

काठमाडौं । सत्तापक्ष र विपक्षीबिच संवाद हुनु स्वाभाविक हो । लोकतान्त्रिक परिपाटीमा संवादका प्रक्रियालाई अनौठो मानिन्न ।
तर, यति बेला सत्ता गठबन्धनभित्र विवाद उत्कर्षमा पुगेको चर्चाका बिच सत्ता नेतृत्वकर्ता नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) नजिक देखिएका छन् । विभिन्न एजेन्डाका नाममा दुई दलबिच संवाद बाक्लिएको छ ।
आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई दलका नेताहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भयो । जुन भेटवार्तामा ओलीसँगै एमालेबाट नेता अग्नि खरेल थिए भने प्रचण्डसँगै माओवादी केन्द्रबाट नेता वर्षमान पुन थिए । अर्को अर्थमा ओली र प्रचण्डले विश्वास पात्रलाई सँगै राखेका थिए ।
उक्त भेटवार्ता सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग (सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन)को पदाधिकारी नियुक्तिको विषयमा केन्द्रित भएको बताइएको छ । तर, सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा यसअघि सत्ता साझेदार कांग्रेसबिना प्रधानमन्त्री ओलीले प्रचण्डसँग संवाद गरेका थिएनन् । तर, आइतबार उनले कांग्रेस बिना नै भेटवार्ता गरे ।
आइतबार साँझको भेटवार्ताको बसाई र हाउभाउको शैली पनि स्वाभाविक देखिन्न । जहाँ ओलीले प्रचण्डलाई निकै महत्त्व दिएको देखिन्छ । उनी प्रधानमन्त्रीको कुर्सी छाडेर प्रचण्डसँगै तल बसेका थिए ।
आइतबार साँझको भेटपछि सोमबार संसद् बैठकमा प्रचण्डले सम्बोधन गरे । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि बोलेका प्रचण्डले विरोध भन्दा सुझाव दिने शैलीमा आफूलाई अघि सारेका थिए । सरकारलाई नीति तथा कार्यक्रमलाई कर्मकाण्डी नबनाउन प्रचण्डको सुझाव छ ।
सँगै, सोमबारको संसद् बैठकमा ओली–प्रचण्डबिचको भलाकुसारी र हाउभाउ पनि निकै फरक शैलीको छ । जसलाई एमालेका केही नेताहरूले ‘सुखद’ भन्दै टिप्पणी गरेका छन् ।
‘मन परेको एउटा तस्बिर”, उक्त भलाकुसारीको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै एमाले नेता विष्णु रिजालले लेखेका छन्, “सत्तापक्ष–प्रतिपक्ष लोकतन्त्रको सामान्य र अस्थायी विषय हो, हामी सबै लोकतन्त्रको एउटै डुङ्गामा छौं ।”
हुन पनि ओली–प्रचण्ड निकै हार्दिकतापूर्ण शैलीमा भलाकुसारीमा देखिएका थिए ।
जुन भेटवार्ता र संसदको सम्बोधनपछि प्रचण्डले एक पटक फेरि ‘जादुयी सिट’को कुरा गरेका छन् । उनले जादु चलाउन चाहेमा चल्ने भन्ने प्रतिक्रिया पनि दिएका छन् ।
“अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन, हाम्रो ध्यान जनतामै जाने छ, हामी मध्य पहाडी लोकमार्ग अभियान हामी जाँदै छौँ”, सोमबार संसद् भवनबाट बाहिरिने क्रममा प्रचण्डले भनेका थिए, “जादु चलाउन चाहे त चल्छ, तर अहिले हामी चलाउने पक्षमा छैनौँ।”
एकपछि अर्को गरी देखिएको प्रश्न उठाउने घटनाका बिच मंगलबार बिहान एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका छन् । जुन भेटवार्तालाई प्रचण्डको सचिवालयले बजेट निर्माण केन्द्रित छलफलको रूपमा व्याख्या गरेको छ ।
यद्यपि, सत्ता गठबन्धनभित्र विकसित तिक्तता र शृङ्खलाबद्ध देखिएका घटनाले भने प्रश्न उब्जाउँछ ।
देउवाको बैंकक भ्रमण र चौथाइवालेको भेटवार्तापछि प्रश्न
सत्ता गठबन्धनभित्र विशेषगरी गभर्नर नियुक्तिको विषयसँगै विवाद निम्तिएको थियो । जसमा कांग्रेस सभापति शेरबहादुर देउवाको बैंकक भ्रमणले थप भरथेग ग¥यो ।
देउवा ६ दिने पारिवारिक भ्रमणको नाममा बैंकक पुगेका थिए । उनले फर्किएपछि सत्ता समीकरणमा केही फरक नपर्ने सन्देश दिए । तर, योबिचमा कांग्रेसभित्रको माहौल निकै फरक देखियो ।
इतर पक्षका नेताहरूले खुलारुपमा अभिव्यक्ति राखिरहेको बेला देउवा पक्षीय नेताहरू पनि सरकारको आलोचना गर्न उद्धत देखिए । नेताहरूले ओली सरकारको ‘पर्फमेन्स’माथि प्रश्न उठाएका छन् ।
जसले दुई दलबिच क्रमशः दुरी बढाइरहेको देखाउँछ ।
योबिचमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रकै अस्तित्वमाथि पनि प्रश्न उठेको छ । एकातिर कांग्रेसका नेताहरूले संयन्त्र उचित नभएको बताउन थालेका छन् भने अर्कोतिर संयन्त्रकै बैठकलाई बहिस्कार गर्न थालेका छन् ।
देउवा स्वदेश फर्किएपछि बसेको संयन्त्रको बैठकमा कांग्रेसका २ सदस्य उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा उपस्थित थिएनन् । नेताहरूले अनुपस्थितिको खास कारण देखाएका छैनन् ।
हुन पनि कांग्रेसभित्र सरकारमाथि नै समीक्षा गर्नुपर्ने आवाज बलियो गरी उठिरहेको छ । शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकमा नेताहरूले सरकारविरुद्ध चर्को असन्तुष्टि जनाएका थिए ।
यसबिच भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेको भ्रमण सत्ता साझेदारबिच दुरी बढाउने कारण बन्यो । ३ दिने भ्रमणमा आएका चौथाइवालेले राजनीतिक भेटवार्ता मात्रै गरेनन्, सत्ता नेतृत्वकर्ता ओलीलाई सशंकित बनाइदिए ।
३ दिनको बिचमा १९ नेतालाई भेटेका चौथाइवालेले एमालेलाई खास महत्त्व दिएनन् । औपचारिकताको लागि प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेललाई भेटेका चौथाइवालेलेको भेटको सूचीमा अधिकांश कांग्रेस, माओवादी र विपक्षी दलका नेताहरू नै परे ।
गभर्नर नियुक्तिको विषयसँगै सत्ता समीकरणभित्र विकास भएको विवाद र त्यससँगै एकपछि अर्को गरी देखिएका घटनाका बिच प्रधानमन्त्री ओलीले सक्रियता बढाएका छन् । उनी एकातिर सत्ता साझेदार कांग्रेसलाई दबाबमा राख्ने उपायको खोजीमा देखिन्छन् भने अर्कोतिर विपक्षीलाई क्रमशः विश्वासमा लिने गरी अगाडि सरेको देखिन्छन् । यसले सरकारमाथि भने क्रमशः प्रश्न उठाइरहेको छ ।