रक्सीका बोतलमा अर्धनग्न महिलाको तस्बिर राख्नुपर्ने कस्तो मानसिकता !-Sutra News

रक्सीका बोतलमा अर्धनग्न महिलाको तस्बिर राख्नुपर्ने कस्तो मानसिकता !

शनिबार, २० बैशाख २०८२

शनिबार, २० बैशाख २०८२

ब्रिटिश साम्राराज्यवादको उदय सँगै रक्सीले पनि संसारभर फैलिने मौका पायो। अमेरिकीहरु रक्सी र स्त्रीका ज्यादा सौखिन हुन्छन् भन्ने मान्यता छ। त्यसपछि मध्यपुर्व हुँदै रक्सी पूर्वीय सभ्यतामा पनि फैलियो।



पुरुषले रक्सी पिए सँगै स्त्रीभोगको चाहना राख्छ। यो प्रवृत्तिलाई अझ पश्चिमी संस्कृतिले संसारभर सिकायो। रक्सी पिएपछी स्त्री चाहिनु यो आदिम संस्कृति हो। अनि यो बर्बर युगको धङधङी अझैसम्म जिवित छ। केही तथ्यांकहरूलाई हेर्दा, बलात्कारका धेरै घटनाहरू रक्सी पिएपछी मात्तिएको अवस्थाबाट हुने पुष्टि भएको छ।

अब प्रश्न उठ्छ- किन पुरुषमा जङ्गलीपन चड्छ रक्सी पिएपछी, किन उ होस गुमाउँछ, किन उसमा पशुत्व चढ्छ ? फेरि पनि रक्सीको बोतलसँग उभिएर आफ्नो अर्धनग्न शरीरको बिज्ञापन गर्न स्त्री तयार छिन् र आफै आव्हान गर्छिन्- पुरुषलाई उसको देहमा मनलाग्दी गर्न।

स्त्रीको शरीर प्रदर्शन गर्नको लागि होइन। नेपालमा बर्सेनि प्रायोजित हुने सुन्दरी प्रतियोगिता पनि कुनै रक्सीकै बोतलमा लेबलमा टाँसिएर स्त्रीले आफ्नो अर्धनग्नता प्रदर्शन गरे जस्तै हो। पूँजीवादी पुरुष चिन्तनले स्त्रीलाई नचाइरहेको छ, त्यही चटकमा स्त्रीहरु झुमिरहेछन्। किन स्त्री बस्त्र खोल्न तयार हुन्छिन् र पुरुषको अहंकारको आगोमा स्वयं जल्न खोज्छिन् ? प्रश्न निरुत्तरित छ।

रक्सीको बिर्कोदेखि बोतलसम्ममा अनि रक्सीको होर्डिङ बोर्डमा समेत स्त्री मोडललाई उभ्याइएको हुन्छ। यस्को मतलब सुरा र सुन्दरी पुरुषका लागि नै बनेका हुन् भन्ने संदेश दिन खोज्यो पुरुषवादी युगले। स्त्रीहरुले पनि बिरोध गर्न सकेनन् वा जानेनन्- उनीहरूको शरीर बिज्ञापनका लागि होइन भनेर। अतीत देखिको त्यो परम्परा निरन्तर बाचिरहेको छ मनुष्य सभ्यतामा।

रक्सीको बिज्ञापनमा किन महिलाको फोटो राख्नुपर्ने ? पुरुष जति रक्स्या हुन्छन् स्त्री पनि त्यतिकै रक्स्या हुने हो भने सम्भवत: यो समाज यति भयग्रस्त भइसकेको हुने थियो कि हामी कल्पना पनि गर्न सक्देनौं। अमेरिकामा भएको एक अध्ययनले भन्छ- पुरुषमा भन्दा महिलामा ६० प्रतिशत बढी सहनशीलता हुन्छ। एउटा परिवार माहिला सहनशील भएकै कारण सुसज्जित भएको हुन्छ।

हामी सबैले देखेकै हौँ- सबै रक्स्याहरुले रक्सी पिएपछी आफ्नो मातृभाषा बिर्सन्छन्। रक्सीले लर्बरिएको एउटा पुरुषलाई सडकमा भेट्नु भो भने तपाईसँग अंग्रेजीमा कुरा गर्न थाल्छ। रक्सी र अंग्रेजी भाषा कसरी एक-अर्कासँग अन्योन्याश्रीत भो! गज्जबको कुरो चाहिं यसमै छ।

अफिसबाट पिकनिक गएका अतिनै मिल्ने साथीहरू जब रक्सी पिउछन् अनि अंग्रेजीमा गफ गर्न थाल्छन्। अँग्रेजी सराब र अँग्रेजी भाषामा के छ त्यस्तो जादु, जो पिएपछि र बोलेपसी इज्जत आएको महसुस गर्छन् मनुष्य ?

पश्चिमी संस्कृतिले बेच्न भ्याएको दुइटा चिज हुन्- एउटा भाषा अर्को रक्सी। अँग्रेजी भाषाकै कारण कतिपय देशका स्थानीय भाषानै लोप हुने अवस्थामा पुगिसकेको तथ्य आइसकेको छ। २०२२ पछि संसारका कतिपय स्थानीय भाषाहरु हराउने छ भनेर आकलन गरिएको छ।

बाइबलको व्यापक प्रचारप्रसार गर्न गरिब देशको गाउँ-गाउँमा अँग्रेजहरुले आफ्ना दूतहरु छोडेका छन्। अँग्रेजी भाषाले संसारको भाषामाथी आक्रमण गरिरहेको छ। नेपालबाट बर्सेनि आइएलटिएस र टाेफलका नाउँमा अरबौ रुपैयाँ बिदेशीरहेको छ, त्यसैगरी संसारका सबै भाषालाई भत्काएर आफ्नो भाषालाई अमर बनाउने जेहादमा लागेका छन् पश्चिमी देशहरू।

पशुपतिको देशमा पनि यही गति छ। अहिलेको पुस्ताले नेपाली नबुझ्ने भइसकेको छ। रक्सी र अँग्रेजी यी दुई धेरै चल्छन् र आइएनजिओ र एनजिओको माध्यमबाट पनि रक्सी र अँग्रेजी भाषालाई मलजल पुगेको छ।

संस्कृति बाँच्यो भने मात्रै देश बाँच्ने हो। मानिस मात्रै बाँचेर देश बाँच्ने होइन। किन भुटान भुटान जस्तै छ ? त्यो स्थानीय संस्कृति बाँचेर र त हो। किन नेपाल नेपाल जस्तै छ ? किनकि हाम्रो नेपालीपन जिवित रहेर हो। किन तिब्बत तिब्बत जस्तै छ ? तिब्बती संस्कृति हेर्न बिश्वका मानिस कुनै न कुनै बेला त्यहाँ पुग्छन्। धनी संस्कृतिले गरिब संस्कृतिलाई लोप बनाइदिन्छ।

जसरी अँग्रेजहरुको भाषा अँग्रेजीले आज बिश्वका भाषालाई निरीह बनाइरहेको छ। अँग्रेजको अगाडि हामीले अँग्रेजीमै कुरा गर्नुपर्ने बाध्यता छ।

अँग्रेजी भाषाकै कारण बिश्वका कतिपय भाषाहरु लोपोन्मुख अवस्थामा आइसकेका छन्। कनिकुथी भएनि अँग्रेजी नै बोल्नुपर्छ भन्ने भ्रमबाट कहिले मुक्त हुने हामी ? अँग्रेजी भाषाको व्यापक बिज्ञापन त रक्सीले पनि गरिरहेको छ। जब रक्सी पिइन्छ कुनै नेपालीले आयोजना गरेको पार्टीमा, त्यहाँ रक्सीले अँग्रेजीलाई जगाउँछ। अँग्रेजी बोल्न र सिक्नकै लागि पनि रक्सी सहायक बनिदिएको छ।

पुरुषको तुलनामा प्रायः स्त्रीहरुले रक्सी पिउदैनन्। मादक पदार्थमा लठ्ठिएर मनलाग्दी सडकमा सडकछाप भएर हिड्ने स्त्री होइनन्, पुरुष हुन्।नेपालमा मोडल, गायन क्षेत्रमा जमेर लागेका स्त्रीहरु पनि रक्सीको कारण त्यति बदनाम भएका छैनन्। स्त्री जातिलाई च्युत गर्ने, बदनाम गर्ने, खेलाउने ध्वस्त पार्ने प्रायः पुरुष नै हुन् तर कतिपय अवस्थामा स्त्री स्वयं पनि आफ्नो पतनको जिम्मेवार आफै हुन्छे।

इतिहासदेखि बर्तमानसम्म पुरुष नै महिलाको सुरक्षा कवच पनि भयो र फेरि तिनै पुरुषले स्त्रीलाई ध्वस्त पनि पार्दै गयो।

अब फेरि माथि उल्लेख गरिएकै विषयमा प्रवेश गरौँ- मादक पदार्थ अर्थात रक्सीको बिज्ञापनमा महिलाको प्रयोग किन हुन्छ ? यो बारेमा आजसम्म कसैले बहस गरेको छैन। रक्सी पुरुषले पिउने अनि रक्सीको बोतलमा अर्धनग्न भएर स्त्री उभिदिनु पर्ने किन ? यो उपभोक्तावादी पितृसत्तामा स्त्रीलिंगलाई नसालु अनि बैशालु यौनसुखको केन्द्रीय पात्रका रूपमा उभ्याइएको छ।

रक्सी पुरुषले पिउँछ अनि रक्सीको प्रचारमा स्त्रीलाई प्रयोग गर्नु कति सान्दर्भिक छ होला ! उत्पादनको प्रचारमा स्त्री शरीरको बिज्ञापन प्राचीन परम्परा नै हो। स्त्रीलाई यौनसँग, उन्मादसँग, पुरुषका आनन्द र सुखभोगका दासीका रूपमा इतिहासले उभ्यायो। चाहे पूर्वीय सभ्यता महाभारतकालदेखि होस् वा युरोपेली इतिहास क्लियोपेट्राकालिनको होस्। महान अलेक्जेन्डर वा सिकन्दरहरुलाई रक्सी र स्त्रीका पारखीका रूपमा इतिहासले चिनाएका कारण नै ‘सुरा र सुन्दरी’को चर्चा अहिलेसम्म पनि चलिरहेकै छ र चल्ने क्रमको अन्त हुने छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट