

काठमाडौं । आज वैशाख शुक्ल एकादशी अर्थात मोहिनी एकादशी ।
यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएको ती ग्रन्थमा उल्लेख गरिएको छ । वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गरेको बताइन्छ ।
सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्रले गुरु वशिष्ठसँग जिज्ञासा राखेपछि यसको महत्वबारे उनले प्रस्ट पारेको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको छ । गुरु वशिष्ठले सरस्वती नदी किनारको सुमना भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतबारे प्रस्ट पारेको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।