

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूसँगै आफूसँगै हिँड्न अनुरोध गरेका छन्।
माओवादीको भातृ सङ्गठन किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले धरानका मेयर साम्पाङलाई परिवर्तनका लागि माओवादीसँग सँगै हिँड्न आग्रह गरे।
उनले भने, ‘मैले हर्क साम्पाङ्गलाई यसअघि नै लोकतन्त्रको सुन्दर फुल भनेको छु। यद्यपि उट्पट्याङ कुरा गर्नुहुन्छ। बेलाबेला नकारात्मक कुरा गर्नुहुन्छ। तपाईँले नकारात्मक कुरा गर्न जरुरी छैन। संविधानले दिएको अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस्। भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने र अधिकार प्राप्ति गर्न सडक सदनबाट लडौं। अब मेयरजीले त्यति धेरै नकारात्मक हुनु हुँदैन। हामी सँगै हिँड्न पर्छ।’
माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन सफल नहुने दाबी गर्दै माओवादी कमजोर भए पहिचानको आन्दोलनपनि कमजोर हुने उनको जिकिर छ। माओवादी अध्यक्ष प्रचण्डले गरेको प्रस्तावमा मेयर साम्पाङले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।
तर विगत हेर्दा उनको र माओवादीको सम्बन्ध भने गतिलो छैन। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिलेर नयाँ शक्ति बनाउने अभियानमा रहेका साम्पाङ प्रचण्ड वा माओवादीको पक्षमा खुल्ने सम्भावना निकै न्युन छ। हुन पनि बालेनसँग मिलेर ०८४ सम्ममा दल खोलेर चुनावमा जाने उद्घोष साम्पाङले यसअघि नै सार्वजनिक गैरिसकेका छन्।
अझ प्रचण्ड प्रधानमन्त्री हुँदा धरानका लागी एयरपोर्ट माग गरेका साम्पाङलाई माओवादीबाटै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किराँतीले धरानमा एयरपोर्ट बनाउन नसकिने भनेपछि माओवादीसँग साम्पाङ बिच्किएका छन्।
यसअघि आफू प्रधानमन्त्री हुँदा प्रचण्डले सिंहदरबार जलाइदिन्छु भन्ने स्टाटस लेखेपछि बालेनलाई पक्राउ गर्न तत्कालीन सत्ता गठबन्धनमै प्रस्ताव राखेको कुरा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले खुलासा गरेका थिए। यो तथ्यलाई बुझेका मेयर साम्पाङ माओवादीको पक्षमा खुल्ने कुनै सम्भावना नरहेको उनी निकटहरू बताउँछन्।
अझ केहि अगाडि मात्रै नगरको विकासलाई लिएर प्रचण्डकी पुत्री समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र प्रचण्ड विरुद्ध खनिएका साम्पाङ तत्काल प्रचण्डको प्रस्ताव स्वीकार गरिहाल्ने स्थितिमा देखिंदैनन्।