

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।
बा.३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल सोमबार बिहान एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।
दुर्घटनामा परेर मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
दुर्घटनामा परेर गुरुङ गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो। त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा परेर सोही मोटरसाइकलमा सवार अर्का एक जना पनि गम्भीर घाइते भएका छन्। उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ।
अर्को मोटरसाइकलमा सवार चालकको पनि उपचार भइरहेको छ।