

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नेपालले हिमाली पर्यटनलाई विविधीकरण गर्नुपर्ने बताएका छन्।
बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले नेपालले लामो समयदेखि हिमाली पर्यटनलाई मात्रै ध्यान दिँदै आएको तर हिमाल पग्लिँदै गएको अवस्थामा यसको विकल्पमा धार्मिक र सांस्कृतिक पर्यटनमा जानुपर्ने उल्लेख गरे।
‘पर्यटनलाई हामीले केवल हिमाल केन्द्रित बनाएका छौँ। चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला हुन थालेका छन्। अब सांस्कृतिक र धार्मिक पर्यटक भित्र्याउने केही न केही प्रावधान ल्याउनुपर्छ। रामजानकी मन्दिरलाई अघि बढाएर भारतबाट पर्यटक ल्याउनुपर्छ,’ उनले भने।
उनले बजेट अर्थशास्त्रको विषय भएको भन्दै यो निरस हुने भए पनि जनतासँग जोडिने बताए। आगामी वर्षमा कृषि, रोजगारी, ऊर्जा, पर्यटन र आईटी क्षेत्रमा ध्यान दिनुपर्ने उनको माग छ।
उनले पहाडी क्षेत्रमा विकास भए पनि जनसंख्या घट्दै गएको र बाँदर आतंकले गर्दा बस्न सक्ने अवस्था समेत नरहेको भन्दै खर्च अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताए। ‘कस्तो विकासले हाम्रो जीवनस्तरमा परिवर्तन आउन सक्छ भन्ने छलफल गरौँ,’ उनले भने।
उनले नयाँ आर्थिक वर्षको बजेटमा कृषिको बजेट दोब्बर बनाउन, आईटी ग्रीन इनर्जी र पर्यटनमा आधारित उद्योगलाई कर छुटको व्यवस्था गर्न, नियम अनुगमन र मूल्यांकन प्रणालीलाई मजबुत बनाउन, करदाताको सेवामा ध्यान दिन तथा बजेटलाई कार्यान्वयनयोग्य दस्ताबेजको रूपमा ल्याउन आग्रह गरेका छन्।
उनले हाम्रो देश विभिन्न जातजाति, धर्मभाषीलगायतको पक्षमा यो बजेटले परिवर्तन गर्न सक्दैन, तबसम्म यो बजेटको कुनै अर्थ नरहने उनको तर्क छ। ‘जबसम्म महिलाको, दलितको, जनजातिको, मधेशीको, मुस्लिमको र साना उद्योमीको जीवनस्तरमा यो बजेटले परिवर्तको आशा ल्याउँदैन। तबसम्म यो बजेटको त्यतिधेरै अर्थ रहँदैन। त्यसैले सबै जातजाति-भाषाभाषी नेपालीहरूले यो बजेटलाई विश्वास र आशाको नजरले हेर्न सक्ने बनाउनुपर्छ।, उनले भने।