अपरेशन सिन्दूर : बाबाले सोध्लान् नि, खै छोरा भन्लान्, रण जित्दै छ भन्दिए-Sutra News

अपरेशन सिन्दूर : बाबाले सोध्लान् नि, खै छोरा भन्लान्, रण जित्दै छ भन्दिए

अर्धनग्न नाच्ने ज्योति मगर भोलि संस्कृति मन्त्री भइन भने स्वर्ग गएका भजन शिरोमणि भक्तराजको मुटु मुर्छित होला। इतिहासको आँखामा अश्रु धारा बहला...

शनिबार, २७ बैशाख २०८२

शनिबार, २७ बैशाख २०८२

“बाबाले सोध्लान् नि खै छोरा भन्लान् रण जित्दै छ भन्दिए” झलकमानले त्यति बेला गाएको यो गीत अहिलेसम्म पनि सार्थक भइरहेको छ। त्यति बेला सायद छोराहरू रणमा होमिन जान्थे । मलाया लाहुरे, भारतीय सेना र ब्रिटिस सेनामा । रणमा जान लागेको आफ्नो छोरालाई दही अक्षता लगाइदिएर आमाले बिदाइ गर्थिन छोराको दीर्घायुको लागि। जो युद्धमा जान्थ्यो उ फर्की आउँथ्यो वा आउँदैनथ्यो केही भर हुँदैनथ्यो । नेपाली संस्कृतिमा यो एउटा रोचक तर हिर्दयबिदारक प्रचलन थियो। झलकमानले त्यही दृश्यलाई गीतको मालामा उनेका हुन।



आज युद्धमा नभएर भोक र गरिबीबाट पार पाउन नेपालीका छोराछोरी काम गर्न विदेश जान्छन् । युद्धमा जाने छोराहरूका लागि दही अक्षता मुछेर रुने आमाहरू आज छोरा काम गरेको कर्मथलोमा लाइभ प्रसारण हेर्छिन् र दङ्ग पर्छिन। समय बदलिएको छ। समयसग हामी बदलियौ। आज म को हु ? र म के हु ? भन्ने कुरा सबैलाई ज्ञान छ। तर पनि यो म को हु भन्ने प्रश्न भने सदियौँ देखि नेपालीको भाग्यमा प्रश्न बनेर लम्पसार अगाडि तेर्सिइरहेको छ ।

म को हु ? मनको भित्तामा लेखिएको एउटा प्रश्न हु म स्वयं । मुटुको कित्तामा ठाेकिएको एउटा डोब हु । साँच्चै म को हु त ? के म झलकमान गन्धर्व हु ? कि म कविताको भोकले कलिलै उमेरमा मरेको धरानको विमल गुरुङ पो हु कि ? सधैँ मैले आफैलाई सोध्दै आएको एउटा उत्तरहीन प्रश्न । म को हु ?

नाममा केही छैन । म जोसुकै हु । मतलब छैन । नाममा झलनाथ ठुलो कि झलकमान ? झलनाथ भूपू प्रधानमन्त्री । झलकमान एउटा जाबो गाइने । पोखराको गाइने । बैदामचोक तिर सारङ्गी रेटेर हिड्थे रे !

आज झलकमान छैनन् । उनी देवताको प्यारा भएकोमा लाखौँलाई खिन्नता छ । झलकमान झलनाथ होइनन् यति कुरो चैँ म ठोकुवा गरेर भन्न सक्छु । झलनाथ झलकमान पनि होइनन् । म चैँ के हु त ? कि म देवकोटाको मुनामदनको मदन हु ? पसिनाले सपना किन्न भोट जाने एउटा असफल लाहुरे । मदन उतै मरे ।मुना पनि मदनकै सम्झनामा यतै मरिन । इतिहास देखि वर्तमान सम्म यहाँ मुना र मदन बिचको बिछोडको कथा सारङ्गीले रेटिरहेकै छ तर कसले सुनिदिने ? । परिवार पाल्न र आफ्नो आर्थिक पाटाे सबलताको लागि बिदेसिनेहरूको सपना कहिले पनि नतुइयोस् भन्छु म तर विधिको विधान विचित्रको छ ।

लाहुरेकै नियति भोगिरहेछ आजसम्म पनि मेरो देशले। म देख्छु लर्को लर्को एयर्पोटबाट जहाजको प्रत्येक खुड्किला ढोग्दै आमाको यादमा मुड्कीले छातीमा हान्दै जहाज भित्र छिर्दै गरेका हुलका हुल युवाहरूलाई । मेरो लास माथि झन्डा नओढाउनु भन्दै लेखक एवं नेता प्रदीप नेपाल अस्ताए यो धराबाट । खै झलकमानले कहिले झन्डा ओढ्नु परेन । झन्डा बोकेर सडक जाम गर्नेहरूका लागि झलकमान झलमल गर्ने दूर आकाशमा चम्किने एउटा सितारा भए । झलमल गरी झलमलाउने नील आकाशका आवाज झलकमान । अझैसम्म पाएका छैनन् होला रेडियो नेपालबाट आफ्नो अमर आवाजको रोयल्टी ।

“बाबाले सोध्लान् नि खै छोरा भन्लान् रण जित्दै छ भन्दिए”
खै कसले जित्यो रण ! गल्फ मुलुकको तातो बालुवामा आफै देखि युद्ध गर्दैछन युवाहरू । कतिखेर को बाकसमा थुनिएर आउने हो। विदेशी आवाजका ब्लुज र र्याप झ्याप गाउनेहरू सरकारको हन्डि खाएर बाचिरहेका होलान् ।

के थाहा झलकमानको किड्नी पनि फेल भएको पो थियो कि ? तर कहिले पनि बाटुले चौरमा बटुको थापेको थाहा भएन उनले । जङ्गलको बाघले उपचारको भिख माग्दैन । सापटी मागेका भए ऊनी पनि बाचिरहेका हुन्थे होलान् । आवाजका प्रथम उद्घोषक पश्चिमका लाली !

ज्युँदा झलकमान कहिले बेचिएनन् सापटीमा । झलनाथ भन्दा झलकमान प्यारो मलाई । झलनाथहरु पातलो दिसा आयो भने जहाज बुकिङ गरेर विदेश जान्छन् । झलकमानहरू उपचार नपाइ मर्छन्। यहाँ राजनीतिक पर्खालमा अडेस लागेर रोगी बाच्नेहरूलाई सूर्य जता पनि अस्ताउन सक्छ बाल छैन । मुटु फेरेर पनि बाच्न सकिने युगमा युवाका झरिला शरीर जब बाकस भित्र कोचिएर आउँछ अनि म सम्झिन्छु तिम्रै गीत झलकमान ! ” आमैले सोध्लिन नी खै छोरा भनी ”

पुरस्कारको पसल थापेर लगानीको ब्याज माग्ने बौद्धिक भिखारीहरूको भिडमा झलकमान एक्ला एकलब्य थिए वा प्रगीतका हरिभक्त कटुवाल थिए वा नूतनताका भीम विराग थिए । थाहा छैन झलकमान के थिए तर झलकमान सहस्र नेपालीका छातीमा बाचिरहने नेपाल रत्न थिए। गायिने किरा भने कतिले उन्लाइ । सारङ्गी खोसिए हातबाट । लखेटेर पारी पुर्याउन पनि खोजियो तर झलकमान नेपाली गन्धर्वका नूतन धुन थिए ।

अर्धनग्न नाच्ने ज्योति मगर भोलि संस्कृति मन्त्री भइन भने स्वर्ग गएका भजन शिरोमणि भक्तराजको मुटु मुर्छित होला। इतिहासको आँखामा अश्रु धारा बहला र यही हेर्न बाँकी त छ अब । यो भिल्लको देश हो यहाँ मणि मिल्किन्छन् ।

तिमी बाचेको भए तिम्रा आँसुले सिरानी धुन सेतीको पानी चाहिन्नथ्यो ओ मेरा प्रिय गायक झलकमान ! तिम्रा सारङ्गी पेट भोकको र्याइ र्याइ गाउँथ्यो । ठिकै भो बाचेर बौलाहा बनिनु भन्दा मरेर सबको छातीमा बाच्नु नै उत्तम हो कि ?

यहाँ देशभक्ति गीत होइन पार्टी स्तुतिको भाका हाल्न जान्नुपर्छ। यहाँ सांस्कृतिक गीत होइन बैशकी नारिलाई पोइल जान प्रेरित गर्ने गीत गाउनु पर्छ अनि मात्रै बिकिन्छ ।

ओ स्वर्गवासी झलकमान ! खै तिम्रो गीत ? सेती दोभानको बालुवा तिम्रा आँसुले भिजे होलान् , दरौदीको किनारमा तिम्रा गीत रुँदै होलान्। ओइ स्वाभिमानी सितारा ! तिम्रा प्रसून गीतहरू गङ्गामा बगिरहेको छ यति बेला म कान थापेर सुन्दै छु ।

झलकमान ! तिम्रो मुर्छनाको लयमा म आफ्नो बिम्ब खोजिरहेछु । गीतका गालिवहरुको चिहानमा मृत माला चढाउनु मात्रै आउँछ नेताहरू ! त्यो पनि एक दिनको पुण्य तिथिमा ।

कहिलेकाहीँ महाराजगन्ज चोकमा नारायण गोपाल उभिएको सालिक देख्छु । मलाई त्यो सालिकले एउटा कुरा सम्झाउँछ किड्नी फेल भएर एउटा तारा खस्यो आकाशको वेदिबाट ।

झलकमान ! तिम्रो आवाजको पुस्तैनी ध्वनि अन्नपूर्णको शुभ्र शान्त आकाश मुनि चुपचापले बसेको छ । धेरै भो त्यसको लयमा म मुर्छित नभएको । मिल्छ भने अन्नपूर्णलाई एक चोटि भनिदेउन् बिन्ती त्यो सश्य श्यामल ओतमा गुन्जिउन तिम्रा माधुर्य मुर्छनाहरु । मलाई देउन छुन तिम्रो प्यारो सारङ्गी खै कहाँ राखेका छौ झलकमान ?

मलाई स्वप्न स्वतन्त्रताको नेपाली राष्ट्र गीत गाउन मन लागेको छ । मलाई मर्स्याङ्दी पुत्र माधव घिमिरेको “ज्योतिको पङ्ख उचाली” धुन गाउन मन लागेको छ । खै कहाँ छोडेर गयौ तिमीले तिम्रो जीवन गीत बोलेको नेपाली सारङ्गी भनिदेउन् झलकमान !

मलाई गोपालप्रसाद रिमालको “जङ्गी निशान हाम्रो” गाउन मन लागेको छ तिम्रै सारङ्गी रेटेर । मलाइ तारादेवीको ” काली पारी दाइ कति राम्रो” गुनगुनाउन मन लागेको छ । भनन बिन्ती खै तिम्रो सारङ्गी ? इतिहासले बिर्सिँदै गएको नातिकाजीको स्वर सङीत ” नेपाली हामी रहौला कहाँ नेपालै नरहे” असाध्य गाउन मन लागेको छ । खै कहाँ छ तिम्रो सारङ्गी झलकमान ?

तिमी सुतेको, तिमी हिँड्ने सबै बाटोतिर हेरिसके तर देखिन तिम्रो सारङ्गी । कि तार छिनेर असरल्ल भैमा कतै रोएर पो बसेको छ कि ? । मैले देखिन । एक फेर देखे भने तिमीले रेटेको त्यो सारङ्गीलाई पेटभरि माया गर्ने धोको छ ।

तिमी नभए पनि तिम्रो सारङ्गीमा यो युग बाचिरहेको प्रतीत हुन्छ मलाई । मरी जाऊ मलाई खै के भाको पो हो ? तिम्रो हातले छोएको त्यो सारङ्गीमा तिमीले पिएको मीठो जाडको बास्ना पो आँको होला नि ! केही वर्ष अगाडि मैले नारायण गोपालले बजाएको हार्मोनियमको पर्दालाई छोएको थिए । अलिकति गुनगुनाए म ” जीवन देखि धेरै -धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर ” ।

तिम्रो सिरानीमा तार छिनेको अवस्थामा नदेखूँ मैले त्यो सारङ्गी अव । किनकि मलाई गाउनु छ ” हजार सपनाहरूको माया लागेर आउँछ “। भक्तराजको गोधुली आँखामा अझैसम्म बाचिरहेको छ धेरै – धेरै सपना ।

हामी सबै नेपालीहरूको हजार सपना ! ओइ मेरा प्रिय मोजार्ट सम्भावनाको सारङ्गी भिरेर सयौँ युवाले विदेशमै आफ्ना सपनाहरू खोजिरहेको यो परिवेशमा दिनदिनै तिनैको लासको बक्सा एयरपोर्ट बाट सिलबन्दी भएर आउँदा इतिहासमा हराएका थुप्रै अरनिकोलाई सम्झन्छु म । सारङ्गीले झुटो कहिले बोल्दैन । रेटियो भने बोल्छ नरेटेमा बोल्दैन । असाध्य सोझो छ यो सारङ्गी । सयौँका सपनाका गीतहरू गायो यसले । सयौँका बिछोडको गीत गायो यसले ।

अहिले झलकमान छैनन् । उनले त्यति बेला गाएको ‘अप्रेसन सिन्दूर’ को गीत आजसम्म पनि जम्मु कश्मिरको वनपाखामा गुन्जिरहेको छ रण मैदानमा प्रध्वनीत हुँदै छ । यति बेला झलकमानको सारङ्गीमा धुलो जमेको होला । तारहरू असरल्ल छिनेको अवस्थामा होलान् । कसले स्याहार सम्भार गर्ने यसको ? आजकल कला सुन्दैनन् मान्छे । कला बुझ्दैनन् मान्छे । आजकल मान्छेको भिडले तरुनीको तिघ्रा हेर्छ । देखाउनेको पनि कमी छैन हेर्नेको पनि कमी छैन । अहिलेका बाबाहरूलाई छोरी जोगाउनु गाह्रो छ। आमाहरूले खोइ छोरा होइन खोइ छोरी भनेर पुकारी रहेका छन् ।

समयले यसरी झुक्क्याएर हामीलाई यति पर ल्याइसकेको छ कि हामी पुरै डिजिटल भयौ। जे भयौ र जे भए पनि आखिर धुन निकाल्न त सारङ्गी नरेटी सुखै रहेनछ । रेटूँ कर्मरूपी सारङ्गी र समयको प्रवाहमा बगूँ गतिशील त हुनु नै छ नत्र लेउ लाग्छ जिन्दगीको डुङ्गामा !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट