चेत्ने कहिले ?-Sutra News

चेत्ने कहिले ?

सोमबार, २२ बैशाख २०८२

सोमबार, २२ बैशाख २०८२

एक–दुई वर्ष अगाडि मात्रै काठमाडौंका अधिकांश स्थानमा सटर भाडामा लिएर व्यापार गर्न अग्रिम रकम (सलामी) तिर्नुपर्थ्यो । न्यूनतम ५ लाखदेखि ठाउँअनुसार सलामी तोकिएको पाइन्थ्यो । अरू त अरू फुटपाथ पनि ओगटेर बिक्री गर्ने परम्परा बनाइएको थियो । स्पष्ट छ, सलामी दिएको पैसा फिर्ता हुँदैनथ्यो । फिर्ता नभए पनि व्यापार अपार थियो, दुई/चार महिनामा सलामी दिएको पैसा उठेर पनि व्यापारीले नाफा कमाउन थाल्थे । 



तर, अहिले अवस्था त्यस्तो छैन । सलामी तिर्नुपर्ने क्षेत्रमा सटर खाली छन् । खाली सटरमा भाडा मात्रै तिरेर व्यापार गर्न पाइन्छ । केही निश्चित ठाउँ बाहेकमा सटरका लागि हानथाप गर्ने अवस्था सकिएको छ । सँगै, बजारमा चहलपहलको अवस्था पनि निकै घटेको छ । एकाएक किन यस्तो बन्यो ? के व्यापारीले विकल्प खोजेका हुन् ? कि अर्थतन्त्र समस्या उन्मुख बन्दा यस्तो अवस्था बनेको हो ?

स्पष्ट छ, आज घरजग्गा व्यवसाय चलेको छैन । जहाँ लगानी गरेका लगानीकर्ता डुबेका छन् । बैंकहरूले निकाल्ने सूचना पनि लिलाम बिक्रीका मात्रै हुने गर्दछन् । सँगै, लिलाम बिक्रीको सूचना दोहोर्‍याएर निकाल्नुपर्ने अवस्था बनेको छ ।

मुलुकको आम्दानीको मुख्य हिस्सा रेमिट्यान्सलाई मानिएको छ । सायद, रेमिट्यान्सको आम्दानी देखेर होला सरकार पनि अन्य क्षेत्रतर्फ मौन देखिन्छ । सरकारले रेमिट्यान्स बन्द हुँदा के–कस्तो प्रभाव पर्ला भन्ने तयारी गरेको देखिन्न ।

हिजोको दिनमा हङकङ बैंकको व्यापारीले नेपाल वायुसेवा निगमको जहाज भरिन्थ्यो । हरेक हप्ता ४ फ्लाइट थियो । यता बैंककमा पनि हप्ताको ५ फ्लाइट हुन्थ्यो । जब तत्कालीन नेपाल सरकारले व्यापारीहरूले गरिरहेका ‘झिटीगुन्टा’को नियम रद्द गर्‍यो, एकाएक व्यापार खुम्चियो । मुलुकको व्यापारीहरूको व्यापारिक लयमा एक्कासि क्रम भंगता आयो ।

आज देशको आर्थिक अवस्था कस्तो छ भन्ने थाहा पाउन व्यापारीको अनुहार हेरे थाहा लाग्छ । तर, सरकारलाई व्यापारीको अनुहार केलाउने फुर्सद छैन । कता–कता लाग्दै छ, सरकारलाई अवस्था जे सुकै होस्, मतलब छैन । भारतबाट दाल चामल तरकारी फलफूल पेट्रोल आएकै छ । धनीले बैंकबाट ऋण पाइरहेकै छन् । टालटुले सरकारको सत्ता जोगिएकै छ । राजनीतिक खेती मौलाएकै छ । रात, रत्यौली, पार्टी मिटिङ, सभा, भोज, भतेर विमोचन, पिकनिक चलेकै छ । सडकमा पनि गाडी गुडेकै छ । तर, कति दिन चल्ने ? प्रश्नमा ध्यान छैन ।

विज्ञहरूका अध्ययन निचोड हेर्दा, अर्थतन्त्रमा देखिएको अवस्था निकै असमान्य छ । यदि समयमै कदम नचालिएमा मुलुक गम्भीर दुर्घटनामा पर्न सक्छ । तर, नेतृत्वपंक्तिमा कत्ति पनि सचेतता देखिएको छैन ।

तत्कालको लागि, विद्यार्थीलाई अध्ययनका नाममा तेस्रो मुलुक जाने वातावरण बन्द गरौँ । ब्रेन ड्रेनले मुलुकलाई कालान्तरमा खोक्रो बनाउँछ । यहाँ नै विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने वातावरण मिलाऔँ । १२ कक्षा पास गरेर गएको त्यो कलिलो मस्तिष्कले विदेश गएपछि नेपाल बिर्सिन्छ । उतै कमाउँछ । उतै रमाउँछ । नेपाल आमाको काख केवल कामदार उत्पादन गर्ने कारखाना बनिरहेको छ, त्यो कुरा महसुस गरौँ ।

आयातमुखी अर्थतन्त्र होइन उत्पादनमुखी र निर्यातमुखी अर्थतन्त्रको जग निर्माण गरौँ, हामी अर्थतन्त्रको भाष्यतिर नजाऔँ । सामान्य कुरा गरौँ । कम्तीमा किसानले मल, बीउ बिजन, प्राविधिक सहयोग पाउने अवस्था बनाऔँ । हामीसँग जमिन र जल प्रशस्त छ, त्यसको उपयोग गरौँ ।

हामीलाई यति बेला महान् अर्थशास्त्री र महान् क्रान्तिकारी नेता चाहिन्न । खास भन्ने हो भन्ने देश बिगारेका यिनैले हो । घुस नखाई जनताको काम गरिदिने कर्मचारी, धान उत्पादन गर्ने किसान, विज्ञान र आविष्कार बुझेको महावीर पुन, जनस्वास्थ्यलाई आफ्नो उद्देश्य सम्झिने सन्दुक रोहित, राजनीति कम, काम बढी गर्ने हर्क–बालेन, जस्ता असल र जुझारु व्यक्ति चाहिएको हो । हामीलाई चतुर छली, जाली, फटाहा, बढी जान्ने, भाषण मात्रै गर्ने, सिद्धान्तको किरो, आफूलाई भगवानको अवतार देखाउन खोज्ने, मगजमा विदेशीको ज्ञान भरिएको व्यक्ति होइन, यति बेला साँच्चै इमानदार र सोझा मानिसको आवश्यक छ यो देशलाई ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट