

काठमाडौं । नेपाली लोक संस्कृतिको आवाज हिजोको दिनमा पोखरा बैदामबाट धर्मराज थापा हुँदै झलकमान गन्धर्वहरूले सुरु गरेकै हुन् । लोकभाका र लोक सुसेलीको इतिहासलाई मलजल गर्ने कलाकारलाई सधैँ नेपाली मनले सम्मानको आँखाले हेरिरहेको छ । विगतको इतिहासलाई हेर्दा पनि आधुनिक, पप, क्लासिकल गीतभन्दा लोकगीतले व्यापकता र व्यापार गरेको अझै बढी गरेको छ । अहिले शान्ति परियारहरूले ‘अरेली काँडा’ गाएर घर जग्गा जोड्न थालेका छन् ।
नेपाली लोकगीतको क्षेत्रमा हामी धनी छौं । कुमार बस्नेत, तीर्थ कुमारी हुँदै प्रेमराजा महत, विष्णु माझी, प्रकाश सपूतदेखि शान्ति श्री परियारसम्म आइपुग्दा नेपाली लोकभाकाले आफ्नो बाटो बिराएको छैन । फरक यति हो कि, धर्मराजा थापादेखि कुमार बस्नेत युगसम्म आउँदा लोकगीत गाउँगाउँ र लोक समाजबाट टिपेर ल्याइन्थ्यो भने अहिले सहरमा कृत्रिम तरिकाले जन्माइन्छ ।
विगतमा नेपाली लोकगीत संगीतमा प्रशस्त काम भएकै हो । त्रिभुवन विश्वविद्यालयमा लोक साहित्य÷लोक आख्यानमा अध्ययन अध्यापन अनुसन्धान हुन्थ्यो तर, अब लोक साहित्य लोक आख्यान पाठ्यक्रमबाट बाहिरिएको छ ।
विष्णु माझीहरू भूमिगत बसेर लोकगीतको भ्रूण तयार गर्छन्, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र मुना थापा मगरहरूको स्थानमा अहिले ज्योति मगरहरु हाबी हुँदै गएका छन् । आजकल गीत सुनिने विद्याबाट हेरिने विद्यामा परिवर्तन भएको छ । त्यसमाथि पनि गायिकाको सुमधुर आवाज मात्रै होइन, सुन्दर शरीर पनि हेर्न चाहने दर्शक बढेको छ । पहिका गीतको श्रोता हुन्थे, अहिले गीतको दर्शक हुन थालेका छन् । जब एउटा गायिका स्वरले भन्दा पनि शरीरले हिट हुन्छिन्, उनी आफूलाई दुनियाँको मोनालिसा सम्झिन थाल्छिन् ।
गायिकाहरूलाई स्वर होइन, जब शरीरको घमन्ड चढ्न थाल्छ तिनी आफ्नो अतीत बिर्सिन थाल्छिन् । नेपालमा अहिले आधुनिक गीत÷लोक गीत गाउने गायिकाहरूको रोग यही हो कि एउटा गीत युट्युबबाट १० हजार भ्यूज पुगेपछि प्यासिफिक ओसनबाट प्रतिघण्टा २५० वर्ग माइलका दरले आउने आधि आए जस्तै आउन थाल्छ, तिनका शरीरबाट उफान र तिनले अगाडि पछाडि रहेकालाई हिल जुत्ताले कुल्चन थाल्छन् ।
पहिला विशुद्ध पप गायक÷गायिकाको जुन इमेज थियो, अहिले लोक आधुनिक/लोकपप गाउने हिट गायक/गायिकाको त्यही इमेज छ । अब ज्योति मगरहरू बिस्तारै पटाक्षेप हुँदैछन् । युट्युबमा हिट भएका लोक आधुनिक गीतले भ्यूजका आधारमा चलचित्रमा सिधै प्रवेश पाउने अवस्था आएकोले स्टेजमा शरीर प्रदर्शन गरेर हिट भएका गायिकाहरू बिस्तारै पाखा लाग्ने क्रम सुरु भएको छ । गीतको परिभाषामा समेत परिवर्तन आएको छ । गीत अब सुन्ने परम्पराबाट दृश्य परम्परामा परिवर्तन भएको छ । आजकल गीत सुनिन्नन् हेरिन्छन् ।
यतिबेला झुमा लिम्बुको एउटा गीत ‘धान सुक्यो रापले फकाउँछ काफ्ले जानुकी नजानु…’ले बजार तताएको छ । झुमा लिम्बू आफै पनि नेपाली लोक संगीत अध्येता र अनुसन्धानकर्ता हुन् । उनी विगत लामो समयदेखि नेपाली लोकगीत संगीतमा सक्रिय भएर लागेकी छिन् । लोक भाखा र लोक सुसेलीमा आधारित भएर झुमाले निकै गीति एल्बमहरू प्रकाशित गरिसक्दा यो गीतले भने उनलाई राम्ररी चिनाएको छ ।
झुमाले लिम्बुले धार्मिक ग्रन्थ ‘मुन्धुम’को अडियो संस्करण पनि निर्माण गरेकी छिन् । झुमा नेपाली प्रख्यात संगीतकार अमर गुरुङकी विद्यार्थी पनि हुन् । त्यसैले पनि नेपाली लोक आधुनिक गीतमा उनको बलियो सम्भावना छ । हिजो आधुनिक गीतमा राम्रोसँग जमेका गायक/गायिकाहरूले सधैँ आफ्नो सांगीतिक वर्चस्व कायम राख्न सक्दैनन् । हिजोका अन्जु पन्तहरूलाई बदला दिन आज रचना रिमालहरू आइसकेका छन् र भोलि रचनाहरूलाई बिदाइ गर्न अरू नयाँ कोही आउने छन् ।
गीतहरू फैलाउन र फैलिने माध्यम हिजोका दिनमा रेडियो नेपाल मात्रै थियो, पछि एफ एमहरू खोलिए । आज त अत्याधुनिक प्लेटफर्महरू छन् । नेपाली लोक संस्कृतिको जगेर्नाका लागि यस्ता गीतहरूको सिर्जना हुनुपर्छ र असंख्य झुमा लिम्बुहरू अनवरत लागिरहुन् र उनीहरूलाई राज्यले सुनिदिनु पनि पर्छ । अहिले टिकटक र युट्युबका माध्यमबाट गीतहरू हेरिन्छ । गीत गाएर परिवार पाल्ने घर घडेरी जोड्न सक्ने माहौल सिर्जना भएको छ ।