

समाजको रुपान्तरण भनेको मानिस धनी हुनु मात्रै होइन। रुपान्तरण त ब्यक्तिको सुख र शान्तिसँग पनि जोडिएको हुन्छ। मानिस सुरक्षा खोज्छ। उस्ले गर्ने आफ्नो निजी काममा कसैको हस्तक्षेप चाहदैन। चोर्ने काम नै किन नहोस्, एउटा चोर पनि प्रहरीको हस्तक्षेपलाई नराम्रो भन्छ। आध्यात्मिकहरु आत्मीय सुखका सौखिन होलान् अनि भौतिकवादीहरु भौतिक सुख र भोगबिलासीका सौखिन होलान्।
ब्यक्तिले ब्यक्तिलाई/समाजलाई दुख र चोट नपुर्याई गरिएका यावत कामहरू गलत होइनन् भन्ने परिभाषा गर्नुपर्छ अब, अनि मात्रै समाजले अग्रता पाउन सक्छ।
हामीले जहिले पनि प्रेम र सेक्सलाई अपरधिकरण गर्यौं। प्रेम गर्नु पाप हो भन्ने भाष्य सिर्जना गर्दै आयो समाजले अझै सेक्सलाई त अबैध मान्यौ। मातृसत्ता बितेर जब पितृ सत्ता सुरु भयो अनि समाजले स्त्रीको सुरक्षा र सरक्षणको जिम्मेवार पुरुषलाई नै तोकिदियो। प्रेम र सेक्समा दुई भौतिक शरीर र दुइटा मनको संयुक्त संयोजन हुन्छ।
आजसम्म हामीले भन्दै आयौ कि, बलात्कारको केसमा केवल पुरुष मात्रै जिम्मेवार हुन्छ र स्त्री निरीह हुन्छिन्, तर अब समय, परिस्थिति, परिवेश र कानुनमा परिवर्तन आउँदै छ- एउटा पुरुष पनि महिलाद्वारा बलात्कृत हुन सक्छ।
भारतको पारिवारिक कानुनमा त यो कुराले धेरै अगाडि प्रवेश पाइसकेको थियो। स्त्रीले खोलेका ब्युटिपार्लर भित्र अहिले महिला भन्दा पुरुषले बढी प्रवेश पाँउछन्। मुस्लिम कानुनमा पनि अब बुर्का अनिवार्य छैन। अब कोहि पनि कसैको दबदबाबमा बस्न चाहदैनन्।
समय बदलिएको होइन, बदलिएको त हामी हौं। हामी बदलिएपछी मात्रै समय बदलिन्छ, कानुन बदलिन्छ र हाम्रो आचार पनि सँगै बदलिन्छ। कानुनले हामीलाई बदलिन उत्प्रेरित गर्छ र त्यसै भएर पनि समय समयमा कानुन देश काल-परिस्थिति अनुसार संसोधन गरिनु अपरिहार्य छ।
हालसालै नेपालको फौजदारी न्याय प्रणालीमा सुधार ल्याउन सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा व्यापक परिमार्जन परिस्कृत र संशोधनहरू ल्याउँदै छ। कानुन महिला मैत्री मात्रै भयो, पुरुष मैत्री पनि हुनुपर्छ भन्ने आवाज आएकोले संसोधन सम्बन्धि मुद्दा अगाडि बढेको हो। नेपालको संविधान २०७२ सँग नबाझिने गरि फौजदारी न्यायप्रणालीमा सुधार ल्याउन लागिएको हो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको संशोधित विधेयकमा अपराध संहिता तथा फौजदारी कार्यविधि संहितामा संशोधनहरू प्रस्ताव गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले महिलालाई पनि बलात्कार र बहुविवाहको मुद्दा लाग्नेलगायत व्यवस्था राखेर मुलुकी अपराध संहिता संशोधनको तयारी गरेको छ।
यसअघि पुरुषको हकमा मात्रै तोकिएको सजाय अब महिलाको हकमा पनि लागू हुनेगरी मन्त्रालयले संहिता संशोधनको मस्यौदा बनाएको छ।
संविधानले दिएको समानताको हकमा पुरुषलाई मात्रै अपराधी करार गर्ने ब्यवस्था अब छिटो अन्त्य हुँदै छ। हालै दोस्रोपल्ट अमेरिकाको राष्ट्रपति भएका ट्रम्पले पनि कानुन महिलाको लागि मात्रै पक्षपोषक भएकोले अब बराबरको कानुन सिनेटबाट पास गराउने तयारीमा छन्।
सहमतिमा दुवैले सेक्सको आनन्द लिने अनि मन बाझिएपछि पुरुषलाई बेइज्जत गर्ने र पुरुषले कमाएको सम्पत्तिको हकभोगको अधिकार पनि खोज्ने महिलाको अधिकारलाई निस्तेज र निष्क्रिय गर्न अमेरिकामा पनि समानताको कानुन लागू हुँदै छ।
हाम्रो फौजदारी कानुन, जसमा बलात्कारको व्यवस्था रहेको दफा २१९ लाई नै प्रतिस्थापन गर्ने प्रस्ताव छ। हाल बलात्कारको परिभाषामा ‘कुनै महिलालाई’ भन्ने व्यवस्था राखिएकोमा अब ‘कुनै व्यक्तिलाई’ भन्ने शब्द थपिएको छ। यसको अर्थ पुरुषमाथि बलात्कार गरेको अभियोग महिलामाथि पनि लाग्ने भएको छ।
त्यस्तै, बहुविवाह गर्न नहुने दफामा पनि संशोधन प्रस्ताव गरिएको छ, जसमा अब ‘विवाहित पुरुष’ भन्ने ठाउँमा ‘विवाहित व्यक्ति’ले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने उल्लेख छ। यसको अर्थ महिलाले पनि कुनै पुरुषसँग वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरे बहुविवाहको अभियोग लाग्नसक्छ।
त्यही पुरुष दोस्रो बिहे गर्दा जेल जाने अनि त्यही स्त्री जो दोस्रो बिहे गर्दा चोखिने परम्परागत कानुनी सोचमा अब परिवर्तन आउँदै छ।
मन्त्रालयले तयार पारेको संशोधित प्रस्तावमा बलात्कारका विभिन्न परिभाषाबारे थप स्पष्ट पारिएको छ। यसअघि ‘नसालु पदार्थ सेवन गराई लिएको सहमति’बारे उल्लेख नभएकोमा अब यस्तो अवस्थामा दिएको सहमतिलाई करणीको स्वतन्त्र सहमति मान्न नसकिने भनिएको छ। साथै ‘इमपरसोनेसन’ अर्थात् ‘अर्को व्यक्ति हुँ’ भनी झुक्यानमा पारेर लिएको सहमतिलाई पनि करणीको स्वतन्त्र सहमति मान्न नसकिने प्रस्ताव छ। यो व्यवस्था पनि हाल विद्यमान कानुनमा छैन।
अब कानुन महिला र पुरुष दुवैका लागि बराबर भन्ने गरि परिभाषित हुँदै छ। एउटी महिलाले पनि पुरुष माथी बलात्कार गर्न सक्छिन् भनेर अब कानुनले नै बोल्दै छ।