

काठमाडौं । विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोका १४ वर्षीय छोरा, क्रिस्टियानो रोनाल्डो जुनियर, पहिलो पटक पोर्चुगलको यू–१५ राष्ट्रिय टोलीमा समावेश भएका छन्। रोनाल्डो जुनियरले आफ्नै पिताको चर्चित र आइकनिक ७ नम्बर जर्सी लगाएर पोर्चुगलको यू–१५ टोलीमा आज औपचारिक रूपमा डेब्यू गरेका हुन् ।
पाँच पटकका बालोन डिओर विजेता क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई मंगलबार पहिलो पटक पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा बोलाइएको हो।
सोमबार आफ्नो छोराको उत्कृष्ट खेल पछि, रोनाल्डोले सामाजिक सञ्जालमार्फत छोरालाई सन्देश पठाएर आफ्नो खुसी व्यक्त गरेका छन्। सन्देशमा रोनाल्डोले लेखेका छन्, डेब्यूको लागि बधाई छ छोरा। तिमीमाथि धेरै गर्व छ । पोर्चुगलको यू-१५ टोलीले मे १३ देखि १८ सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक युवा प्रतियोगितामा जापान, ग्रिस र इंग्ल्याण्डको सामना गर्नेछ।
रोनाल्डो जुनियर हाल साउदी अरेबियाको अल–नासर क्लबको युवा टोलीमा प्रशिक्षणरत छन्, जहाँ उनका पिता क्रिस्टियानो रोनाल्डो पनि खेलिरहेका छन्। उनले यसअघि रियल म्याड्रिड, युभेन्टस, र म्यानचेस्टर युनाइटेडका युवा टोलीहरूमा पनि खेलेका थिए। युभेन्टसमा उनले एक सिजनमा ५८ गोल गरेका थिए।
सन् २००१ मा आफ्नै यू-१५ डेब्यु खेलमा दक्षिण अफ्रिकाविरुद्ध गोल गरेका क्रिस्टियानो रोनाल्डोका लागि यो विशेष खुसीको क्षण हो किनभने उनका छोरा पनि त्यसै मार्गमा अघि बढिरहेका छन्। उनको यो समावेशीकरणले क्रिस्टियानो रोनाल्डो जुनियरको फुटबल करियरमा नयाँ अध्यायको सुरुवात गरेको छ, र भविष्यमा उनले आफ्नो पिताको पदचिह्नमा हिँड्ने अपेक्षा गरिएको छ।
पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता रोनाल्डोका पाँच सन्तान छन्। एजेन्सी