सुत्र कथा : प्रेम, जात र बिचरो शिक्षक-Sutra News

सुत्र कथा : प्रेम, जात र बिचरो शिक्षक

छोरीको चरित्र च्यातिएकोमा कुनै पिर छैन तर आफ्नो जातको केटो मिलेकोमा उनीहरू खुसी छन् रे... वा रे वा हाम्रो समाज !

शनिबार, २० बैशाख २०८२

शनिबार, २० बैशाख २०८२

ब्याचलर गरिसके पछि उच्च शिक्षा हासिल गर्न मलाई आमाले आफै कमाएर पढ् बाबु भन्नू भो। सोचे, आमाको कुरा पनि ठिकै हो। पढ्नेहरू बेरोजगार भएर बसेको देखेको थिए । जति पढ्ने भए पनि विद्धानलाई भन्दा जागिरे भयकालाई केटी दिन खोज्ने हाम्रो समाज छ।



“पढेर मात्र हुन्न छोरा काम खोज”

सुतेको बेलामा पनि घरी घरी आमाको कुरा सम्झिन्छु अनि निन्द्रा पर्दैनथ्यो। गोरखा स्युरिनीटारमा एउटा अस्थायी शिक्षकको दरबन्दी खाली थियो । बुझेको मेरै विषयको रहेछ। संचालक समितिको अध्यक्ष लाई भेटे। सबैको सहमति भयो पढाउन थाले।

स्कुल नजिकै कोठा मिल्यो। पकाउने भाँडाकुँडा घरबाट लिएर गए। अंग्रेजीको टिचर सबैले माया गर्न थाले। सबैले ” राजन सर ” भन्थे। रमाइलो लाग्यो। केही दिनमै घुलमिल भए सबैसँग । बिद्यार्थीहरुको पनि प्यारो भए । अभिवावकहरु पनि ढुक्क भए ।घरमा अलि गरिब नै थिए म। कमाएर मात्रै उच्च शिक्षा गर्ने भनेर बसेको थिए। भाग्यबश जागिरे भइयो। वातावरण रमाइलो थियो।तल त्रिशूली नदी अनि माथि गाउँ र जंगल।

तलब बुझ्ने दिन आयो। उही परिचित एकाउन्टेन्ट सरिना थिइन। हामी हेराहेर देखादेख त गर्थ्यौ तर धेरै बोलेका भने थिएनौ। परिचय भयो। उनको र मेरो गाउँ एकै रहेछ। उनी मामाघर बसेर पढिछन्। सानैमा मलाई देखेको अरे ! । अचम्म लाग्यो। उनले धेरै ख्याल राखेकी रहिछिन मेरो।

अर्को महिनाको तलब बुझ्दा तीन हजार बढी पाए।

” मेरो तलब अघिल्लो महिनाको भन्दा बढी छ नि सरिना”

सरिनाले मीठो हाँसो हाँसिन तर बोलिनन् ।

त्यो हाँसोमा अलिकति स्नेह थियो। अलिकति कर्तव्य बोध पनि थियो। अलिकति दया अनि अलिकति उदारता पनि । तर ! धेरै माया छल्केको थियो ।

एवम् क्रमले हरेक महिना तीन देखि पाँच हजार बढी तलब मेरो भागमा पर्न थाल्यो। मलाई अलिकति डर लाग्न थाल्यो।उनले “तिम्लाइ यो कारणले बढी तलब दिएको हो” भनेर प्रस्ट नभने सम्म मेरो मन भित्र सन्त्रास बाचिरहेको थियो।

“मेरो हातमा यही छ मैले गर्न सक्ने सहयोग गरेको छु मिलाएर गरेको छु राजन सर ! हजुरले कुनै चिन्ता लिनुपर्दैन। भोलिबाट दश क्लासका विद्यार्थीलाई एउटा अतिरिक्त क्लास लिइदिनुहोस् बाकी सब म मिलाउँछु”

सरिनाको यो म माथिको उदारता भनेर सम्झिए।

भोलिपल्टबाट अतिरिक्त पिरेड लिन थाले।उनी पनि क्लास नसकुन्जेल मलाई कुरेर बस्थिन।म क्लास सकेर सिधै एकाउन्ट अफिस पस्थे।खाजा सँगै सँगै खान थाल्यौ अब हामीले

त्यही क्रम बढ्दै गयो क्रमशः । धेरै नजिक पो हुन पुगिसकेछौ हामी । यति नजिक हुनलाई उनले आफ्नो तर्फबाट राम्रो कर्तव्य निभाएकी थिइन।

शायद यही थियो प्रेम। प्रेमसँग प्रेम मात्रै नपलाउदोरहेछ । त्यहाँ त त्याग, समय, बलिदान , सहयोग ,कर्तव्य , खुसी , उदारता ,रिस्क, र समर्पित भावना पनि तिरोहित हुदोरहेछ । बिरुवा उम्रँदा जसै पात र रक्षाका लागि उसले अतिरिक्त काँडा र लहरा बोकेको हुन्छ।

खोइ किन किन रमाइलो अनुभूति हुँदै गयो। स्कुल पछि करिब दुई घण्टा हामी सँगै बस्थ्यौ।उच्च शिक्षाको तयारीका लागी प्लान बनाउन थाल्यौ। सरिना पनि ब्याचलर सकेकी र म पनि ब्याचलर सकेर उच्च शिक्षा अध्ययनका लागि खर्चको जोहो गर्न केही समय काम गर्ने सोचमा रहेछौ र त्यही कारणले भेट भएको होला हाम्रो ।

वर्ष बित्यो। हामी बिचको प्रेम झाँगियो। हाम्रो माया हल्लाको विषय नबनोस् भनेर चुपचाप थियौ। उच्च शिक्षा प्राप्ति पछि बिहे गर्ने निर्णय गरेका थियौ। त्यो बिचमा धेरै मेहनत पनि गरेका थियौ। चौध महिना पछि हामी दुवै त्रिभुवन विश्वविद्यालय उच्च शिक्षाका लागि प्रवेश गर्यौ। मैले अर्थशास्त्र लिए। सरिनाले अङ्ग्रेजी रोजिन। ट्याङला फाटमा उनले कोठा लिइन।मैले पागामा लिए।

यसरी अध्ययन अगाडि बढीरह्यो।

उताबाट कमाएर ल्याएको पैसा सकिँदै गए। उनलाई त घरको सहयोग थियो। दाजुभाइ थिएनन्। उनी जेठी छोरी । अरू दुई बैनी सानै थिए गाउँमै पढ्दै थिए।

” दुई जना दुई तिर दुइटा घर पेटी लाई बहाल किन तिर्ने राजन सर ? कि अब हामी सँगै बस्ने एउटाको भाडा जोगिए पनि हाम्लाइ खर्च पुग्छ नि” । सोचे उन्को भनाइ पनि ठिक थियो।

बिहे पूर्व नै हामी अब सँगै बस्न थाल्यौँ । “लिभ इन रिलेशनसिपमा हाम्रो बसाई लम्बिँदै गयो। धेरै मेहनत गर्यौ। हिन्दु परम्परा अनुसार सिन्दूर मात्रै नहालेको हो मैले सरिनालाई अरू केही बाकी थिएनन्।कोठामै हातले गरिने घरेलु काम गरेर महिनाको तीस चालीस हजार कमाउँथ्यौ हामी ।

धेरै माया गर्थे म सरिनालाई। पढ्नमा पनि हामी अब्बल थियौ। उनको अङ्ग्रेजी राम्रो थियो। हामी प्लान बनाउँथ्यौ।यताको अध्ययन सकेर अस्ट्रेलिया जाने भनेर। सरिनाको घर र मेरो घर गाउँमा सँगै जस्तो थियो।

हामी यहाँ सँगै बसेको गाउँमा हल्ला भएछ। पुरानो रुढीवादी संस्कारमा हुर्किएको बाहुनको छोरो थिए म। उनी नेवार संस्कारकी थिइन। म भन्दा अझै उनको परिवार कट्टर थियो। हल्ला भैसकेपछी अब हामीले बिहे गर्नी योजना बनायौ।यही बिचमा काम गरेर अलिक पैसा पनि जम्मा गरिसकेका थियौ।हाम्रा दुखका दिनहरू सकिन लागेका थिए।

उनी गर्भवती भएकी थिइन। महिनावारी रोकिएको एक महिना भएको थियो। टेलिफोनमा उनको बाबासँग झगडा भएछ। सरिना धेरै रोइन। भोलिपल्ट हामीले निजी क्लिनिकमा गएर त्यो पहिलो प्यारलाई गिरायौ। मैले नफाल्ने भनेर अनुनय विनय गरे रोए तर उनले मानिन।

” चिन्ता नगर सरि म सबै कुराको जिम्मा लिन्छु।हामी यति धेरै पर पुगिसक्यौ कि अब फर्किनु भनेको असम्भव छ।आधा बाटो सँगै हिडिसक्यौं अब आधा बाटो जस्तोसुकै विपत्ति आए पनि पार गरुँला । म मेरी आमालाई सम्झाउला तिमी आफ्नो बाबा आमालाई सम्झाऊ” मैले सरिनालाई यही कुरा सम्झाए।

पारिवारिक विवाद चर्किँदै गयो ।

नेवार संस्कृति र बाहुन संस्कार मिल्दैन। म मेरी छोरीलाई बाहुन कल्चरमा दिनै सक्तिन भनेर सरिका पिताले निर्णय सुनाएछन्। सरि अब धर्म संकटमा पर्न थालिन। धेरै समयको अथक प्रयत्न पछि मैले भने आमालाई बुझाउन सके। उहाँको एउटा सर्त मैले स्वीकार गर्दिन पर्ने भयो कि सरिले नाक छेड्ने र फुली लगाएर मेरो घरमा भित्रिने। यो कुरा मैले सरिलाई सुनाए।

खोइ कुन्नि के भयो ? मैले नाक छेड्ने र फुली लगाउने कुरा गरेपछि सरि धेरै रिसाइन।

” तिम्रो जातमा फुली महत्त्वपूर्ण छ भने त्यही फुलीसँग बिहे गर । यही हो तिम्रो म प्रतिको प्रेम? तिमिलाई आफ्नो जात प्रति यस्तो घमण्ड हुन्छ भने म पनि आफ्नो जातलाई सम्मान गर्छु”

पहिलो पटक उनको मुखबाट बिझाउने शब्दहरू निस्केको थियो। म अलमल परे। धेरै कोसिस गरेर आमालाई मनाएको थिए। अब के काम लाग्यो र?

यतिका वर्षदेखि हाम्रा दुई मन एक थिए, दुई मुटुका एकै धमनी थिए। दुई आँखा एक थिए । हामीले हेर्ने दृश्य एकै थिए। साथ र सहयोगको नदी कहिले धमिलिएको थिएन। मैले कहिले पनि चर्को आवाजले बोलाइन उनलाई। हावाले फूललाई छुँदा जसै कोमल स्पर्श मात्रै गर्छ र किनारा लाग्छ । हामीसँग प्रेम थियो । हामीलाई यहाँसम्म अगाडि ल्याउने। अभावमा पनि मैले कहिले उनको साथ छोडेर विचलित भइन। घरपरिवारको कुरालाई उनले प्राथमिकता दिइन। म बिस्तारै ओझेल हुँदै गए।अन्तिम पल्टसम्म पनि म हाम्रो सम्बन्धलाई मजबुत बनाउन लागे तर उनी जातको जाँतोमा पिँधिन थालिन।

डिग्रीको पढाई सकिनु । हामी बिच जातका निहुँमा झगडा हुनु। पारिवारिक असहमति चुलिँदै जानुले हाम्रा ओछ्यान अलग भैसकेको थियो।एउटा कोठामै बसे पनी मनको दुरीले पराइ जस्तो हुन थाल्यौ हामी ।

यी सबै कारणले म दुखी थिए।

अतिरिक्त समय उनी फोन र च्याटमा व्यस्त हुन थालेकी थिइन।तनावग्रस्त भएर पनि थेसिस सकाउन थालेको थिए मैले। हामी बिच बोलचाल कम हुन थाले। फेसबुकको माध्यमबाट यही बिचमा उनले आफ्नै जातको साथी बनाएकी रहिछन्। विजय श्रेष्ठ । कोठामै बसेपनी कुराकानी गर्न हिचकिचाउन थालिन उनी। मलाई थाहा हुँदै गयो अब उनी अतिरिक्त प्रेममा परिसकिन।

आफूलाई सम्हालेर बाच्न मलाई गाह्रो हुन थाल्यो। मसँग निर्दिष्ट बिचार र योजनाहरू थिए। सोच्न थाले ती योजनाहरू अब अधुरो रहनेछन्।
हस्तकला बेचेका पैसाहरू उठाउनुपर्ने हुन्थ्यो। कोठामै बसिरहेकी हुन्थिन उनी। मोबाइलमै सधैँ व्यस्त देख्थे। बजारबाट पैसा उठाएर आउँदा थाकेको हुन्थे तर मेरो लागि खाना हुन्नथ्यो । थाके पनि खाना आफै पकाउँथे।

एक दिन घरबाट आमा बिमार हुनुभएको फोन आयो। घर गए।बिचमा फोन गर्दा पनि उनले फोन रिसिभ गर्दैनथिन। म चिन्तामा रहन्थे। उता घरमा हाम्रा परिवार बिच पनि झगडा भैसकेको रहेछ। सरिका पिताले पनि मलाई गाली गर्नु भो। हामी विगत दुई वर्ष देखि सँगै बस्दापनी हामीलाई जातको कारणले अलग्याउने निकृष्ट खेलमा सरिको सिङ्गै परिवार लागेको थाहा पाए।

म भित्र अझै मेरा सपनाहरू जीवितै थिए। मैले हरेस खाएको थिइन।

यही बिचमा मेरो एक जना चिनेको दिदीले फोन गर्नुभयो कि सरि कीर्तिपुर छोडेर उहाँसँग बस्न गइन रे। विजय श्रेष्ठसँग उनको गहिरो माया पिरती बसिसकेको रहेछ फेसबुकको माध्यमबाट।

म बाहुन थिए कुजात भए उनी र उनको परिवारका आँखामा। अब आफ्नै जातको केटा पाइछिन र उसैसँग छिटो बिहे छिन्ने कुरो छ भनेर थाहा पाए। सोचे म किन नेवार भएर जन्मिन छु ? नेवार भएको भए कमसेकम सरिलाइ त पाउँथे नि! असाध्यै दुख्न थाल्यो मन।

जता गए पनि नरमाइलो लाग्थ्यो। २०७२ बैशाख १२ गते विनाशकारी भइचालो गयो। दिनभर मन आत्तियो। सयौँ पटक फोन गरे । फोन लाग्दैनथ्यो र लागेपनी बिजी सुनिन्थ्यो। ६ घण्टा पछि बल्ल घण्टी गयो । फोन उठ्यो तर फोन त्यही दिदीले उठाउनु भयो।सबै हालचाल सोधपुछ गरे। उनीहरू नजिकैको आर्मी क्याम्पमा बस्न गएछन। सरि मसँग बोलिनन्। त्यत्रो महाभूकम्प गयो मैले उन्लाइ कति धेरै मिस गरे तर उनले मलाई सम्झेर फोन गर्नु त परैजावोस फोनमा बोल्न पनि चाहिनन्।

वा…रे….वा … प्रेम ! आफैलाई घृणा गर्न थाले मैले। खोइ कहाँ छ माया। त्यो माया रहेनछ वासना रहेछ। धिक्कारे मैले मेरो शाश्वत मायालाई।

जात त एउटा निहुँ मात्रै पो रहेछ। कसैलाई धोका दिनुछ भने जातको निहुँ झिके हुने रहेछ यहाँ । यसरी मलाई खेलाउनु थियो भने किन त्यत्रो समय एकै ओछ्यानमा सुत्नु थियो? के पुरुषको कुनै इज्जत हुदैन र? इज्जत जति सबै स्त्रीका मात्रै हुन्छन र? अर्को धनी र रुपौलो केटो पायो भने पुरानोलाई बिर्सिदिन मिल्छ र?के प्रेमको कुनै मूल्य हुँदैन ?

खै कसरी भनूँ म,यहाँ स्त्री कमजोर छे ?। खै कसरी भनूँ म यहाँ स्त्री कोमल छे ?। खै कसरी कल्पना गरूँ म यहाँ स्त्री लजालु छे?। फेरि कसरी भनूँ म स्त्री यहाँ बेमान छे ?। घात गर्न सजिलो होला उसलाई तर त्यो घातक निर्णयले उसको आगतलाई नपोलोस्। म त यसै पनि दुखी उसै पनि दुखी केही छैन । जोडिएको सम्बन्ध तोडफोड गर्नेलाई पोल्छ । मत सहने परे। सहिरहेछु।

थाहा पाए उनको फेसबुके प्रेमी विदेशबाट आएको छरे ।

उनका बाबु आमा पनि आफ्नै जातको ज्वाइँ पाउनी भएर खुसी छनरे।छोरीको चरित्र च्यातिएकोमा कुनै पिर छैन तर आफ्नो जातको केटो मिलेकोमा उनीहरू खुसी छनरे ! वा रे हाम्रो समाज !। सोचे चरित्र ठुलो थियो कि जात ठुलो थियो? अनि आफ्नै जातको केटो भनेको के हो? दुई भिन्न संस्कृतिका परिवार मिले पो भाइचारा अभिवृद्धि होला। यसरी जात र भातमा अल्झिएर कहिले उन्नति गर्ने हो मान्छेले !

“नाक छेडेर फुली लगाउनुपर्छ भने म तिमी सँग बिहे गर्दिन”

यही शब्दले घरीघरी चिथोर्छ मलाई आज पनि। मैले मुटु दिएको थिए उस्लाइ तर बदलामा मेरो सानो आग्रहलाई पनि लत्याइन उनले। के त्यहाँ माया थियो त? सँगै सुत्नु माया हो? सँगै हिँड्नु माया हो? सँगै बोल्नु माया हो? खोइ म आजसम्म कन्फ्युजनमा छु माया के हो? एक शरीरको एउटा अङ्ग कुहिएपछि काटेर फ्याँकिन्छ र उपचार गरिन्छ। कुहिएको चिजलाई फ्याँक्नु भन्दा अर्को विकल्प थिएन। उसको लागि म कुहिएको थिए काटेर फालिन । शायद अब उनी अजर अमर होलिन् ।

विजय श्रेष्ठसँग धूमधामले बिहे गरिन रे !
आशीर्वाद दिएको छु मैले । फेरि अर्को सँग उनले अतिरिक्त बिहे गर्न नपरोस्।

समय धेरै व्यतीत भैसकेको छ। थाहा छैन उनी कुन हालतमा छिन। म अद्यापि अविवाहित नै छु। बिहे ठुलो कुरो होइन न ठुलो हो जात। प्रेम नै बिटुलो हुने गरेर किन मानिसहरू प्रेमको अभिनय गर्छन्? म आजको दिनसम्म भ्रममा छु ।

( कथासँग मेल खाने घटना र पात्र काल्पनिक हुन। कथामा दुई संस्कृतिको मिलन हुनुपर्ने कुरोमा जोड दिइएको छ। जात केवल मान्छेले बनाएको कुरा हो यो अप्राकृतिक छ)

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट