रुकुम नरसंहारमा अदालतले जातीय विभेदका आरोपीलाई सफाइ दिएको भन्दै काठमाडौंमा विरोध-Sutra News

रुकुम नरसंहारमा अदालतले जातीय विभेदका आरोपीलाई सफाइ दिएको भन्दै काठमाडौंमा विरोध

शुक्रबार, १९ बैशाख २०८२

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौं । सुर्खेत उच्च अदालतले रुकुम नरसंहार घटनामा दिएको फैसलाविरुद्ध विरोध प्रदर्शन भएको छ।



गत मंगलबार उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासले जातीय छुवाछुतको मुद्दामा जिल्ला अदालत रुकुमपश्चिमले सुनाएको सजाय बदर गर्दै सफाइ दिएको थियो। उक्त फैसलाको विरोधमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा दलित अधिकारकर्मीहरूले विरोध गरेका हुन्।

प्रदर्शनका क्रममा दलित अभियन्ता खगेन्द्र सुनारले अदालतको फैसलामाथि असन्तुष्टि पोखेका थिए। उनले अदालतको फैसला ‘जातीय नरसंहार भड्काउने’ खालको रहेको भन्दै न्यायाधीशहरूको राजीनामा समेत मागेका हुन्।

उनले न्यायपालिकामाथि जनविश्वास गुम्ने काम गरेको भन्दै दोषीलाई कारबाही नगरे आन्दोलन थप चर्किने चेतावनीसमेत दिए।

२०७७ जेठ १० गते जाजरकोट र रुकुम पश्चिमको सिमानामा रहेको सोती गाउँमा नवराज विकसहित ६ जना युवाको हत्या गरिएको थियो।

नवराज भेरी नगरपालिका-४ की एक युवतीसँग विवाहको प्रस्ताव लिएर साथीसँग सोती गाउँ गएका थिए। तर, जातीय कारण देखाएर स्थानीयहरूले आक्रमण गरे। त्यस क्रममा नवराजसहित गणेश बुढामगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीको हत्या भयो।

उनीहरूको शव तीन दिनसम्म फरक-फरक स्थानमा भेरी नदीमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट