

क्यालिफोर्निया । हालसालै सामाजिक सञ्जाल र अनलाइन मिडिया प्लेटफर्महरूमा अमेरिकामा रहेका नेपालीहरू अत्यन्तै आर्थिक रूपमा कमजोर छन्, भन्ने खालका समाचार र पोस्टहरू व्यापक रूपमा देखा पर्न थालेका छन्। “अमेरिका पुगेपछि सुन झैँ बाँचिन्छ” भन्ने पुराना भनाइहरूलाई चुनौती दिने यी खबरहरूले धेरैको मनमा प्रश्न जन्माएको छ—के साँच्चै अमेरिकास्थित नेपाली समुदाय आर्थिक संकटमा छ ?
अमेरिका आउने नेपालीहरूको सुरुवाती अवस्था प्रायः समान हुन्छ भिसा, भाषा र बसोबासको चुनौती। अधिकांश नेपालीहरू होटेल, ग्याँस स्टेसन, रेस्टुरेन्ट, कन्स्ट्रक्सन, होम केयर जस्ता क्षेत्रमा न्यून तलबका काम गर्न बाध्य छन्। विशेष गरी विद्यार्थी भिसामा आएका युवाहरू दोहोरो सास्ती, पढाइ र जीविकोपार्जन, भोगिरहेका छन्।
अमेरिकी तथ्यांक संस्था (एसिएस) का अनुसार अमेरिकास्थित नेपाली समुदायको वार्षिक औसत आम्दानी करिब ५५ हजार डलर रहेको छ। यो तथ्याङ्क अमेरिकाको कुल औसत आय ७० हजार डलर भन्दा कम हो। दक्षिण एसियाली समुदायहरूमध्ये नेपालीहरूको आर्थिक स्थिति तुलनात्मक रूपमा कमजोर देखिन्छ।
नेपालीहरू संलग्न अधिकांश कामहरूमा स्वास्थ्य बिमा, पेन्सन वा नियमित लाभदायी सुविधा हुँदैन। धेरै नेपालीहरूले अशिक्षा, कानुनी अज्ञानता र श्रम शोषण समेत भोग्नुपरेको छ।
केही कार्यालयले न्यून पारिश्रमिकमा काम गराउने र ओभर टाइमको उचित सुविधा नदिने गरेको आरोप पटक–पटक उठ्दै आएको छ भने गाउँघरमा रहेका परिवार र नातेदारको “अमेरिकामा बसेपछि त धनी भए होलान्” भन्ने अपेक्षा पनि आप्रवासी नेपालीमाथि आर्थिक बोझ बन्न पुगेको छ। महिनावारी रेमिटेन्स, घरको खर्च, पढाइको शुल्क यी सबै मिलाएर थोरै तलबले जीवन धान्न गाह्रो भइरहेको छ।
तर यिनै चुनौतीबिच आशाको किरण पनि देखिन्छ। पछिल्लो समय नेपालीहरूले ट्रेकिङ व्यवसाय, रेस्टुरेन्ट, ग्यास स्टेसन, अफिस सपोर्ट, टेक र हेल्थ क्षेत्रमा उल्लेखनीय उपस्थिति जनाएका छन्। उच्च शिक्षामा लगानी र व्यावसायिक चेतनाले केही नेपालीहरूलाई आर्थिक रूपमा बलियो बनाउँदै लगेको देखिन्छ।
अमेरिकास्थित नेपालीहरू सबै गरिब छन् भन्ने ठोकुवा गर्न मिल्दैन। तर, समुदायका धेरै सदस्यहरूले आर्थिक संघर्षको सामना गरिरहेका छन् भन्ने कुरा यथार्थ हो। समुदायमा अबको आवश्यकता वित्तीय साक्षरता, कानुनी चेतना र आपसी सहकार्य ।