

काठमाडौं । अभिनेत्री विपना थापाका श्रीमान् डाक्टर आशुतोष भारद्वाजले आफ्नो फेसबुक पोस्टहरूप्रति माफी मागेका छन्।
केही दिनअघि उनको फेसबुकबाट पत्नी विपना थापाविरुद्ध अश्लील शब्दसहितको स्टाटस पोस्ट भएको थियो। आफूहरूकाे सम्बन्ध अन्त्य भएकाे भन्दै उनले अश्लील पोस्ट गरेका थिए।
उनले लेखेका थिए ‘नेपालकी … (अपशब्द)विपना थापासे मेरा काेही सम्बन्ध नहीँ है।’ तर अहिले उनले त्यो पोस्ट केही समय नबित्दै हटाएका थिए।
त्यसैको जवाफमा आशुतोषले आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको दाबी गरेका छन्। उनले हिजो लेखेका छन्, ‘मेरी आइडी अभि भी हैक हे।’
आज अर्को पोस्टमा उनले क्षमा याचना गरेका छन्। ‘मेरी आइडी पर आई पोस्ट के लिए सभी से क्षमा माँगता हुँ,’ आशुतोषले भनेका छन्।
श्रीमानको फेसबुकमा आफूविरुद्ध पोस्ट आएपछि विपना थापा नयाँ दिल्ली उडेकी थिइन्। जानुअघि उनले फेसबुक लाइभमा आएर श्रीमानलाई डिप्रेसन भएको र उनी खराब मान्छे नभएको बताएकी थिइन्।
उनले भनेकी थिइन्, ‘अहिले म दिल्लीको घर जाँदैछु। मेरो श्रीमानले फेसबुकमा अनावसनाव पोस्ट राखेको देखेर तपाईंहरुलाई अचम्म लागेको होला। त्यस्तो केही पनि हैन। उहाँले लामो समयदेखि दबाई खाइरहनु भएको थियो। उहाँलाई अलिकति डिप्रेसनकाे समस्या छ। त्यसमाथी, रक्सी खाने बानीले गर्दा अलिकति यस्तो भइरहेको छ। म यही कुराको समाधानको लागि अहिले घर जाँदैछु। अनावसनाव पोस्ट हालेकोमा अन्यथा नलिनु होला।’
त्यसअघि आशुतोषले विपनाको एक तस्वीर पोस्ट गर्दै हिन्दीमा लेखेका थिए, ‘मेरा और विपना थापाका तलाक हो चूका हे।’ तर, करिब १५ मिनेटपछि उनले उक्त स्टाटस हटाए।
बुझिएअनुसार आशुतोष र विपनाबीच्को सम्बन्धमा दरार आएको केही समय भएको छ। आशुताेषले आफ्नाे सम्बन्धबारे फेसबुक प्राेफाइलमा `सेपेरेटेड´ लेखेका छन्। विपना भने सम्बन्ध जाेगाउन लागेकी छिन्।
आशुतोष भारतीय नागरिक हुन्। उनी पेशाले चिकित्सक हुन् भने भारतीय कांग्रेस पार्टीबाट राजनीतिमा पनि सक्रिय छन्। उनी नेपाली फिल्म ‘वरमाला’को निर्माता समेत हुन्। यही फिल्मको क्रममा विपना र आशुतोषबीच प्रेम अंकुराएको थियो।
सन् २००८ मा दुवै विवाह बन्धनमा बाँधिए। यी दुईको एक छोरा पनि छन्।