ओलीले देउवालाई धोका नदिए गुणाकर बन्नेछन् १८औं गभर्नर, नीलमको त्यो चाल ओलीकै डिजाइनमा-Sutra News

ओलीले देउवालाई धोका नदिए गुणाकर बन्नेछन् १८औं गभर्नर, नीलमको त्यो चाल ओलीकै डिजाइनमा

सोमबार, २२ बैशाख २०८२

सोमबार, २२ बैशाख २०८२

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसको विवादका कारण चैत २५ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहिन छ। नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएदेखि राष्ट्र बैंक कायममुकायम गभर्नरको भरमा चलिरहेको छ। तर, अब भने आउँदो बिहीबारसम्म राष्ट्र बैंकले नयाँ गभर्नर पाउने पक्का भएको छ।



गभर्नरकै विषयमा केन्द्रित रहेर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार बेलुकी झन्डै एक घन्टा कुराकानी भएको थियो। त्यस भेटमा भएको सहमति अनुसार ओली आफ्नो वचनबद्धतामा कायमै रहे राष्ट्र बैंकले १८औँ गभर्नर डा. गुणाकर भट्टलाई पाउनेछ।

सभापति देउवाले वैशाख २ गते नै नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन उपयुक्त हुने कुरा प्रधानमन्त्री ओलीलाई सुनाएका थिए। तर गभर्नर नियुक्तिका लागि फटाफट प्रक्रिया अघि बढेन।

जबकि ओली-देउवा सहमतिपछि वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भट्टले राजीनामा समेत दिइसकेका छन्। अहिलेसम्म उनको राजीनामा स्वीकृत भएको छैन। गभर्नरकै प्रतिस्पर्धामा रहेकी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले राजीनामा ‘होल्ड’ गरेर राखेकी छन्।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नै ढुंगानालाई नेपालकै पहिलो महिला गभर्नर बनाउन खोजेको विषय चर्चामा छ। त्यसैकारण गभर्नर नियुक्ति प्रक्रिया महिना दिनसम्म अघि बढ्न नसकेको बताइन्छ। तर आइतबार बेलुकी बालुवाटारमा भएको भेटमा भने प्रधानमन्त्री ओलीले देउवाको चाहनाअनुसार भट्टलाई गभर्नर नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

‘हिजो बेलुका उहाँहरूबीच छलफल भयो। प्रधानमन्त्रीले म बुधबारसम्म राजीनामा स्वीकृत गराउँछु, अनि बिहीबार भट्टजीलाई गभर्नर नियुक्त गरौँला भन्नुभएछ’, देउवानिकट ती नेताले भने।

ओलीको प्रतिबद्धता पाएपछि देउवा बूढानीलकण्ठस्थित आफ्नो निवास फर्किएका थिए। ओलीलाई भेटेको भोलिपल्ट अर्थात् आज सोमबार देउवाले सिफारिस समितिको संयोजक समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई आफ्नो निवास बोलाएका थिए। गभर्नरमा सिफारिस गर्ने नामहरूकै विषयमा अर्थमन्त्री पौडेल र देउवाबीच छलफल भयो।

‘अब प्रधानमन्त्री र अर्थमन्त्री दुवै जनाले कायममुकायम गभर्नर ढुंगानालाई डा. भट्टको राजीनामा स्वीकृत गर्न फेरि निर्देशन दिनुहुन्छ’, ती नेताले थपे, ‘बुधबारसम्म राजीनामा स्वीकृत भएपछि प्रक्रिया अघि बढ्ने देखिन्छ।’

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले अर्थमन्त्रीसँग जिल्लाका बजेटका विषयमा समेत छलफल भएको बताए। उनले भने, ‘गभर्नरमा डा. गुणाकर भट्ट नै हो।’

गभर्नरका लागि प्रधानमन्त्री र देउवाबीच समझदारी भएका गुणाकर भट्टले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्। साथै कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनी सल्लाहकार पनि थिए।

अब उपप्रधानमन्त्री पौडेल नेतृत्वको सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ। ती नाममध्ये एक जनालाई मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट