

गएको २२ अप्रिलमा भारतस्थित जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको धर्म सोधेर हत्या गरिएको थियो। जहाँ नेपालका सुदीप न्यौपानेसहितका निर्दोष पर्यटकहरू थिए। यस भयानक हमलामा संलग्न आतंककारीहरूले पुरुषहरूको हत्या गरेका थिए र उनीहरूका श्रीमती, दिदीबहिनी र छोरीहरूलाई यत्तिकै छोडेर गएका थिए।
यति मात्र होइन, आफ्नो श्रीमानलाई घटनास्थलमै मृत देखेर रिस उठेकी एक महिलाले आतंककारीलाई आफूलाई पनि मार्न भनेकी थिइन्।त्यसको जवाफमा आतंककारीहरूले भनेका थिए- हामी तिमीलाई मार्ने छैनौं, गएर मोदीलाई यो कुरा भनिदिनू।
वास्तवमा आतंककारीहरूले पुरुषहरूलाई मात्र मारेर एउटा बलियो सन्देश दिन खोजेका थिए। त्यो के भने, महिलाहरूलाई स्वतन्त्र छोडिनुपर्छ र उनीहरूका परिवारका सदस्यलाई उनीहरूको अगाडि हत्या गरिनुपर्छ ताकि उनीहरूको मन मस्तिष्क जिन्दगीभर दुखिरहोस्। उनीहरू चाहन्थे- महिलाहरूको त्यो घाउ कहिल्यै निको नहोस् र तिनका पत्नीहरु जीवनभर दुखी रहून्।
यो घटनाले एउटा पाठ के पनि सिकायो भने धार्मिक अतिवाद कहि पनि ठिक छैन र कहिले पनि ठिक छैन।
पृथ्वीमा मानिसको उपस्थिति अमर छैन। उस्को उपस्थिति पृथ्वी र पृथ्वीका समस्त जीव र जीवनको रक्षाका लागि हो, तर त्यो कुरा मनुष्यले कहिले महसुस गरेन र गर्न चाहेन पनि।
आज भारत-पाकिस्तानबीच बढ्दै गएको युद्द तनावले सार्क देशका सबै मुलुकहरूमा एक प्रकारको त्रास पैदा गराएको छ। सार्कका देशहरु भारत-पाकिस्तान बाहेक सबै चाहन्छन् कि यो युद्ध नहोस्। युद्ध भएको अवस्थामा यसले भारतसँग सीमा जोडिएका देशहरुलाई परोक्ष वा प्रत्यक्ष रूपमा असर पार्नेछ नै।
१९४७ मा ब्रिटिस शासनको अन्त्य र दुई देशको निर्माणले गर्दा हिन्दु-मुसलमानबीच त्यतिबेला देखि नै हिंसा सुरु भएको थियो। त्यो बेलाको हिंसामा लगभग १२ करोड ५० लाख जनताहरू घरबारविहीन हुँदै आफ्नो देश छाडे। अनि एक-अर्काको देशमा स्थापित हुन बाध्य भएका थिए। हिन्दु जति भारतमा बसे र मुस्लिम जति पाकिस्तान र बङ्गलादेशमा बाडिए। त्यतिबेलाको हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध नराम्रोसँग बिग्रिएको थियो। अहिलेको द्वन्द्व पनि त्यतिबेला देखिकै रिसको आवेग हो भनेर भन्न सकिन्छ।
दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४-१५ अगस्त १९४७ को मध्यरातको अन्तरालपछि अस्तित्वमा आएका हुन्। नयाँ देशको शक्ति स्थान्तरण भएपछि पाकिस्तानले राजधानी कराचिमा शक्ति स्थापना समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिस भाइसरय, बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराची र दिल्लीमा उपस्थित हुन सकून्। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्टमा र भारतको १५ अगस्टमा मनाइन्छ।
भारत-पाकिस्तान द्वन्द्वमा नेपालले अपनाउनु पर्ने कुटनीति
केवल धर्मको कारणले त्यो बेला भारतमा रहेका मुस्लिमहरुले आफू अलग्गिएर बस्न चाहे र देश नै विभाजित भयो। मुस्लिम-मुस्लिम एकातिर र हिन्दु-हिन्दु एकातिर विभाजित भएर बस्नुनै झगडाको अन्त देखियो। तर, पाकिस्तानमा गएका भारतीय मुलका मुस्लिम जातिमा ठुलो चित्त दुखाइ भने कायमै रह्यो र त्यो चित्त दुखाइ कास्मीरमा अहिलेसम्म लगातार देखिइरहेको छ।
हाम्रो नेपालमा सबै धर्मावलम्बी मिलेर बसेको इतिहास छ। पन्चशीलको सिद्धान्तमा नेपाल सधैं अडिग छ र हामी कहिले पनि धर्मका कारण भाइ-भाइमा झगडाको स्थितिमा पुगेका छैनौं। सार्क मुलुकभित्र सबैभन्दा शान्तिप्रिय देश भनेर हामीले आफूलाई चिनाएका छौं।
हाम्रो मूल कुटनीति धार्मिक सहिष्णुता हो। भाइचारा, भातृत्व अभिव्रिद्वी, सार्वभौमिकतामा अडिग, स्वतन्त्रता र निष्पक्षता, पक्ष-विपक्षमा नरही अतिवादप्रति असम्मान देखाउनु हाम्रो अर्को महत्वपूर्ण कुटनीति हो। हुनत संयुक्त राष्ट्रसंघले भारत-पाकिस्तानबीचको सम्भावित युद्धलाई लिएर दुवै देशको हितमा वक्तव्य समेत जारी गरिसकेको छ।
बङ्गलादेश, भुटान,माल्दिभ्स, श्रीलंका तथा अफगानिस्तान यी पाँच देशका राष्ट्र प्रमुखहरुबीच समन्वय गरेर भारत-पाकिस्तानबीच हुन गइरहेको सम्भावित युद्धलाई रोक्न हाम्रो देशले पनि समन्वयकारी भूमिका खेल्नुपर्छ। किनभने यही बेला हो, नेपाल साँच्चै शान्तिप्रिय देश हो भनेर चिनारी दिने समय। नेपाल सधैं युद्धको विपक्षमा छ र त इतिहासमा हामी कहिल्यै कसैको अधिनस्थ रहेनौं।
धार्मिक अतिवाद छोड्नुपर्छ
संसारमा युद्ध हुने धेरै कारणहरु मध्य एउटा धार्मिक अतिवाद पनि हो। हामी पनि कहिलेकाही नेपाल हिन्दुराष्ट्रको माग गर्छौ। राप्रपाले कहिलेकाही धार्मिक अतिवादलाई पछ्याउँदै हिन्दुराजा चाहिन्छ भन्दै सडक तताउने गर्छ। मुस्लिम देशमा हिन्दूले निर्धक्क बाँच्न पाउनुपर्छ र हिन्दु देशमा मुस्लिमहरु स्वच्छन्द र निर्भय बाँच्न पाउनुपर्छ, त्यो नै सर्वस्वीकार्य कुटनीति हो। हाम्रो देशमा यहि परम्परा छ।
कहिलेकाही राजावादीहरुले हिन्दुराष्ट्र माग गर्दा धार्मिक रूपमा मिलेर बसेको नेपाली समाजमा धार्मिक असहिष्णुता जन्माउन सक्ने सम्भावित खतरा बढ्न सक्छ। अझ अहिले त राप्रपा, राप्रपा नेपाल अनि नवराज सुवेदीसहितका पूर्वपन्चहरू हिन्दूराज्यको माग गर्दै सडक तताइरहेका छन्। तर नेपालमा धार्मिक अतिवाद कहिल्यै पनि सुखद थिएन, यसले समाज विखनडन मात्र गरेको थियो भनेर बुझ्न हामीले एक वर्ष अगाडी धरानमा देखिएको धार्मिक द्वन्द्वलाई पनि हेर्न सक्छौं।
हिजोदिनमा धार्मिकताकै कारण भारत, पाकिस्तान र बङ्गलादेश छुट्टिएका हुन् र त्यो दुश्मनी अहिलेसम्म पनि कायम छ भनेर हामीले बिर्सिन हुन्न। हिन्दू राज्य चाहने अनि अरू धार्मिक अल्पसंख्यकलाई आफ्नो अधीनभित्र राख्न खोज्नेहरू के चाहन्छन्, के उनीहरू मिलेर बसेको समाजलाई भड्काउन खोजिरहेका त छैनन्, विश्वमा भएका कयौं धार्मिक द्वन्द्वले कहिल्यै, कसैलाई फाइदा गरेको छैन भनेर हामीले कहिले बुझ्ने ? धार्मिक अतिवाद्कै कारण भारत-पाकिस्तानको बीचमा आजको स्थिति आएको हामी नेपालीले समयमै बुझ्न जरूरी छ।
अति धार्मिकताले समाजमा समस्या पैदा गर्छ र सबैभन्दा ठुलो कुरा मानव धर्म हो। मानव जीवन रक्षा र समाज समुन्नतिका लागि धर्मको जन्म भएको हो तर अति धार्मिकतासँगै मान्छे-मान्छेबीच अहमता उत्पन्न भयो अनि तेरो र मेरो, पक्ष र विपक्षको सिमाना निर्माण हुँदै गयो। तर अब चाहिं विगतको जस्तो भूल गर्नु हुँदैन। नेपालले धार्मिक अतिवादलाई फेरि पनि प्रश्रय दियो भने हामी पनि भारत-पाकिस्तानको अवस्थामा नपुगिएला भन्न सकिंदैन।