प्रायः पटकथा लेखकले दृश्य कसरी खुल्ने भन्ने निर्णय गर्नुपर्छ। दृश्य कहाँ समाप्त हुन्छ र अर्को दृश्यसँग कसरी जोडिन्छ। यी सबै चीजहरूको लागि, क्यामेरा चालको ज्ञान आवश्यक हुन्छ। उदाहरणका लागि, तपाईँले नजिकबाट एउटा दृश्य सुरु गर्नुभएको छ र तपाईँ उही दृश्यमा थप क्यारेक्टरहरू समावेश गर्न चाहनुहुन्छ, त्यसपछि तपाईँले लेख्नुपर्छ – ट्रली वा जुम पछाडि जान्छ र अन्य क्यारेक्टरहरू दृश्यमा देखा पर्दछन्। त्यसै गरी दृश्य बन्द गर्दा कुन क्यारेक्टरमा दृश्य बन्द हुने र त्यस बेला क्यामेराको पोजिसन कस्तो हुनेछ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ ।
समग्रमा, पटकथा लेखनको आफ्नै व्याकरण छ जुन बुझ्न महत्त्वपूर्ण छ। साढे दुई घण्टा व्यस्त राख्ने र जिज्ञासा कायम राख्ने गरी दर्शकसामु कथा प्रस्तुत गर्नु पटकथा लेखनको मुख्य आधार मानिन्छ । यसका साथसाथै कथाको प्रारम्भ र मध्य मात्र होइन अन्त्य पनि प्रभावकारी हुनु जरुरी छ । यो सिद्धान्त चर्चित हलिउड निर्देशक हिचककको हो ।
दर्शकलाई सुरुदेखि अन्त्यसम्म व्यस्त राख्न सक्ने स्क्रिप्टलाई उत्कृष्ट मानिन्छ। तपाईँले हजुरआमा, हजुरबा वा कुनै बुढापाका आफन्तबाट पनि एउटा कथा सुन्नु भएको होला जसमा कथा सुनाउँदा उनीहरूले तपाईँलाई अब के हुने हो भनी जिज्ञासा राख्थे। हरेक पल्ट मनमा यो प्रश्न उब्जिन्छ, अब के हुन्छ ? अब के हुने हो ? यो जिज्ञासा स्क्रिप्टको मूल मन्त्र हो। फिल्म हलमा दर्शकहरू बोर लागेर हाइ गर्न थाले भने तपाईँले लेखेको स्क्रिप्ट असफल भयो भनी जान्नुस्।