कांग्रेसमा बढ्दो उकुसमुकुस-Sutra News

कांग्रेसमा बढ्दो उकुसमुकुस

आइतबार, २१ बैशाख २०८२

आइतबार, २१ बैशाख २०८२

काठमाडौं । संसदमा नीति तथा कार्यक्रम वाचन गरेको भोलिपल्ट (शनिवार) कांग्रेसले संसदीय दलको बैठक राख्यो । पार्टी सभापति शेरबहादुर देउवाले प्रस्तुत नीति तथा कार्यक्रममाथि हुनसक्ने विरोधलाई ध्यानमा राखी बैठक बोलाएका थिए ।



तर, नीति तथा कार्यक्रमलाई केन्द्रित गरी बोलाइएको बैठकमा सांसदहरूले एजेन्डा केन्द्रित धारणा मात्रै राखेनन्, सत्ता समीकरणमाथि नै प्रश्न उठाउने गरी अभिव्यक्ति दिए । बैठकलाई सम्बोधन गर्दै सहमहामन्त्री जीवन परियारले प्रश्न गरेका छन्– नीति तथा कार्यक्रम सरकारको हो कि एमालेको ?

नीति तथा कार्यक्रममा कांग्रेस नभेटिएको टिप्पणी गरेका परियारले कसरी अपनत्व लिने ? भन्दै देउवासमक्ष प्रश्न सोझ्याए । “नीति तथा कार्यक्रममा एमालेको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा बोकियो, यो एमालेको नीति तथा कार्यक्रम मात्रै बन्यो, यस्तो नीति तथा कार्यक्रमलाई कांग्रेसले अपनत्व कसरी लिने ?”, परियारको प्रश्न छ ।

सँगै, उनले राजनीतिक नियुक्तिका विषयमा पनि गहिरो गरी प्रश्न उठाएका छन् । नियुक्तिमा एमालेकरण भइरहेको बताएका परियारले सरकारको अपजस बोक्ने अवस्था नभएको टिप्पणी गरेका छन् ।

“नियुक्तिमा समन्वय छैन, कांग्रेसलाई अनदेखा गरिएको छ, यस्तोमा कसरी अपजस ब्यहोर्ने ?”, परियारको प्रश्न छ ।

बैठकमा परियारमात्रै होइन, अन्य सांसदहरूले पनि नीति तथा कार्यक्रमभन्दा पनि एमालेसँगको सत्ता सहकार्यबारे प्रश्न उठाए । यद्यपि, अधिकांशको प्रश्नले जवाफ पाएन । सभापति देउवाले निःशर्त नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय सुनाउँदै बैठकलाई समापन गरे ।

“सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा प्रस्तुत भएका कार्यक्रम सम्पन्न हुने गरी आगामी आव २०८२/८३ को वार्षिक विकास कार्यक्रम (बजेट) तयार गर्न नेपाल सकारसँग यो बैठक अनुरोध गर्दछ”, दलको बैठकपछि जारी निर्णयमा भनिएको छ ।

निर्णय जे–जस्तो भए पनि संसदीय दलभित्रको छलफल हेर्दा, कांग्रेसभित्र सरकारलाई लिएर निकै उकुसमुकुस देखिन्छ । बैठकमा कम देखिए पनि बैठक बाहिर असन्तुष्टि निकै पोखिएको छ ।

देउवाले बोलाएको संसदीय दलको बैठकमा इतर पक्षीय नेता डा. शेखर कोइराला सहभागी थिएनन् । नेपाल थारु संघ नवलपुरको अधिवेशनलाई उद्घाटन गर्न नवलपुर पुगेका कोइरालाले कांग्रेस–एमाले गठबन्धनप्रति असन्तुष्टि मात्रै जनाएका छैनन्, उनले दुई दलीय संयन्त्र नै तोड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

“प्रतिस्पर्धीसँग सहकार्य गरेर संगठन बन्दैन । हामीले गलतलाई गलत भन्नुपर्छ । अनि मात्रै हामी अघि बढ्छौँ । कांग्रेस र एमालेले सरकार बाहिरको संयन्त्र बनाएको छ । कुनै पनि लोकतान्त्रिक मुलुकमा त्यस्ता संयन्त्रहरूले सरकारलाई चलाउन सक्दैन, पाउँदैन”, बैठकलाई सम्बोधनका क्रममा उनले भनेका छन्, “प्रदेश, जिल्ला, पालिकामा पनि एमालेसँग संयन्त्र बनाउन हुँदैन, बाहिरबाट सरकार कम्युनिस्टहरूले मात्रै चलाउने हुन् । लोकतान्त्रिक पार्टीले त्यो स्वीकार गर्दैनौँ ।”

कांग्रेस–एमाले सहकार्य प्रति उत्पादक भएको टिप्पणी गरेका कोइरालाले विकल्प खोज्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

विशेषगरी कांग्रेसभित्र सरकारमा एमालेले एकलौटी गरिरहेको भन्ने गुनासो छ । विभिन्न निर्णय र नियुक्तिमा एमालेमात्रै हाबी भएको गुनासो असन्तुष्ट नेताहरूले गरिरहेका छन् । गभर्नर नियुक्तिको विवाद सतहमा पोखिँदै गर्दा नेताहरूले थप असन्तुष्टि जनाउन थालेका छन् ।

तर, पार्टी सभापति देउवा असन्तुष्टि दबाएरै भए पनि गठबन्धनलाई कायमै राख्ने पक्षमा देखिएका छन् । जसले तत्काल समस्या भएको नदेखिए पनि कांग्रेसभित्र असन्तुष्टि चुलिँदो छ । जसले गठबन्धनभित्र क्रमशः सकस बढाउन सक्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट